१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सडन डेथबाट थ्री स्टार सेमिफाइनलमा

बलका लागि संघर्ष गर्दै उर्गेन एकेडेमी र थ्री स्टारका खेलाडी । तस्बिरः नागरिक

फुुुनसोलिङ, भुटान – रुस्लान थ्री स्टार क्लब भुटानको उर्गेन एकेडेमी फुटबल क्लबलाई सडन डेथमा ५–४ ले निराश पार्देै फुुुनसोलिङमा जारी जिग्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को सेमिफाइलमा प्रवेश गरेको छ।

फुुुनसोलिङ स्पोटर्स एकेडेमीको रंगशालामा शनिबार थ्री स्टारलाई अन्तिम चारमा स्थान पक्का गर्न गोलकिपर एलन न्यौपानेले उर्गेनका दुई पेनाल्टी  जोगाए। निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको नतिजाका लागि सोझै पेनाल्टी सुटआउटको सहारा लिइएको थियो।

निरन्तर वर्षासँगै रंगशालामा खराब प्रकाशका कारण खेल अतिरिक्त समय नखेलाई पेनाल्टी सुटआउट गराइएको थियो। पेनाल्टी सुटआउटमा समेत ४–४ को बराबरी भएपछि खेल सडनडेथमा धकेलियो। जसमा थ्री स्टार भाग्यमानी बन्यो। पेनाल्टी सुटआउटमा थ्री स्टारका रञ्जित धिमाल, बुद्ध लिम्बु, सुनील बल र रूपेश केसीले गोल गर्दा दिनेश राजवंशीको प्रहार उर्गेनका गोलकिपर ग्लित्सेन जोङ्पोले विफल पारे।

त्यस्तै उर्गेनका किन्ले तेन्जिन, फुर्वा दोर्जी, यासी दोर्जी र जितेसेन जाङ्पो भने गोल गर्न सफल भए। थिन्ले दोर्जीको प्रहार थ्री स्टारका गोलकिपर एलनले बचाए। सडन डेथमा भने थ्री स्टारका अनन्त तामाङले बललाई जाली चुमाउँदा उर्गेनका जिङ्ले ग्याल्स्टेनको प्रहार एलनले रोक्दै आफ्नो टोलीलाई सेमिफाइनलको यात्रा तय गराए।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले उर्गेनले उत्कृष्ट खेलको नमुना प्रस्तुत गरेकाले जितका लागि संघर्ष गर्नुपरेको बताए। ‘हामी विपक्षी टोलीबारे अनविज्ञ थियौं,’ केसीले भने, ‘हामीले सोचेभन्दा विपक्षीले उत्कृष्ट खेल्यो। यसले भुटानी टोलीको खेलस्तर बढेको देखाउँछ। युवा टोली भए पनि उनीहरूले तीव्र गतिको खेल खेले।’

एलनको प्रशंसा गर्दै केसीले थपे ‘पेनाल्टी सुटआउटमा जित्नेमा हामी विश्वस्त थियौं। किनभने हामीलाई गोलकिपर एलनमाथि पूरा विश्वास थियो।’ केसीले खेलको सुरुआतबाटै परेको वर्षाका कारण खेल्न कठिनाइ भएको बताए। ‘सेमिफाइनलका लागि हामीसँग तीन दिन आरामको समय छ। यसबीचमा हामीसँग सेमिफाइनलमा भेट हुने विपक्षीको खेल हेर्दै रणनीति तयार पार्न सहयोग पुग्नेछ,’  केसीले थपे।

सिलिगुढी र कालिङपोङ एफसीबीच सोमबार हुने अन्तिम क्वार्टरफाइनको विजेतासँग थ्री स्टारले बुधबार हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। यसअघि निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए। पहिलो हाफमा दुवै टोलीले विपक्षी पोस्टमा सम्झनलायक आक्रमण बुन्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो।
५५औं मिनेटमा यासी दोर्जीले गोल गर्दै उर्गेनलाई खेलमा अघि बढाए। तर, त्यसको १० मिनेटपछि नै मिकछेनले गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काए। भुटान, नेपाल र भारतका टोली गरी कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा थ्री स्टार र त्रिभुवन आर्मी क्लबले सोझै क्वार्टरफाइलमा प्रवेश पाएका थिए।

यसअघि शुक्रबारको खेलमा आर्मीले थिम्पु फुटबल एफसीमाथि ६–० को सहज जित हात पार्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ। भुटानकै पुरानो प्रतियोगितामध्ये एक जिङमे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप २००६ पछि पहिलो पटक आयोजना भएको हो।

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App