१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

तिलोत्तमा गोल्डकप : झापा–११ को विजयी सुरुआत

रुपन्देही -  विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० ले स्तब्ध बनाउँदै शनिबार झापा ११ ले २१औं संस्करणको तिलोत्तमा गोल्डकपमा विजयी सुरुआत गरेको छ। जितका साथ झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा झापाका लागि कप्तान कर्ण लिम्बुले खेलको आठौं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। एक गोल खाएपछि आक्रामक बनेको एपिएफले पहिलो हाफमा गोल गर्न सकेन। खेलको ५०औं मिनेटमा झापाका बुद्धबल तामाङले १ गोल थपे। एपिएफका गोलकिपर अमृत चौधरीले आफ्नो पोजिसन गुमाउँदा त्यसको फाइदा झापाले लियो। एपिएफका लागि खेलाडी रमेश डंगोल, सन्तोष श्रेष्ठ, बुद्धिमान राई र आशिष लामाले प्रहार गरेका बल असफल भए।

खेलको उत्तरार्धमा झापाका आशिष चापागार्इं र एपिएफका सन्तोष कटवालले पहेंलो कार्ड पाए। सशक्त मानिएको एपिएफ तिलोत्तमा गोल्डकपमा भने झापासामु कमजोर देखियो। एपिएफका लागि यो वर्ष त्यति सुखद देखिएको छैन। राष्ट्रिय लिगमा पाँचाैं र मनकामना केवलकार कपमा उपविजेता बनेको एपिएफले यो गोल्डकपमा भने जित निकाल्ने सोच बनाएको थियो।  शनिबारको खेलमा झापाका कप्तान कर्ण लिम्बु म्यान अफ दी म्याच भए। उनले  नगद १० हजार रुपियाँ प्राप्त गरे।

जितपछि झापाका प्रशिक्षक गोपाल राईले यस पटक राम्रो तयारी गरेर खेलाडीलाई मैदान उतारेको बताए।  ‘विदेशी खेलाडी काजिम बुसारी र खमिर गिलसानसहित झापा गोल्डकपमा भिड्न आएको छ,’ प्रशिक्षक राईले भने, ‘यस पटक उपाधि हात पार्ने तयारीका साथ प्रतिस्पर्धामा उत्रेका छौं।’ आइतबार सुनसरी ११ र लाली रूपन्देही ११ बीच खेल हुने महासचिव लोक पुनले बताए।

प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिससहित झापा ११, सुनसरी ११, रूपन्देही ११, च्यासल ११, संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, ब्रदर्स युनाइटेड क्लब भारत, डाउफिन्स (क्यामरुन) गरी १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो। विसं २०३१ सालमा तत्कालीन बुटवल नगर पञ्चायतले स्थापना गरी प्रतियोगिता २०३३ सालदेखि शुभारम्भ भएको थियो।

प्रतियोगितामा विजेता समूहले ८ लाख ८० हजार नगदसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खलाडीलाई एक थान मोटरसाइकल तथा स्कुटरबाट पुरस्कृत गरिनेछ । यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट रक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार नगदसहित सम्मान गरिने छ। फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको शनिबार बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७५ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App