१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सडन डेथबाट डाउफिन्स फाइनलमा

धरान - सडन थेडमा नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै क्यामरुनको डाउफिन्स एफसी २१औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ। धरान–१६ स्थित रंगशालामा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा चार पटकको विजेता पुलिसलाई सडन डेथमा निरास बनाउँदै डाउफिन्स फाइनलमा पुगेको हो। निर्धारित समयमा खेल गोलरहित बराबरीमै सकिएपछि खेल सीधै टाइब्रेकरमा गयो। टाइब्रेकरमा पनि दुवै टिमबाट बराबरी ५–५ गोल भयो। त्यसपछि, सडन डेथमा पाहुना टोली डाउफिन्सले बाजी मार्दै पहिलो सहभागितामै बुढासुब्बा गोल्डकपको फाइनल पुग्न सफल भयो।

डाउफिन्स एक साताभित्र दोस्रोपटक उपाधि भिडन्त गर्न लागेको हो। डाउफिन्सले यसअघि मनकामना केबलकार पोखरा कपको फाइनलमा एपिएफलाई हराउँदै पहिलो उपाधि जितेको थियो। डाउफिन्सले शनिबार नै हुने फाइनलमा आयोजक धरान फुटबल क्लबको सामाना गर्नेछ। धरानले गत बिहीबार संकटा क्लबलाई टाइब्रेकरमा हराउँदै १२ वर्षपछि फाइनलमा स्थान बनाएको छ।

निर्धारित समयमा दुवै टिमबाट निर्णायक गोल हुन सकेन। समय अभावले सीधै टाइब्रेकर लिए पनि बराबर नै भयो। टाइब्रेकरमा डाउफिन्सका सिलो मार्टिन्स, पेटेङ्गा, विइक विइक, एलेविम र यनिक ओवोनाले गोल गरे भने पुलिसबाट पनि अजित भण्डारी, देवेन्द्र तामाङ, भरत साह, तीर्थ रानामगर र हरि कठायत पनि गोल गर्न चुकेनन्। सडन डेथमा डाफिन्सका जो एंगोलाले निर्णायक गोल गर्दा पुलिसका विक्रम धिमालको प्रहार गोलकिपर प्रिसो एनजंगाले रोकेपछि डाउफिन्स फाइनलमा पुग्यो।

त्यसअघि, सडन डेथमा पुलिसका नीरकुमार राई र डाउफिन्सका गोलकिपर प्रिसोले गोल गरेका थिए। सडन डेथमा पुलिसको प्रहार रोक्दै टिमलाई फाइनल पुर्याएका डाउफिन्सका गोलकिपर प्रिसो म्यान अफ दि म्याच घोषित भए। उनले नगद १५ हजार र ट्रफी हात पारे। डाफिन्सका ओरेल इनेमले पुलिसले धेरै राम्रो खेलेको प्रतिक्रिया दिँदै आफ्नो टिम फाइनल पुगेकोमा खुसी व्यक्त गरे। शनिबार हुने फाइनलका लागि आराम गर्न नपाए पनि प्रदर्शनमा कुनै कमी नराख्ने उनले बताए।

‘पुलिसको खेल उच्चस्तरको थियो,’ इनेमले भने,‘ तर हामीले पनि राम्रै खेल्दै जित निकाल्यौं। पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले राम्रो खेलेको बताउँदै पेनाल्टीमा सुखद नतिजा नआउँनु टिमको दुर्भाग्य भएको उल्लेख गरे। ‘फिजिकल्ली टफ थियो,’ प्रशिक्षक अनन्तराजले भने,‘ तर पनि हामीले राम्रो खेल्यौ। पेनाल्टीमा भाग्यको कुरा हो। जुन राम्रो पक्षमा भएन। आज (शनिबार) फाइनलमा आयोजक धरान फुटबल क्लब र डाउफिन्स एफसीबीच उपाधि भिडन्त हुनेछ।

प्रकाशित: ४ फाल्गुन २०७५ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App