१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

७ खर्ब लगानीका १९ जलविद्युत् आयोजना आउँदै

काठमाडौं - सरकारले जनताको लगानीमा ६ खर्ब ९५ अर्ब रुपैयाँको १९ वटा आयोजना सञ्चालन गर्ने भएको छ। सरकार र जनताको संयुक्त लगानीमा सो आयोजनाको उद्घाटन बिहीबार प्रधानमन्त्री केपी ओलीले गरेका छन्। ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी’ भन्ने मूल उद्देश्यका साथ सुरु उक्त आयोजनाको सेयर आगामी चैत ७ गतेबाट खुल्ने प्रधानमन्त्री ओलीले बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले १० हजारदेखि १० लाखसम्म जनताले सेयर लगानी गर्न सक्ने बताए। सरकारले अबको ५ वर्षभित्र १९ वटा आयोजनाबाट तीन हजार चार सय ७९ मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि बढाएको हो। सरकारले यो कार्यक्रम हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीले कार्यान्वयनमा लैजाने उक्त ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रमको समुद्घाटन गर्दै ओलीले हिमालदेखि पहाड, तराईमधेससम्मका आम जनतालाई आयोजनामा लगानी गर्ने सुअवसर जुटेको बताए।

सरकारले विसं २०७५ देखि २०८५ को दशकलाई ऊर्जादशक घोषणा गरेको छ। सरकारले ३ वर्षमा तीन हजार मेगावाट, ५ वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्घाटन कार्यक्रममा ओलीले विकास निर्माणको बलियो जग निर्माण गर्दै गरेको सरकारले यस्ता आयोजनाबाट देशले समृद्धि प्राप्त गर्ने बताए। जसमा ४९ प्रतिशत जनताको लगानी रहने छ भने संस्थापक सेयर ५१ प्रतिशत रहने छ। ‘यो जनताको कार्यक्रम भएकोले सफल हुन्छ’, ओलीले भने, ‘देश समृद्ध बनाउन हरेक दिन एक कदम अगाडि हिँड्नुपर्छ।’ उक्त आयोजनाका लागि चार खर्ब ८७ अर्ब ६ करोड ऋण रकम आवश्यक पर्नेछ। सरकारका तर्फबाट दुई खर्ब आठ करोड लगानी रहने छ।

जनताको लगानी र रोजगार बन्ने कार्यक्रमसमेत कार्यान्वयन गरिसकेकोले अब नेपालीको सबै नेपालीको खल्तीमा पैसा हुने प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘हामीले धेरै गफ गर्यौं, अब देश निर्माणमा लागौं।’ सरकारले अघि सारेका आयोजना न्यूनतम समयमा सम्पन्न गर्ने प्रतिबद्धता गर्दै उनले थपे, ‘पानीजहाज र रेल पनि आउँछ ढुक्क हुनुस्।’

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनःकार्यक्रम स्वदेश तथा विदेशमा बसोबास गर्ने नेपालीप्रति लक्षित हुने बताए। 

 

प्रकाशित: २ फाल्गुन २०७५ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App