१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सीवाइसी अत्तरीयाको लगातार दोस्रो जित, रुपन्देही ३९ रनले पराजित

काठमाडौं – दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सीवाइसी अत्तरीयाले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। फाप्ला क्रिकेट मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा बसन्त रेग्मीको रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरीयाले दोस्रो जित निकालेको हो।

अत्तरीयाले दिएको १ सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए। २२ बलको सामना गरेका सुमितले १ चौंका र १ छक्का प्रहार गर्दै २२ रनमा नटआउट रहे।

त्यस्तै सन्दीप सुनारले २७ बलमा १५, प्रदिप ऐरी र बिक्रम शोबले समान १४–१४ तथा विनोद भण्डारीले १० रनको योगदान दिए। रुपन्देहीका ६ जना खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

रुपन्देहीलाई सस्तैमा समेट्न अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्रसिंह ऐरी र दिपेन्द्र रावतले समान २–२ तथा कमलसिंह ऐरीले १ विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सीवाइसी अत्तरीयाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो।

अत्तरीयाका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउने क्रममा सर्वाधिक ६७ रनको योगदान दिए। ५० बलको सामना गरेका दीपेन्द्रले १० चौंका र १ छक्का प्रहार गरे। त्यस्तै सुभेन्दु पाण्डे, ऋत गौतम र सन्नी पटेलले समान १२ रनको योगदान दिएपनि अन्य खेलाडीले दोहोरो रनको आँकडा छुन सकेनन्।

अत्तरीयालाई १२१ रनमा समेटन रुपन्देहीका ललित भण्डारीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएका थिए। त्यस्तै बिक्रम शोबले २ तथा बसन्त रेग्मी र पुनित मेहराले एक–एक विकेट लिए।

अत्तरीयाले पहिलो खेलमा धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको थियो। यता रुपन्देही भने लगातार तेस्रो जित निकाल्नबाट बञ्चित भएको छ। रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई २ तथा दोस्रो खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको थियो।

प्रकाशित: २ फाल्गुन २०७५ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App