१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

महानगरपालिकाले दियो १० नगरपालिकालाई एक–एक करोड

महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्य गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई चेक हस्तान्तरण गर्दै। तस्बिर सौजन्य : चन्द्रमणि भट्टराई

काठमाडौं महानगरपालिकाले नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि काठमाडौ जिल्लाका १० वटा नगरपालिकालाई जनही एक   करोड रूपैयाँ प्रदान गरेको छ।

मेयर विद्मासुन्दर शाक्यले आइतबार राष्ट्रिय सभा गृहमा भएको एक कार्यक्रमबीच नगरपालिकाका मेयरलाई चेक हस्तान्तरण गरेका हुन्। मेयर शाक्यले महानगरसँग जोडिएको नगरपालिकालाई व्यवस्थित र हराभरा बनाउनको लागि रकम सहयोग गरेको बताए। ‘उपत्यकामा धेरै सार्वजनिक स्थल रहेका छन्। तर, त्यसको उचित रेखदेख हुन सकेको छैन। त्यसैले संरक्षण र सम्वद्र्धनको लागि एक करोडका दरले रकम सहयोग गरेका हौं,’ मेयर शाक्यले भने, ‘आन्तरिक तथा बाह्य पर्यटक राम्रोसँग बस्ने ठाउँ समेत छैन। त्यसैले यो रकमबाट पार्क बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं। जसबाट प्रत्यक्षरूपमा आन्तरिक तथा बाह्य पर्यटकले लाभ उठाउनेछन्।’

उनका अनुसार अघिल्लो वर्ष पनि नगरको लागि तीन करोड बजेट विनियोजन गरिएको थियो। तर, ती बजेट नगरलाई वितरण गर्न नसक्दा महानगरले ल्याएको योजना प्रभावकारी हुन सकेको छैन। त्यसैले यस वर्ष विनियोजन गरिएको बजेटले प्रत्येक नगरमा भएका समस्या साथै वातावरण व्यवस्थित हुने उनको अनुमान छ। ‘नमुनाको लागि यो पहिलो पटक कार्यक्रम ल्याएका छौँ। अपेक्षितरूपले नगरले राम्रो काम गर्‍यो भने बजेटको माग गरी दोस्रो कार्यक्रममा यो बजेट भन्दा बढी दिनेछौँ,’ उनले भने। महानगरपालिकाले फोहोर, नदी, हरेक नगरमा सिसी क्यामेरा जडान र उपत्यकालाई धुलोमुक्त बनाउनेलगायतका योजना ल्याएको उनले बताए। 

्रनगरपालिकाले सम्झौता पत्रको परियोजनाबाहेक अन्यमा बजेट प्रयोग गर्न पाउने छैन। त्यसो गरिएको पाइएका वितरण गरेको रकम र व्याज सहित फिर्ता गर्नुपर्ने महानगरले जनाएको छ। नगरपालिकाले २०७७ सालसम्म योजना सम्पन्न गर्नुपर्नेछ।
टोखा नगरपालिकालाई भने पहिले नै एक करोड रकम दिइसकेको छ।

महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महानगरपालिकामा पार्कहरु बनाउने सार्वजनिक ठाउँ नभएकाले अन्य नगरमा पार्क बनाउन बजेट दिइएको बताइन्। ‘महानगरपालिकाको ठुल्ठूला पार्क बनाउने योजना थियो। तर, जग्गा छैन,’ उनले भनिन, ‘अन्य नगरमा सार्वजनिक जग्गा छन्। त्यहाँ पार्क लगायत सुविधा सम्पन्न संरचना बनाउनलाई चेक मार्फत रकम वितरण गरेका छौँ। यसरी नै आगामी दिनमा पनि  नगरलाई साझेदारी गर्ने हाम्रो उद्देश्य छ।’

संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठले महानगरपालिकाले दिएको बजेटलाई दुरपयोग नगरी समयसिमाभित्र काम सम्पन्न गरी सधै जनताको सेवक बन्नुपर्ने सबै नगरप्रमुख र उपप्रमुखलाई सुझाए। ‘जनताबाट चुनेर आएको दुई वर्ष वितिसकेको छ। बाँकी तीन वर्षमा सबै नगर प्रमुखले योजनामा रहेर काम गरेर जनताको मन जित्न सक्नु पर्छ,’ उनले भने।
सम्झौतामा सिफारिस भएको परियोजना

 कीर्तिपुर नगरपालिका
 वडा नं.१,२ र १० क्षेत्रको करिब ५५ रोपनी क्षेत्रफलमा घेरा पर्खाल, हरियाली उद्यान सहितका विभिन्न संरचना समेतको युद्ध स्मारक पार्क निर्माण गरिने।

शंखरापुर नगरपालिका
वडा नं.९ मा बज्रयोगीनी मन्दिर क्षेत्रमा उद्यान, सार्वजनिक शौचालय, सिँढी, घेरा पर्खाल, वनभोज क्षेत्रमा सेड, सवारी साधन पार्किङ स्थल लगायत करिब १०० रोपनी सार्वजनिक जग्गामा हरित उद्यान विकास तथा निर्माण गरिने।

कागेश्वरी मनोहरा नगरपालिका
वडा नं.१ मा अवस्थित प्रसिद्ध कागेश्वरी मन्दिर निर्माण र वरिपरि सहिद पार्क, दक्षिण अड्डा पाटी, पूर्व गागल फेदी र पश्चिम ढकाल गाउँको सीमाभित्र रहेको करिब ५५ रोपनी जग्गामा पर्यटकीय कागेश्वरी धाम निर्माण गरिने।

गोकर्णेश्वर नगरपालिका
वडा न.९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र निर्माण गरिने गोकर्णेश्वर पार्क (गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय शहिद तथा शान्ति पार्क निर्माण तथा व्यवस्थापन समिति बीच मिति २०७५ माघ ८ गते भएको सम्झौता अनुसार) निर्माण गर्ने। त्यस्तै गरी ज्येष्ठ नागरिक आराम कक्ष, रेलिङ सहितको अपांगतामैत्री पदमार्ग, शौचालय, बालबालिका मनोरन्जन क्षेत्र, एम्पिथेटर लगायत संरचना निर्माण गरी सञ्चालन गर्ने परियोजनाको लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क भित्र तोकिएको क्षेत्रफलमा गोकर्णेश्वर पार्क निर्माण गर्ने।

बूढानिलकण्ठ नगरपालिका
वडा नं.८ हात्तीगौडामा जगन्नाथ देवल पार्क, पश्चिम नेपाल टेलिकम, भद्रकाली शाखा कार्यालय, उत्तर सिजी हिलको आवास क्षेत्र र दक्षिणतर्फ मार्कसिष्ट गुरुकुल पार्कको चारकिल्ला भित्र करिब १४ रोपनी जग्गामा बूढानीलकण्ठ पार्क निर्माण र सूचना सहितको डिजिटल नक्सा बनाउने।

तारकेश्वर नगरपालिका
वडा नं.३ मा रहेको सार्वजनिक जंगलमा र सोको बीचमा करिब १० रोपनी सार्वजनिक जग्गामा तारकेश्वर महादेव, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल, धामसम्म आवतजावत गर्ने बाटाका सिँढी तथा वरिपरि हरियाली क्षेत्र विकास समेतको समग्र तारकेश्वर धाम निर्माण गरिने।

नागार्जुन नगरपालिका
वडा नं.६ डाँडापौवामा गणेशमान स्मृति पार्क निर्माण गरिने साथै निजी जग्गा पश्चिम श्यामेश्वर गणेशमान सामुदायिक वन, उत्तर निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्ला भित्र करिब १७ रोपनी सार्वजनिक जग्गामा आधुनिक तथा मौलिक पार्क लगायतका संरचना बनाइने।

चन्द्रागिरी नगरपालिका
वडा न.१३ मा कंकाली मन्दिर परिभ्रमण क्षेत्र पर्या–पर्यटन एवम् ऐतिहासिक सांस्कृतिक पर्यटनका लागि पूर्वतर्फ दण्डा गाउँ, पश्चिमतर्फ इन्द्रधारा सडक, उत्तरतर्फ नागार्जुन नगरपालिकाको सिमाना र दक्षिणतर्फ लम्साल गाउँ रहेको करिब २६ रोपनी सार्वजनिक जग्गाको चारकिल्ला भित्र रमणीय उद्यान निर्माण गरिने।

दक्षिणकाली नगरपालिका
वडा न.५ स्थित गोरखनाथ मन्दिरबाट करिब तीन सय मिटर माथिसम्म परम्परागत सिँढी, गोलाई आकारको अवलोकन स्तम्भ, बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, प्राचीन दक्षिणकाली मन्दिरसम्म परम्परागत सिँढी र सम्पूर्ण क्षेत्रमा पर्खाल समेत निर्माण गरिने ।

प्रकाशित: २८ माघ २०७५ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App