१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

काठमण्डपको मूल थाम ठड्याइयो

काष्ठमण्डप पुननिर्माणका लागि थाम बाेकेर लगिँदै।

निर्माणाधीन अवस्थामा रहेको काष्ठमण्डपको मूल थाम आइतबार ठड्याइएको छ। बज्राचार्य गुर्जु समूहबाट तान्त्रिक र राजोपाध्याय देवः भाजु समूहले वैदिक पूजा गरेपछि मूल थाम ठड्याइएको थियो। 

थाम ठड्याउने मुख्य जिम्मा चार वटा टोलको थियो। तान्त्रिक र वैदिक पूजाआजा सकेपछि इन्द्रचोक टोल, मरू टोल, मखन टोल र ओमबहाल टोलका वासिन्दाले हनुमान ढोका अगाडि रहेको थामलाई बोकेर लगेका थिए। त्यहाँ नेवार समुदायका जातिय संगठनको बाक्लो उपस्थिति थियो। र्‍यार्ली र झाँकीसहित थामलाई उभ्याउन सबैले आ–आफ्नो भूमिका निभाएका थिए। तयारी अवस्थामा हनुमान ढोका अगाडि राखिएका थामको बिहान विधिवत् पूजा गरिएको थियो। पूजामा १८ वटा वहिलका शाक्य चक्रेश्वर, १८ बहालका बज्राचार्य चक्रेश्वर, ज्यापू समुदायभित्रका ६३ वटा टोल प्रमुखलगायत सहभागी थिए।

काष्ठमण्डपमा चार वटा थाम प्रयोग हुन्छन्। तीमध्ये ‘साइड’ मा प्रयोग गरिने तीन वटा थाम यही महिनाभित्र गाडिने काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ। समितिका अध्यक्ष राजेश शाक्यले श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर विधिवत ढंगले मूल थाम उभ्याइएको जानकारी दिए। उनका अनुसार चार वटा थाममध्ये तीन वटा नयाँ र एउटा पुरानो प्रयोग गरिने भएको छ। विज्ञहरूको सुझाव अनुसार पुरानो थाम परीक्षण गरेपछि प्रयोग गर्न मिल्ने निश्चित भएको थियो। काष्ठमण्डप पुनर्निर्माणमा चाहिने नयाँ काठको लागि टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता भएको छ। जसले काठ उपलब्ध गराउने सहमति भएको छ।  अहिलेसम्म ८ सय १४ र ५२ क्यु फिट नयाँ काठ प्राप्त भइसकेको छ। ‘काष्डमण्डप निर्माणको क्रममा दुईवटा काम मुख्य मानिन्छन्, त्यसमध्ये एउटा थाम ठड्याउनु र अर्को गजुर राख्नु हो,’ शाक्यले भने, ‘हामीले सबै पक्षलाई नियालेर संवेदनशीताकासाथ काष्ठमण्डप निर्माणको काम गरिहेका छौं।’

थाम ठड्याउने क्रममा इन्द्रजात्राको रथ तान्दा रथमा बस्ने गणेश र भैरवको पनि उपस्थिति गराइएको थियो। ०७२ बैशाखकोे विनाशकारी भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप लामो विवादपछि गत कात्तिक २२ मा पुनर्निर्माण पूजा गरी शुभारम्भ भएको हो। पुुनर्निर्माणको लागि काठमाडौँ महानगरपालिकाले प्रदेश सांसद् राजेश शाक्यको अध्यक्षतामा ०७५ वैशाख १८ गते काष्ठमण्डप पुनर्निर्माण समिति बनाइएको छ।
काष्ठमण्डप पुनर्निर्माणका लागि थाम बोकेर लगिँदै।

प्रकाशित: २८ माघ २०७५ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App