१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डिपिएलका खेल आजबाट

धनगढी - रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणका खेल सोमबारबाट सुरु हुँदैछ। वर्षाले मैदान हिलाम्मे भएकाले खेल दुई दिन पछि सारिएको हो। वर्षाका कारण खेल दुई दिन पछि सारिए पनि पूर्वनिर्धारित मितिमै शनिबार डिपिएल तेस्रो संस्करणको एक समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको थियो। सोमबार बिहान ९ बजे पहिलो खेल धनगढी स्टार्स र  काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल हुनेछ।

धनगढी स्टार्सका कप्तान सोमपाल कामीले मैदानमा पानीका कारण नेट अभ्यास गर्न नपाए पनि टोलीले राम्रो खेलेर जितलाई निरन्तरता दिने बताए। ‘पहिलो म्याच जसरी पनि जित्ने रणनीतिअनुसार हामी खेल्नेछौंं,’ उनले भने,‘गत वर्षको च्याम्पियन भएकाले पनि हामीलाई जित्नैपर्ने दबाब छ।’ धनगढी स्टारलाई घरेलु दर्शकको साथले खेलमा हौसला बढ्ने देखिन्छ। काठमाडौं गोल्डेन्सका उपकप्तान अनिलकुमार शाहले टिमको तयारी राम्रो भएको बताए। ‘हाम्रो बलिङ लाइन बलियो रहेकाले ब्याटिङमा सुधार गर्दै जितलाई पक्षमा पार्नेछौँ,’ शाहले भने,‘विदेशी खेलाडीको सहभागिताले हाम्रो टिमलाई सन्तुलित बनाउन सहज गर्नेछ।’ 

सोमबार नै दोस्रो खेल रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुनेछ। रूपन्देही च्यालेन्जर्सका उपकप्तान विक्रम सोबले प्रतियोगिताका लागि खेलाडीले हप्ता दिन अगावैदेखि तयारी गरिरहेकाले जित्ने आशा गरिएको बताए। ‘हाम्रो टिमको ब्याटिङ, फिल्डिङ र बलिङ राम्रो छ,’ उनले थपे,‘हङकङका क्याप्टेनसमेत रहेका विदेशी खेलाडी बाबर हायातको उपस्थितिले खेलाडीको मनोबल अझै उच्च भएको छ।’

महेन्द्रनगर युनाइटेडका उपकप्तान आरिफ शेखले पनि प्रतियोगिताका लागि राम्रो तयारी रहेको बताए। उनले भने,‘हाम्रो टिम ट्रफी उचाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।’ आफूहरू लामो समयदेखि जिम र फिटमा तयारी गरिरहेकाले मैदानमा उत्रन खासै असहज नहुने उनले बताए। आफ्नो टिम निकै सन्तुलित रहेको समेत उनले बताए।  उपाधि विजेता टोलीले ट्रफीसहित नगद ३० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यो पुरस्कार राशि देशभरमै क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी हो। यसै गरी उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ‘मोस्ट भ्यालुएबल’ घोषित हुने खेलाडीका लागि सुनको जुत्ता पुरस्कार राखिएको छ।

प्रकाशित: २८ माघ २०७५ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App