गत पुसमा खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको पदमा चारवर्षे कार्यकालका लागि छनोट भएका अनिलकुमार उपाध्यायसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव छ। रौतहटको गौर नगरपालिका–३ मा जन्मिएका उपाध्याय त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण गरी कृषि विकास बैंकमा अधिकृत (तृतिय) स्तरको कर्मचारीको रुपमा २०४३ सालमा सेवा प्रवेश गरेका हुन्। उनले कृषि विकास बैंकमा ३० वर्ष सक्रिय एवं क्रियाशील बैंकर्सको रुपमा सेवा गरी बैंकको उप–महाप्रबन्धक पदबाट करिब साढे दुई वर्षअघि अनिवार्य अवकाश लिएका थिए।
बैंकको शाखा प्रबन्धक, विभागीय प्रमुख, मुख्य निर्देशक, उप–महाप्रबन्धक, निमित्त प्रमुख कार्यकारी अधिकृतको पदमा रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सफल उपाध्यायले कृषि विकास बैंकलाई अझै उचाइ र सबैको माझमा पुर्याउने उद्घोष गरेका छन्। उनी कृषि विकास बैंकलाई आधुनिक प्रविधिमैत्री बैंक, आफ्नो बैंक, अझ नेपालीको घर आँगनको बैंक बनाउने अभियानमा लागेका छन्। बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य रकमको अभाव, बैंकिङ क्षेत्रमा देखिएको चुनौती तथा अवसर, कृषि विकास बैंकको अहिले अवस्था र आगामी योजनालगायत विषयमा कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायसँग नागरिकका लागि विष्णु बेल्वासेले गरेको कुराकानी :
हालै बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य रकम (तरलता)को अभाव तथा ब्याजदर वृद्धिमा देखिएको अस्वस्थ प्रतिस्पर्धाबारे तपाईंको धारणा के छ ?
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पछिल्ला केही वर्षदेखि बैंकहरुले पुँजी वृद्धि गरेका कारण लगानीमा उचित प्रतिफल उपलब्ध गराउन बाध्यता भएको छ। त्यसैले प्रायःजसो बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक वर्षको सुरुदेखि नै कर्जा प्रवाहमा अत्याधिक मात्रामा वृद्धि हुँदै गएको छ। कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने न्यून रहेका कारण केही वित्तीय संस्थामा विगतका वर्षहरुबाट नै कर्जायोग्य तरलतामा कमी हुन गएको छ। फलस्वरुप निक्षेप तथा कर्जा दुवैको ब्याजदरमा प्रत्यक्ष प्रभाव पर्न गयो।
चालु आर्थिक वर्षमा समेत गत वर्षजस्तै ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुने संकेत देखिइसकेको थियो। परिस्थितिको गम्भीरतालाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंकले समयमै सजगता अपनाई ब्याजदरमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गरिसकेको छ भने अर्कोतिर बैंकर्स एसोसिएसन पनि यसप्रति सजग रहेको छ। तर मूलतः निक्षेप र कर्जाको सन्तुलन कायम गर्नु वाणिज्य बैंकहरुको व्यावसायिक धर्म हो। तर यो भनिरहँदा स्थिति पूर्णरुपमा सुध्रेको अवस्था पक्कै होइन। किनभने अझै पनि कर्जायोग्य तरलता पर्याप्त नदेखिनु, निक्षेपमा दिइने ब्याजदर र कर्जामा लिइने ब्याजदर पूर्ववत अवस्थामा आइनपुगेको अवस्था छ। सरकारको पुँजीगत खर्चको मात्रामा वृद्धि हुँदै गएको अवस्थामा आगामी दिनमा कर्जा, निक्षेप, ब्याजदर लगायत समस्यामा सुधार आई स्थिति सामान्य हुैदै जान्छ। बजारमा देखिएको यस्तो स्थितिबाट मुक्त हुन कृषि विकास बैंकले स–सानो निक्षेप संकलनलाई अभियानको रुपमा सञ्चालन गर्दै तरलता व्यवस्थापन तथा सन्तुलित कर्जा लगानी लगायत समग्र बैंकिङ गतिविधिलाई सावधानीपूर्वक अघि बढाउँदै लैजाने सोचका साथ अघि बढ्ने नीति लिएको छ।
लगानीयोग्य रकमको अभाव हुनुमा बैंकहरु नै दोषी छन् भनिन्छ नि ?
बैंकहरुले सन्तुलित भएर लगानी गर्नुपर्ने थियो। बैंकहरु पनि आक्रामक रुपमा लगानी गर्न पुग्दा पनि तरलताको अभाव भएको हो। चालु आर्थिक वर्षमा कर्जा लगानी २० प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो। तर, चालु आर्थिक वर्षको ६ महिनामै कर्जा लगानी २५ प्रतिशतभन्दा बढी भएको छ। यसले पनि लगानीयोग्य रकम अभाव भएको हो। अर्को कुरा सरकारले पुँजीगत खर्च गर्न नसकेकाले पनि तरलताको अभाव देखिएको हो।
राजनीतिक स्थायित्वका कारण कर्जाको माग बढी भएको हो भन्ने गरिन्छ। यसमा तपाईंको भनाइ के छ ?
निःसन्देह देशमा राजनीतिक स्थायित्व भएबाट मानिसका आर्थिक तथा व्यावसायिक गतिविधि बढ्दै गएका छन्, फलस्वरुप कर्जाको माग बढेको छ। एकातिर नयाँ व्यवसायी थपिएका छन् भने अर्कोतिर पुराना व्यवसायीले आफ्नो व्यवसाय विस्तार गरेका कारण कर्जाको माग ह्वात्तै बढ्न पुगेको हो। स्रोतको वृद्धि गर्दै उत्पादनशील क्षेत्रमा कर्जा वृद्धि गर्नुपर्छ। निक्षेप र कर्जाबीचको असन्तुलनमा सन्तुलन कायम भएपछि आगामी दिनमा लगानीयोग्य रकमको अभाव बिस्तारै कम हुनेमा आशावादी छौं।
नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकको कामप्रति तपाईंको धारणा के छ ?
देशको केन्द्रीय बैंक बैंकहरुको पनि बैंक हो। केन्द्रीय बैंकसँग देशको मौद्रिक एवं वित्तीय स्थायित्वको निमित्त सशक्त भूमिका निर्वाह गर्नुपर्ने दायित्व हुन्छ। देश संघियतामा गइसकेपछि आम्दानीको दायराको तुलनामा खर्चका दायरा बढ्दै जानुले आर्थिक क्षेत्र थप चुनौतीपूर्ण बनेको छ। समयानुसार पर्याप्त पुँजीगत खर्च हुन नसकेको अवस्थालाई स्वीकार्नु पर्छ। सरकार र नेपाल राष्ट्र बैंकबाट वित्तीय स्थायित्वमा सजगता अपनाउने समसामयिक प्रयासको थालनी भइसकेको सन्दर्भमा आर्थिक वृद्धि, मौद्रिक तथा वित्तीय स्थायित्वबीच सन्तुलन मिलाउने जस्ता कार्यमा नेपाल राष्ट्र बैंकबाट सजगताका साथ थप प्रयास हुनु जरुरी देखेको छु।
कृषि विकास बैंकलाई प्रतिस्पर्धी बैंकको रुपमा अघि बढाउन के गर्दै हुनुहुन्छ ?
कृषि विकास बैंक नेपालको वित्तीय बजारमा बृहत कार्यसञ्जाल, पुँजी तथा वित्तीय क्षमता समेतको आधारमा सबैभन्दा ठूलो बैंक हो। बैंकिङ बजारमा अहिले तीव्र प्रतिस्पर्धा छ। प्रतिस्पर्धी वित्तीय बजारमा बैंक स्थापनाको मर्म र भावनालाई आत्मसात गर्दै कृषि क्षेत्रको विकासका लागि यथासक्य योगदान गर्दै आधुनिक बैंकिङ सेवा र सुविधासहित हामी उपस्थित छौं। आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना गर्ने खालका परियोजनामूलक व्यवसायमा कर्जा विस्तार गर्ने, सम्पूर्ण कर्मचारीलाई अझ बढी प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई आधुनिक बैंकिङ सेवा तथा सुविधा एकद्वारबाट उपलब्ध गराउने गरी काम गरिरहेका छौं। बैंक एक सफल व्यावसायिक बैंकको रुपमा आफ्नो बैंकिङ गतिविधि सञ्चालन गर्दै आगामी दिनमा पनि सम्पूर्ण सम्बद्ध पक्षहरु ग्राहक, सेयरधनी, कर्मचारी लगायतको अधिकतम सन्तुष्टिका निमित्त निरन्तर प्रयासरत रहने छ।
आधुनिक बैंकिङ सेवाहरु विस्तार गर्ने सम्बन्धमा कृषि विकास बैंक पछाडि छ भनिन्छ । आगामी दिनमा प्राविधिमैत्री बनाउँदै जान के कस्ता योजना ल्याउनु भएको छ ?
कृषि विकास बैंकले दूरदृष्टि ध्येय र उद्देश्यका साथ स्वीकृत व्यावसायिक योजनालाई मुख्य आधार मानेर विस्तारित, सघन, दिगो एवं पु्रडेन्ट बैंकिङ तथा सामाजिक अभिमुखीकरणसहितको बैंकिङ सेवालाई आधारभूत सिद्धान्तको रुपमा ग्रहण गर्दै बैंकले कार्यक्रम सञ्चालन गर्दैै आएको छ। यसै सन्दर्भमा बैंकले चालु आर्थिक वर्षको अन्तसम्ममा सिबिएस लगाउन बाँकी रहेका ग्रामीण क्षेत्रका केही शाखामा समेत पूर्णरुपमा कोर बैंकिङ सिष्टम लागू गर्ने अभियानमा छौं। त्यसपछि बैंकका सबै शाखा सिबिएसयुक्त हुने छन््। फलस्वरुप देशैभरीका हाम्रा शाखाबाट आधुनिक बैंकिङ कारोबारको रुपमा इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सिआस्वा, आइपिएस लगायत सेवा उपलब्ध हुन सक्ने गरी कार्यान्वयनमा ल्याइसकेका सेवा प्रदान गर्न सकिने छ। आगामी दिनमा ग्राहकको चाहना र समयको मागअनुसार सेवा परिमार्जन गर्दै थप सेवा उपलब्ध गराउने गरी बैंकका कार्यक्रम अगाडि बढ्ने छन्।
कृषि विकास बैंकमा विगतमा ३० वर्षसम्म काम गरेको अनुभवका आधारमा बैंकका के र कस्ता चुनौती तथा अवसर देख्नु भएको छ ?
प्रयाजसो बैंकिङ व्यवसाय तरल अवस्थामा रहनुका साथै सँगसँगै चुनौति पनि आउने गर्दछन्। यसरी देखिने चुनौतिलाई अवसरमा बदल्न मेरो गहन प्रयास हुनेछ। मसँग स्पष्ट भिजनसहितको कार्ययोजना र प्राथमिकता क्रम रहेका छन्। मैले यस बैंकमा नै ३० वर्षसम्म सेवारत रहँदा सञ्चालन स्तरदेखि व्यवस्थापनको उच्च तहसम्म रहेर काम गरेको अनुभव छ। नेपाल सरकार लगायत विभिन्न दातृ निकायसँग रहेर काम गर्ने अवसर प्राप्त भएकाले पनि कृषि विकास बैंकलाई आगामी दिनमा अझ बलियो र सशक्त बैंकको रुपमा अगाडि बढाउने छु। सहरदेखि गाउँसम्म रहेको बृहत कार्य सञ्जाल, धेरै चुक्ता पुँजी, अत्याधुनिक प्रविधिको रुपमा परिचित कोर बैंकिङ सिस्टम टी २४, करिब एक लाख ४५ हजार कर्जा ग्राहक र १२ लाखको हाराहारीमा रहेका निक्षेपकर्ताका साथै दुई लाख ४८ हजारको संख्यामा रहेका सेयरधनी, अनुभवि जनशक्ति र लगानीको बृहत सम्भावनायुक्त क्षेत्र, दातृ निकायसँको हाम्रो राम्रो सम्बन्ध, एसियाली विकास बैंकसँगको पुँजी र सूचना प्रविधि क्षेत्रमा भएको सहकार्य, अन्तर्राष्ट्रिय संघ संस्थासँगको आवद्धताबाट व्यावसायिक क्षमता अभिवृद्धिका लागि प्राप्त हुने एक्सपोजर प्रोग्राम, स्वदेशी तथा वैदेशिक अध्ययन भ्रमण तथा तालिम एवं ग्रामीण र कृषि क्षेत्रमा हामीले हासिल गरेको विशिष्ट अनुभव आदि मैले यस बैंकको अवसरको रुपमा लिएको छु। आगामी दिनमा स्रोतको अधिकतम उपयोग गर्दै उत्पादनमूलक क्षेत्र, व्यवसायिक कृषि, सेवा व्यवसाय, लगायत पूर्वाधारमा उल्लेख्य पहुँच पुर्याउने गरी हाम्रा कार्यक्रम अगाडि बढ्नेछन्।
कृषि विकास बैंकको हालको वित्तीय अवस्था कस्तो रहेको छ ?
समग्ररुपमा कृषि विकास बैंकको वित्तीय अवस्था स्वस्थ छ। हालको वित्तीय अवस्थालाई यस चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगतिको आधारमा समग्र बैंकिङ उद्योगसँग तुलना गरेर हेर्दा क्रमशः निक्षेप वृद्धिदर १४–१५ प्रतिशत हुँदा यस बैंकको १०–११ प्रतिशत वृद्धिदर रहेको, कर्जा १७–१८ प्रतिशत वृद्धि हुँदा बैंकको १४–१५ प्रतिशत वृद्धि रहेको, बैंकिङ उद्योगको औसत नाफा ५५ करोड ६१ लाख हुँदा बैंकको ६६ करोड ३१ लाख रहेको, इपिएस २६–४९ प्रतिशत हुँदा बैंकको २७–३५ प्रतिशत, नेट वर्थ प्रतिसेयर १७५.४७ हुँदा बैंकको २०५.४९, एनपिएल औषत १.४१ प्रतिशत हुँदा बैंकको १.९१ प्रतिशत, रिर्जभ एन्ड सरप्लस औसत ६५२ करोड हुँदा बैंकको १४७० करोड रहेको छ। साथै पुस महिनासम्मको तथ्यांकअनुसार बैंकको निक्षेप रकम एक खर्ब ६ अर्ब ५७ करोड रुपैयाँ तथा कर्जा लगानी एक खर्ब ६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बैंकको पुँजी कोष १८.९७ प्रतिशत, निस्क्रिय कर्जा २.१४ प्रतिशत (पाउनुपर्ने ब्याज समावेश नगर्दा) इक्विटीमा प्रतिफल ६.२५ प्रतिशत तथा प्रतिसेयर आम्दानी २९.४४ रहेको छ। निरन्तर रुपमा प्रतिस्पर्धात्मक प्रतिफल प्रदान गर्दै आएको बैंकले सेयरधनीलाई लगानीको उचित प्रतिफल उपलब्ध गराउने दिशामा बैंक अगाडि बढेको छ। यस वर्ष बैंकको हालसम्मको तथ्यांक विश्लेषण गर्दा बैंकले आफ्नो खुद मुनाफालगायत वित्तीय परिसूचकलाई थप बलियो बनाउन सक्ने देखिन्छ।
हालको परिवर्तित प्रतिस्पर्धात्मक बैंकिङ बजारमा खरो रुपमा उत्रिएर लगानीकर्तालाई बजारको माग बमोजिम प्रतिफल दिई सुदृढ, स्वस्थ र सक्षम संस्था बनाउने दिशातर्फ अगाडि बढ्दै बैंकप्रतिको जनताको विश्वासलाई पुँजीकृत गर्दै बैंकको सर्वोत्तम हितमा सम्बद्ध सबै पक्षलाई सम्बोधन गर्नुपर्ने कार्यलाई बैंकले अवसरको रुपमा लिनु बढी उपयोगी हुन्छ भन्ने मलाई लाग्छ।
प्रकाशित: २८ माघ २०७५ ०१:४२ सोमबार