१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एमसिसी र सरकारबीच भावी कदमबारे छलफल

काठमाडौं- अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसिसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्ता नेपालको भ्रमण गरेकि छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्मा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक लगायत प्रमुख सरकारी अधिकारीसँगका बैठकमा सुमारले सरकारलाई हालै सुरु गरिएका नयाँ सम्भाव्यता अध्ययनसम्बन्धी अध्यावधिक जानकारी प्रदान गरिन् ।

एमसिसीले कम्प्याक्ट विकासका लागि नेपाललाई उपलब्ध गराएको १ करोड अमेरिकी डलर अनुदानको हिस्साका रूपमा रहेका उक्त सम्भाव्यता अध्ययनहरू विद्युत प्रसारण लाइनसम्बन्धी परियोजनामाथि केन्द्रित रहेका छन् । तिनले कम्प्याक्ट कार्यक्रमको तर्जुमा र तयारीका पक्षलाई सुसूचित गर्नेछन् । त्यसका साथै, सुमारले सरकारी अधिकारीहरूलाई अफ–ग्रिड (राष्ट्रिय प्रसारणमा नजोडिएको) ऊर्जा र सडक यातायातसम्बन्धी परियोजनाको विषयमा समेत अध्यावधिक जानकारी प्रदान गरिन् । निजी क्षेत्रसँगको सहकार्यमा एमसिसीले यो कार्यक्रम अगाडि बढाइने सम्भावना रहेको छ ।

एमसिसी र नेपाल सरकारले व्यापक र दिगो आर्थिक वृद्धिको गाँठो फुकाउने कम्प्याक्ट कार्यक्रम विकसित गर्ने दिशामा उल्लेखनीय प्रगति गरेका छन्, सुमारले भनिन् । उनका अनुसार यो साझेदारीमार्फत कम्प्याक्ट सम्झौताका साथै विद्युत तथा यातायात क्षेत्रलाई टेवा दिने विद्युत क्षेत्र सञ्चालन वातावरणलाई अन्तिम रूप दिन र नेपाली जनताको जीवनस्तरमा सुधार गर्नका लागि सहकार्यलाई निरन्तरता दिइने छ ।

एमसिसीको सञ्चालक समितिले सन् २०१४ को डिसेम्बरमा पहिलोपटक नेपाललाई कम्प्याक्ट कार्यक्रमका लागि योग्य देशका रूपमा छनोट गरेको हो । एमसिसी र नेपाल सरकारले विद्युतको अपर्याप्त आपूर्ति र यातायातको उच्च लागत लगायतका मुलुकको आर्थिक वृद्धिका बाधकलाई सम्बोधन गर्ने खालका परियोजनाहरू विकसित गरिरहेका छन् ।

एमसिसी आर्थिक विकासमार्फत विश्वव्यापी गरिबी न्यूनीकरणका लागि कार्यरत एक स्वतन्त्र अमेरिकी सरकारी निकाय हो । सन् २००४ मा स्थापित एमसिसीले भ्रष्टाचार विरुद्ध संघर्ष गर्नेदेखि लोकतान्त्रिक अधिकारको सम्मान गर्नेसम्मका सुशासनका कडा मापदण्ड पूरा गर्ने विपन्न देशहरूलाई समय–सीमित अनुदान र सहायता प्रदान गर्दछ ।   

प्रकाशित: २० आश्विन २०७३ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App