१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दृष्टिविहीन संघलाई जापानी दूतावासको सहयोग

काठमाडौं – दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले काठमाडौंस्थित जापानी राजदूतावासले ८४ लाख रुपैयाँबराबरका सामग्री प्रदान गरेको छ।

त्रिपुरेश्वरस्थित नेपाल दृष्टिविहीन कल्याण संघ (एनएडब्लुबी) को कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममार्पmत दूतावासले उक्त सामग्री संघलाई प्रदान गरेको हो। दूतावासका डेपुटी चार्ज अफ मिसन (डिसिएम) युजो योसिओका, दूतावासका द्वितीय सचिव मासाओ कुनिसादा र कार्यक्रम म्यानेजर इमाई काओरीलगायतले संघका अध्यक्ष कुमार थापा र सहमहासचिव पवन घिमिरेलाई ती सामग्री हस्तान्तरण गरेका थिए।

दूतावासले उपलब्ध गराएका सामग्रीमा दुईवटा ब्रेल प्रिन्टर, तीनवटा कम्प्युटर र ल्यापटप तथा एक–एक थान स्क्यानर र फोटोकपी मेसिन छन्। संघका अध्यक्ष थापाले दृष्टिविहीन विद्यार्थीका लागि किताब छाप्ने एक मेसिनको मूल्य ३० लाख रुपैयाँजति पर्ने जानकारी दिए। दूतावासले एक पुरानो बे्रली मेसिन पनि मर्मत गरिदिएको जानकारी कार्यक्रममा दिइयो।

संघका अध्यक्ष थापाले जापानले उपलब्ध गराएको सहित संघमा पाँचवटा बे्रल लिपिका पुस्तक छाप्ने मेसिन भएको जानकारी दिए। उनका अनुसार अब दृष्टिविहीन विद्यार्थीका लागि नेपालभरि आवश्यक पुस्तक छाप्न मिल्ने छ। ब्रेल लिपिका पुस्तक छाप्ने कागज महंगो पर्ने हुनाले खर्च जुटाउन केही कठिनाइ भने हुने उनले बताए। दूतावासले प्रदान गरेको सहयोगले नेपालभरिका करिब १६ सय दृष्टिविहीन विद्यार्थीले किताब पढ्न पाउने हुनाले सबै हर्षित भएको थापाले बताए। निजी विद्यालयले प्रत्येक वर्ष पाठ्यक्रम परिर्वतन गरिरहने हुनाले दृष्टिविहीनका लागि समस्या भएको छ। सरकारी विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई भने संघले केही किताब प्रदान गरेको जनाएको छ। ६ महिना लगाएर उच्च लागतमा किताब छापे पनि एकै वर्षमा पाठ्यक्रम परिवर्तन हुँदा दृष्टिविहीन विद्यार्थीले पर्याप्त मात्रामा पुस्तक पाउने नसकेको संघका सहमहासचिव पवन घिमिरेले बताए।

प्रकाशित: २७ माघ २०७५ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App