१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिजुले–हुर्लुङ सडकको कालोपत्रेमा ढिलासुस्ती

मध्यपहाडी लोकमार्गअन्तर्गत हुर्लुङ–दिक्तेल सडकखण्डमा फस्ट कोड गरिँदै। तस्बिर : दमन/नागरिक

खोटाङ - मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बिजुले–हुर्लुङ सडकखण्डको काममा चरम ढिलासुस्ती देखिएको छ। हलेसी–दिक्तेलका तीन प्याकेजमध्ये दोस्रो प्याकेजका रूपमा कालोपत्रे थालिएको बिजुले–हुर्लुङ १२ किलोमिटर खण्डको काममा ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले ढिलासुस्ती गरेको हो। पहिलो प्याकेजअन्तर्गत हलेसी–बिजुले र तेस्रो प्याकेजअन्तर्गत हुर्लुङ–दिक्तेलको काम भने अलि सन्तोषजनक देखिएको जिल्लावासीको भनाइ छ। कालोपत्रे भइसक्नुपर्ने बिजुले–हुर्लुङ खण्डमा जनवरी १५ (माघ १ गते) सम्ममा करिब ३.८ किलोमिटरमा मात्र फस्टकोड गरिएको पाइएको परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट इन्जिनियर सूर्यप्रसाद ढकालले बताए।

१४ जुन २०१४ मा लामा–नागार्जुन जेभीले ठेक्का लिएको बिजुले–हुर्लुङ खण्डको काम हालसम्म ७१ प्रतिशत मात्र पूरा भएको छ। जबकि सँगै ठेक्का लागेको हलेसी–बिजुलेको काम हालसम्म ९५ प्रतिशत र हुर्लुङ–दिक्तेलको काम जनवरी १५ सम्ममा करिब ८३ प्रतिशत पूरा भइसकेको छ। बिजुले–हुर्लुङ सडकमा भर्खरै राखिएको सेकेन्ड कोड कालोपत्रेसमेत गुणस्तरहीन भएकाले दोहो¥याउनुपर्ने देखिएको छ। १८ करोड २७ लाख १३ हजारमा कालोपत्रे गर्ने जिम्मा लिएको लामा–नागार्जुन जेभीले सुरुको सम्झौता अवधिमा काम पूरा गर्न नसकेपछि १३ मार्च २०१७ मा पहिलो म्याद थप गरिएको थियो। सो म्याद पनि गुज्रिसकेको छ।

दिक्तेल–हलेसी सडकखण्डको दिक्तेल–हलेसी (१२ किलोमिटर) खण्ड कालोपत्रेको काम भने अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनी लुम्बिनी–कन्काई–सूर्य जेभीले १७ करोड ८२ लाख ६६ हजार रुपैयाँमा कालोपत्रे थालेको सो खण्डमा ३.५ किलोमिटरमा सेकेन्ड कोड गर्न, ट्राफिक चिह्न, किलोमिटर पोस्ट, डेलिनेटर राख्ने काम मात्र बाँकी रहेको छ। ८ मार्च २०१७ मा पहिलो म्याद गुजारेका निर्माण कम्पनीलाई ७ अप्रिल २०१८ सम्मका लागि दोस्रोपल्ट म्याद दिइएको थियो। यस्तै, लामा–नागार्जुन–त्रिशूली जेभीले जिम्मा लिएको हुर्लुङ–दिक्तेल (११.४३ किलोमिटर) खण्डको करिब ८.५ किलोमिटरमा फस्ट कोड राख्ने काम सम्पन्न भएको छ। अझै तीन किलोमिटर खण्डमा ग्राभेल, बेस र पिचको काम बाँकी देखिएको परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्ड सोइल टेस्ट जेभीले जनाएको छ। १७ करोड ७८ लाख ७४ हजार रुपैयाँमा कालोपत्रे पूरा गर्नेगरी ठेक्का लागेको हुर्लुङ–दिक्तेल सडकको पहिलो म्याद २३ मार्च २०१७ मा गुज्रिसकेको छ। यस खण्डका लागि पनि दोस्रो म्याद थपको प्रक्रिया अघि बढाइएको छ। हुर्लुङ–दिक्तेलको काम पूरा गरेपछि लामा–नागार्जुन–त्रिशूली जेभीले नै बिजुले–हुर्लुङको काम पूरा गर्ने जनाइएको छ। ढिलासुस्तीबाहेक मध्यपहाडीको गुणस्तरका विषयमा समेत स्थानीयले प्रश्न उठाउँदै आएका छन्।

एसियाली विकास बैंक (एडिबी) को ५२ करोडमा दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्नेगरी २०७१ साल साउन अन्तिम साता सडक स्तरोन्नतिको काम थालिएको थियो।

प्रकाशित: २७ माघ २०७५ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App