१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘सांसदलाई दाम’ अभियान

काठमाडौं- चिकित्सा शिक्षा सुधारका माग राख्दै आमरण अनशन बसेका डा. गोविन्द केसीका समर्थकले सांसदलाई दाम चढाउने अभियान सुरु गरेका छन् । डा. केसीका मागका विषयमा मौन बसेर सांसदहरू आफ्नो तलबभत्ता बढाउन लागिपरेकाले आलोचनात्मक सन्देश दिन केसी समर्थकले दाम चढाउने अभियान चलाएका हुन् ।

सोलिडारिटी फर गोविन्द केसी अलायन्स र विवेकशील नेपालले प्रधानमन्त्रीनिवास बालुवाटारबाट संयुक्त रूपमा अभियान चलाएका हुन् । अलायन्सका सदस्य डा. जीवन क्षेत्रीका अनुसार सांसदलाई तलबभत्ताका लागि सहयोग होस् भनेर भेटी संकलन गरिएको हो ।

संकलित भेटी उनीहरूले सांसद तथा नेताका घरमै पुगेर उपलब्ध गराउन थालेका छन् । ‘डा. केसीका जायज मागमा मौन बस्ने तर आफूलाई भने तलब बढाउनुप¥यो भनेपछि व्यंग्यात्मक सहयोग गर्न दाम चढाउन थालिएको हो,’ उनले भने, ‘संसद तथा सिंहदरबार बन्द भए पनि सांसदका घर बन्द हुँदैन भनेर घरघरमा गई दाम चढाउन  सुरु गरिएको हो ।’

यो अभियानमा सहयोग गर्न डाक्टर, विद्यार्थी तथा सर्वसाधारणले स्वतस्फूर्त रूपमा पाँच र दस रुपैयाँ संकलन गरिरहेका छन् । संकलति रकममध्ये उनीहरूले केही रकम चढाउँदै सांसदलाई मागका विषयमा जानकारी गराउँदै हिँडिरहेका छन् ।

केसीका मागमा चुप लागेर बसेको भन्दै अहिले सांसदको आलोचनासमेत भइरहेको छ । चिकित्सा शिक्षा ऐन संसद्को यही अधिवेशनबाट पारित हुनुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नुपर्नेलगायत माग राखी डा. केसी १० दिनदेखि टिचिङ अस्पतालमा अनशनरत छन् ।

प्रकाशित: २० आश्विन २०७३ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App