यात्रा

गुण्टा गुडाउँदै जुरिकतिर

शनिबार, २६ माघ २०७५, १२ : ०८ रामदयाल राकेश

हामी २२ अक्टूबरको नाइट बसबाट जुरिक पुग्दा विहानी  उज्यालोको संकेत पाइसकेका थियौं।  एकजना भारतीय सहयात्री बसबाट ओर्लेर चुरोटको चुस्की लिइराखेको थियो तर त्यसले जाडोलाई के चुनौती दिन सक्थ्यो ! तैपनी आत्मसन्तुष्टि लिँदै थियो।  ऊ मुम्बई निवासी थियो।  मैले आफ्नी साथीलाई ऊसित परिचय गराई दिएँ।  उनी ऊसित वार्तालाप गर्न थालिन्। 

होटल रिजर्भेसन गराइसकेकाले ऊ ढुक्क थियो तर हामीलाई त्यो होटल महँगो लाग्यो।  उसको होटल बस स्टेशन नजिक थियो।  उसको एउटा साथी पनि रहेछ।  उनीहरु बसबाट ओर्लेर सडक पारि होटलमा जाँदा हामीले उभिएर हेरिराख्यौं।  होटल रिजर्भेशनको पीरबाट पीडित छँदैथियौं त्यसमाथि साथीको अभद्रं व्यवहारले मलाई चिन्तित तुल्याइराखेको थियो।  खैर हामी आ–आफ्नो गुन्टा बोकेर आफ्नो गुँडतिर गुन्टोलाई गुडाइराखेका थियौं।  हुनत बोसनियाका केही शरणार्थीहरुको दशा बर्लिनको सडकमा भीख माग्दाको दृश्य देखिसकेका थियौं तर पनि अर्को विकल्प नभएकाले हामी पनि शरणार्थी सरह जुरिकको सडकमा भौतारिरहेका थियौं।  हाम्रो होटल रिजर्भेशन पूर्व भएको भए यसरी जुरिकको गल्ली गल्लीमा भौतारिनु पर्दैनथियो।  

ट्राम स्टेसनको टिकट सकिसकेकाले अर्को टिकट लिएर फर्किनु पर्ने बाध्यता थियो।  साथीले मेसिनबाट टिकट लिने कोसिस गरिन् तर सफल हुन सकिनन्।  ड्राइभरले हामीलाई नौलो देखेर आफू पछाडिको सिटमा बस्न अनुरोध गर्‍यो।  उसको सौजन्यमा हामीले करिब १ घन्टा यात्रा गर्‍यौं।  


हामी करीब एक घण्टासम्म गल्ली चहार्दै थकित थियौं कुनै पनि होटल र गेष्टहाउस आफु अनुकुल पाइरखेका थिएनौं।  साथीले डिपार्टमेन्टल रेस्टुरेन्टभित्र गएर के के सोधेर आइन।  केही खाने कुरो पनि किनेर ल्याइन।  म स्टोरको मुख्य ढोकामा उभिराखें।

साथी निश्चिन्त भएर भित्र के के गर्न थालिन्।  धेरै बेर पछि निस्केर जाउँ भनिन्।  म चाहीँ केही प्रगति भएको होला भन्ने ठानेँ तर त्यस्तो केही भएको थिएन।  फेरि हामी गुन्टा गुडाउँदै जुरिकको सडक र गल्लीमा हिँड्न थाल्यौं।  एउटा ठूलो रेष्टुरेन्ट अगाडि कुर्सी सजाइएको थियो।  एकजना स्थानीय बसिराखेको थियो।  हामी चिन्तित भएर बसिहाल्यौं।  साथीको धेरै कराउने बानी रहेछ।  ठूलो–ठूलो स्वरमा कराउन थालिन्।  त्यो स्थानीयलाई राम्रो लागेन।  हाम्रो भाषा नबुझे पनि उसले बुझ्यो कि हामी झगडा गरिराखेका छौं।  उसले हामीलाई स्वाभाविक प्रतिक्रिया स्वरुप शिष्ट भाषामा बोल्यो ‘बी नाइस, एभरी थिंग इज नाइस हियर। ’

मलाई त लाजै लागेर आयो तर पनि साथी कराउन छोडिनन्।  मैले उसलाई भनें–‘हामी सस्तो होटल खोजिराखेका छौंं।  हामी चिन्तित भएर कुरा गरिरखेको छौं। ’ उसले तुरुन्त एउटा सस्तो होटलका बारेमा भन्यो।  हामी उसले भनेकोतिर गयौं तर उसले इसाराले संकेत गरेको ठाउँ ठम्याउन सकेनौं। 

नदीको किनारमा ठूलो–ठूला रुख शोभायमान थियो।  हामी एउटा ठूलो रुख मुनि आराम गर्न थाल्यौं।  साँच्चिकै त्यो स्थानीय स्वीस मानिसले भनेअनुसारको हरेक चीज नाइस लाग्न थाल्यो।  एक छिन हामी ठूलो रुखको पात नदीको पानीमा खसेर तरंगित भएर आफ्नो निश्चित दिशातिर प्रवाहित भइराखेको थियो तर हामी दिशाभ्रमित एवं दिग्भ्रमित भएर उभिराखेका थियौं।  नदी किनारमा लामबद्ध रुखहरु अवलोकन गर्नमा आनन्दको अनुभूति त भइराखेको थियो तर यस्तै प्राकृतिक दृश्यावली हरेर हिन्दी भाषाका प्रसिद्ध प्रकृतिका कवि अयोध्या सिंह हरिऔध प्रवाहित यमुना नदीको किनारमा पंक्तिवद्ध रुखहरु हेरेर यस्तो काव्यिक अभिव्यक्ति दिएका होलान मलाई भान हुनथाल्यो। 

प्राकृतिक परिवेशमा रमाइराख्ने समय थिएन किनभने हाम्रो आवासको समस्या हल भएको थिएन।  हामीले एक कप चिया पनि खाएका थिएनौं।  समय घर्किदै गएको थियो र हाम्रो चिन्ता बढ्दै थियो।  साथी लखतरान भएर गुण्टाको भरमा लडिराखेकी थिइन्।  मलाई अह्राइन, ‘तपाईं गएर सोध्नुस्। ’ मैले एउटा कश्मीर पंजाव रेष्टुरेन्टको साइनबोर्ड हेरें।  त्यहाँ कार्यरत व्यस्त कर्मचारीसँग सोधें।  उसले छेउको होटलतिर इशारा गर्दे त्यहाँ गएर सोध भन्यो।  रिसेप्सनमा गएर सोध्दा त्यो झन् महँगो होटल भएको लाग्यो।  उसले हामी यसै रेटमा ब्रेकफाष्ट पनि दिन्छौं भन्यो तर पनि हामीलाई मन माफिक लागेन। 

हामी रेलवेस्टेशनमा पुग्यौं।  त्यहाँस्थित टुरिस्ट सूचना केन्द्रमा पुगेर सोध्दा पनि हाम्रो अनुकुल होटल पाइएन।  त्यहाँ सोध्नका लागि पनि क्यू लाग्नु पर्दोरहेछ।  हामी एकछिन अलमलमा पर्‍यौं। 

बर्लिनमा रन्जितलाई फोनमा सोध्यौं।  उसले त्यहाँ मेसी एयरपोर्ट नजिक आइबिआएस होटलमा कोठा खाली छ भनेर भन्यो।  हामी ट्याक्सी लिएर होटलमा पुग्दा लन्चको समय भइसकेको थियो।  ट्याक्सीको भाडा र होटलको रेट जोड्दा हामीले बस स्टेशन नजिकको होटलको भन्दा पनि बढी तिर्नुपर्‍यो।  अर्को कुनै विकल्प नभएकाले होटल बुक गर्‍यौं।  अनि घुम्न निस्कियौं।  दश मिनेट हिँडेपछि ट्रामको स्टेशन रहेछ।  हरेक दश मिनेटमा एउटा ट्राम आउने जाने गर्दथ्यो। 

हामी ट्राम चढेर जुरिक शहरको दृश्यावली हेर्न थाल्यौं।  ट्रामको अन्तिम स्टेशनसम्म पुग्यौं तर हाम्रो टिकटको समय पुगिसकेको थियो।  यसै क्रममा एउटी नेपालीसँग भेट भयो।  उनी तीन महिनामात्र बसेकाले उनलाई पनि धेरैजसो थाहा थिएन।  सिन्धुपाल्चोककी रहिछन्।  त्यहाँ पढ्न गएकी।  उनको गन्तब्य आएकाले ओर्लिहालिन्।  थप कुरा हुन पाएन। 

ट्राम स्टेशनको टिकट सकिसकेकाले अर्को टिकट लिएर फर्किनु पर्ने वाध्यता थियो।  साथीले मेशिनबाट टिकट लिने कोशिस गरिन् तर सफल हुन सकिनन्।  हामीले ड्राइभरसँग सोध्यौं।  उसले कन्फर्म गरिदियो कि यस टिकटबाट तिमीहरु फर्किन सक्दैनौ अनि हामीलाई नवागन्तुक ठानेर उसले आफू पछाडिको सिटमा बस्न अनुरोध गर्‍यो।  ड्राइभरको सौजन्यमा हामी भ्रमण गर्न थाल्यौं।  करीब एक घण्टासम्म फ्रीमा यात्रा गरेपछि उसले हामीलाई भन्यो, ‘अब तपाईहरु यहाँ ओर्लिनुस र यहाँबाट जानुस। ’

हामी जुरिक शहर परिक्रमा गर्दागर्दै झमक्क साँझ परिसकेकाले मेन रेलवे स्टेशनमा पुग्यौं।  त्यहाँ प्लेटफर्म टिकट लिनु पर्दैन र खुवै चहलपहल हुँदो रहेछ।  बजार पनि रहेछ।  डिपार्टमेन्टल स्टोरमा गएर विन्डो सपिङ्ग गर्न थाल्यौं।  डिनर खाएरै होटल फर्किने निधो गर्‍यौं।  डिनर पछि एकछिन घुम्यौं पनि।  रेलवे स्टेशनमा कतिपय लामो दूरीको ट्रेन लाममा थिए।  सबै कम्पार्टमेन्ट एयर कन्डिशन रहेछन्।  रेलवे गार्डहरु बाहिरै गफ गरिराखेका थिए ट्रेनको समय नभएकाले।  सबै गार्ड युनिफर्ममा थिए।  हवाईजहाजका पाइलट जस्ता। 

साथी भन्न थालिन–‘ढिलो भइसक्यो।  अब ट्याक्सी लिएर जानु पर्दछ नत्र हामी सुरक्षित महशुस गर्दैनौं। ’ मैले अनावश्यक खर्च किन गर्ने भनें।  ‘रातिको बेला मलाई कसैले बलात्कार गर्न खोज्यो भने तपाई के गर्न सक्नुहुन्छ ? यस्ता घट्ना भइरहन्छन् विदेशमा’, उनले सोधिन्।  मैले भने, ‘यहाँ जुरिकमा यस्तो घटना हुँदैन।  स्वीस वासिन्दा सभ्य हुन्छन्। ’

उनी फेरि भन्न थालिन् ‘मसँग थुप्रो पैसा छ कसैले लुट्यो भने तपाई के गर्न सक्नुहुन्छ ?’
उनको तर्कका अगाडि म निरुत्तर भएँ,  ‘ल त जाऊँ ट्याक्सीबाटै। ’
होटलमा पुगेपछि सुत्ने तरखरमा थियौं।  साथीको छिटो निदाउने बानी रहेछ।  जनुसुकै ठाउँमा, जुनसुकै समयमा तर मलाई समस्याको सामना गर्नुपर्दछ जस्तै बसमा र हवाईजहाजमा निन्द्रा लाग्दैन र जुनसुकै बेलामा पनि सुत्न सक्दिनँ।  साथी घुर्न थालिन्।  म फेरी पश्चातापको भुमरीमा फँसे।  यति महँगो होटलमा बसेर पनि सुत्न सकिन भने यत्रो पैसा खर्च गर्नु पनि बुद्धिमानीको काम होइन।  कोठा छाडेर अब कहाँ जाने ? घुर्ने मानिसका साथमा रातभर कसरी नसुति बिताउने ?

समस्याको समाधान निकाल्न भनें, ‘तपाई किन यतिविघ्न घुर्नुहुन्छ ?’ उनी भन्न थालिन, ‘म कहाँ घुर्छु म त नकारात्मक उर्जा फाल्दैछु।  मेरा श्रीमान्ले मेरो सम्पूर्ण सम्पत्ति हडप्न मलाई विष ख्वाएकाले मेरो शरीरबाट त्यो निष्क्रमण क्रिया भइराखेको छ। ’

उनले आफ्ना हात खुट्टा देखाउन थालिन्–‘हेर्नुस यो विषको असर मेरो सम्पूर्ण अङ्गप्रत्यङ्गबाट निस्कन खोजिराखेको छ।  फिजियोथेरापीबाट इलाज गराउँदा पो छिटो आराम भएको छ नत्र यो सबै फुलिसकेको थियो। ’

म निरुत्तर भएर सुत्ने कोशिर गरें तर राम्रोसित सुत्न सकिनँ।  राति नसुत्दा भोलिपल्ट त बिरामी नै हुन्छु।  सहयात्रीसँग सम्झौता गर्नै पर्‍यो।  उनी राम्रोसित सुतिन् तर म सुत्न सकिन।  भोलिपल्ट चेकआउट गर्नुथियो।  ब्रेकफास्ट त के चिया नै नखाई हामीले चेकआउट गर्‍यौं।  र, ट्याक्सीबाट शहरतिर प्रस्थान गर्‍यौं।  साथीले क्रुजको टिकट पनि बुक गराइसकेकाले ९ बजे नै क्रुजमा जानु पर्छ  भनेर हतारहतार ट्याक्सी लिएर शहर पुग्यौं।  साथीले अर्को दिनका लागि बुक गराएकी थिइन् तर राम्रोसित बुकिङ्ग स्लिप नहेरि हतार हतार ट्याक्सीमा बेकारको खर्च गर्न पुग्यौं।  फेरि उनले क्रुजको टिकट चेन्ज गराएर भोलिपल्ट हामी जाने भयौं।  आज हामी सिटी टुर जाने भयौं।  होटल पनि एक दिन पहिला नै बुक गरिसकेकोले होटलमा चेक इन गरेर हामी सिटी टुर जाने भयौं। 

एक दिन पहिला नै क्रुजको टिकट बुक गराई सकेकाले यस्तो हतार हतार यति महँगो होटल बुक गराउने साथी अब पछुताउन थालिन्।  युरोपमा स्टार होटल नै महँगो हुन्छ त्यसमा पनि थ्रीस्टार ! हतारमा बुक गर्नु कति उचित थियो, बुझ्न सकिँन।  क्रुज बुकिङ्ग गरेकाले यस्तो महँगो होटलमा बस्नु बाध्यता आइलागेको थियो। 

हामी होटलमा गएर कफी खायौं र बेलुकासम्म शहर भ्रमण गर्न थाल्यौं।  लन्च किनेर एउटा रुखमुनी बसेर खायौं।  हावाको प्रवाह तीब्र थियो।  घुम्दा घुम्दा बेलुकी भइसक्यो।  बेलुकातिर फेरि हामी मेन रेलवे स्टेशनमा फर्कियौं।  अब त्यो ठाउँ चिरपरिचित नै भइसकेको थियो। 

हामी घुम्दा घुम्दै शहरमा व्यवस्थित ढंगबाट सजाइएको पसलमा पस्न थाल्यौं।  सडक स्वच्छ र सफा।  फुटपाथ पनि प्रशस्त चौंडा थियो।  हामी एउटा  सालिकनिर  पुग्यौं।  साथी फोटोको खुब सौखिन।  उनी फोटो लिनमा फिट, म चाहिँ अनफिट।  भन्न थालिन्– मलाई पहिला थाहा भएको भए म तपाँइसँग आउने थिएन। ’

हदै गरिन्, बाटोमा हिँड्दा अरु मानिसलाई भनेर फोटो लिन थालिन्।  म त छक्क पर्दैै गएँ।  हिँड्दाहिँड्दै र पसल चहार्दाचाहार्दै माग्नेसँग पनि भेट भयो।  एकजना फलफूल खाइराखेको थियो उसको फोटो लिन भनें।  फोटो खिचेको थाहा पाउँदा ऊ आएर हामीसँग भन्न थाल्यो– मेरो फोटो नलिनुस्।  साथीले त अघि लिइसकेकी थिइन्।  उसले पत्तै पाएन।  

सडकका दुवैतिरका पसल हेर्र्दै अगाडि बढिरहेका थियौं।  एउटा चौतारामा केही मानिस बसेर माग्नेले बजाएको संगीतमा झुमिरहेका थिए।  बाजा आधुनिक भए पनि पुरानो थियो तर आवाज एकदम मिठो थियो।  बाजाको मुधुर स्वर सुनेर तिनीहरु केही सिक्का दिँदै विदा भइराखेका थिए।  उसको हात बाजा बनाउँदा बजाउँदै थाकेपछि आफै विश्रामको मुद्रामा बस्दथ्यो।  म द्रवित भइराखेको थिएँ किनभने ऊ परिश्रमपूर्वक केही पारिश्रमिक पाउने आशामा थियो।  अरकेस्ट्रा गर्नेहरु लाखौं कमाउँछन् तर त्यो बुढो माग्ने जीवन निर्वाह गर्न र बटुवाको मनोरञ्जनका लागि बाजा बजाइरहेको थियो। 

हामीले करीब आधा घण्टा मन्त्रमुग्ध भएर उसको मधुर आवाज श्रवण गर्‍यौं।  अनि केही सिक्का दान गरेर अघि बढ्यौं।  बाटोमा पहेँलो पात रुखबाट झरेर हामीलाई जीवनको चिन्ता र शाश्वत सन्देश प्रदान गरिराखेको थियो।  जीर्ण पात निरन्तर झरेको देखेर मलाई हिन्दीका प्रसिद्ध छायावादी कवि सुमित्रानन्दन पन्तको यो काव्य पंक्ति मेरो मानसपटलमा स्मरण भइराखेको थियो।  
    “द्रुत झरो हे
    जगत के जीर्ण पात”

हामी पनि यही रुखको पहेंलो पात जस्तै एकदिन झरेर संसारबाट विलिन हुन्छौं।  पहेंलो पात हाम्रो जीवनको सन्ध्याकालको प्रतीक हो।  मलाई कमसेकम जीवनको यो कटु सत्यको स्मरण हुन थाल्यो तर जवसम्म जीवन छ जिउँदो छु तवसम्म केही न केही कर्म गर्नु हाम्रो कर्तव्य हुन्छ। 

साथीको लिप्सा भौतिक साधन संग्रहमा केन्द्रित भएकाले उनी पसल पसल चाहारेर मनपसन्द चीज वीजको खरिद गरेर सन्तुष्ट हुनु थियो।  मसँग प्रशस्त पैसा पनि थिएन।  मसँग समय विताउने समस्या थियो एक्लै वेवकुफ जस्तो किन फुटपाथमा उभिराख्ने।  म चाहिँ सडकमा उभिएर मानिस अवलोकन गरिराखेको थिएँ।  थरीथरीका मानिस र पर्यटकको हिँडाई हेरिरहें।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad