१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माग पूरा नभई छाड्दिनँ : डा. केसी

 काठमाडौं- दस दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले महाभियोग प्रस्ताव दर्ता, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिलगायत प्रमुख माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् ।

महाभियोग प्रक्रिया सुरुआत र यही अधिवेशनबाट चिकित्सा शिक्षा विधयेक पास गर्नुपर्ने र तत्काल वरिष्ठताका आधारमा डिन नियुक्तिको माग राख्दै अनशन थालेका डा. केसीले बुधबार अनशन नछाड्ने दोहो¥याएका हुन् । संसद् स्थगन भइसकेको र दसैं सुरुआतसँगै कतिपय शुभेच्छुक र सहकर्मीले अनशन स्थगित गर्न आग्रह गरेपछि डा. केसीले माग पूरा नभई अनशन नछाड्ने बताए । ‘मेरो लडाइँ ३ करोड नेपालीका लागि हो,’ उनले भने, ‘म त्यसका लागि कसैसँग झुक्दिनँ र मेरो ज्यानको पर्वाहसमेत गर्दिनँ ।’

पछिल्लोपटक डा. केसीको स्वास्थ्य गम्भीर र जोखिमपूर्ण अवस्थामा पुगेर मुटुमा ठूलो जोखिमको अवस्था आएको भन्दै उपचारमा संलग्न चिकित्सकले अनशन रोक्न वा उपचार स्वीकार्य आग्रह गरे पनि डा. केसीले अटेरी गर्दै आएका छन् ।

‘म प्रत्येकपटक एक्लै सत्याग्रह थाल्छु र कसैलाई पनि मलाई सहयोग गर भन्दिनँ,’ डा. केसीले भने, ‘कसैको सहयोग गर्नु र नगर्नुले मलाई फरक पार्दैन ।’

उनले सरकारले यसअघि सम्झौता गरिसकेको माथेमा प्रतिवेदनका आधारमा सिट र शुल्क निर्धारण, वरिष्ठताका आधारमा डिन नियुक्तिजस्ता विषयमा समेत सरकार पन्छिन खोजेको छ ।

प्रकाशित: २० आश्विन २०७३ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App