१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक बनाउन सहयोग गर्नेको सम्मानमा शिलालेख

दाताको सम्मानमा बनाइएको शिलालेख उद्घाटन गर्दै प्रदेशसभा सदस्य राजन राईलगायत। तस्बिर : नागरिक

खोटाङ – खोटाङको दुर्छिममा क्षेत्रीय सडक निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताको सम्मानमा शिलालेख स्थापना गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको दलस्वर चोकदेखि सुनकोसीको बतासेघाट जोड्ने ‘होलेसुङ–जनकराज राई मार्ग’ का लागि आर्थिक सहयोग गर्ने दाताको सम्मानमा शिलालेख स्थापना गरिएको हो।

उदयपुरबाट त्रि–धार्मिकस्थल हलेसी र सगरमाथा जोड्ने छोटो मार्गका रुपमा स्थापित क्षेत्रीय सडक निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताको सम्मानमा दुर्छिमस्थित बोहेम्मामा स्थापना गरिएको शिलालेख बिहीबार प्रदेशसभा सदस्य राजन राई र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले उद्घाटन गरे। सडक निर्माणका लागि आर्थिक सहयोग गर्ने चन्दादाताको नामवली शिलालेखमा उल्लेख गरिएको छ। शिलालेख राखिएको ठाउँमा पार्कसमेत बनाई शिलालेख पार्क नाम दिइएको छ।

‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौं’ भन्ने नारासहित खोटाङ तथा खोटाङबाहिर ३ सय ७८ दाताको आर्थिक सहयोगमा २०६९ चैत ५ गते दुर्छिमको दलश्वरचोकदेखि सुरु गरिएको सुनकोसी किनारको बतासेघाट जोड्ने १३.२७ किलोमिटर सडक २०७२ जेठ ९ गते पूरा भएको थियो। शिलालेखमा ५ हजारदेखि बढीमा २२ लाख ५४ हजार २ सय ३७ रुपैयाँ आर्थिक सहयोग गर्ने १ सय ७८ दाताको नाम समावेश छ। सडकका लागि ५ हजारभन्दा कम आर्थिक सहयोग गर्ने दाताको नामवली भने होलेसुङ–जनकराज राई मार्ग स्मारिकामा प्रकाशित गरिएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडक खण्डमा पर्ने दुर्छिमको दलस्वर चोकबाट छुटेको सो सडक करिब ६१ लाख ९० हजार रुपैयाँमा पूरा भएको हो। यो सडक ‘सरकार तथा विदेशी दाताबिना पनि विकास गर्न सकिन्छ’ भन्ने उदाहरण बनेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले बताए।

करिब चार सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढी आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो। समाजसेवी जनकराजले २२ लाख ५४ हजार २ सय ३७ रुपैयाँ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ। सडक निर्माणका लागि तत्कालीन दुर्छिम गाविसबाट २ लाखको हाराहारीमा मात्र प्राप्त भएको थियो। बाँकी रकम दाताबाट गच्छेअनुसार जुटाइएको हो। स्थानीय समुदायले निर्माण गरेको कच्ची सडकलाई सरकारले पिचका लागि ध्यान दिनुपर्ने स्थानीय संघर्ष किरातीले बताए।

हलेसीसँग जोडिएको दुर्छिमबाट दक्षिणतर्फ सुनकोसी हुँदै उदयपुर तथा उत्तरतर्फ मंगलटार, दुधकोसी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने निर्माणाधीन सडकले दुर्छिमकै होलेलुङको भग्नावशेष बस्ती र चिहानस्थलसमेत छोएको छ। ‘पुरानो हलेसी’ का रुपमा चिनिने होलेलुङको भग्नावशेष स्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न समेत सडकले योगदान पुर्‍याउने स्थानीय गमिता राईले बताइन्।

कार्यक्रममा सडक निर्माण एवं शिलालेखपार्क निर्माणका क्रममा जग्गा प्रदान गर्ने दुर्छिमका ९९ जनालाई सम्मान गरिएको छ। सडक निर्माण उपभोक्ता समितिले सडक निर्माणमा कलममार्फत योगदान पुर्‍याउने पत्रकारलाई पनि सम्मानपत्रले सम्मान गरिएको छ। कार्यक्रममा नेकपा, कांग्रेसलगायतका दलका नेताहरु सहभागी थिए।

प्रकाशित: २५ माघ २०७५ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App