१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँच अर्बका कोइला कोलकाता बन्दरगाहमा डम्प

काठमाडौं – सिमेन्ट उद्योगका लागि तेस्रो मुलुकबाट आयात गरिएको करिब पाँच अर्ब रुपैयाँको कोइला भारतको कोलकाता बन्दरगाहमा डम्प भएको छ। तेस्रो मुलुकमा उत्पादित वस्तु भारतबाट आयात गर्न नपाउँदा नेपाली सिमेन्ट उद्योगीको अर्बौं रुपैयाँ लगानी डम्प भएको हो। 

सिमेन्ट उद्योगमा क्लिंकर उत्पादनमा प्रयोग हुने कोइला ढुवानीका लागि रेलको र्‍याक नपाउँदा करिब ६ महिनासम्म बन्दरगाहमा अड्किएको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ। नेपाली उद्योगीले दक्षिण अफ्रिका, अस्ट्रेलियालगायत मुलुकबाट कोइला आयात गर्छन्। 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रवराज थापाका अनुसार करिब पाँच अर्ब रुपैयाँ मूल्यको कोइला कोलकातामा अड्किएको छ। ‘कोलकाता ल्याएपछि त्यहाँबाट रक्सौल ल्याउन रेलको र्‍याक पाइँदैन,’ थापाले भने, ‘समयमा ढुवानी गर्न नपाउँदा ठूलो लगानी अड्किएको छ।’

नेपाली उद्योगीलाई दैनिक सात–आठवटा र्‍याक आवश्यक पर्ने भए पनि मुस्किलले एक–दुई र्‍याक मात्र पाउने गरेको संघका महासचिव ताराप्रसाद पोखरेलले बताए। ‘तेस्रो मुलुकबाट आयात गरेपछि ढुवानी गर्न नपाएर कोलकातामै करिब ६ महिना कोइला अड्किन्छ,’ उनले भने, ‘उद्योगीका लागि योभन्दा दुःखको विषय के हुन सक्छ ?’ एक र्‍याकमा  एक लाख तीन हजार सात सय ५० टन कोइला अड्छ।

कोलकाताबाट रक्सौलसम्म रेलबाट ल्याउने भएकाले समयमा ढुवानी गर्न नपाउँदा त्यहाँ राखेबापत उद्योगीले विभिन्न शीर्षकमा रकम तिर्नुपर्छ। यसले गर्दा उद्योगीको लागतसमेत बढेको छ। तेस्रो मुलुकबाट आयात गरेको कोइला रक्सौल भन्सारबाट मात्र आयात हुन्छ। पोख्रेलका अनुसार क्लिंकर उत्पादन क्षमताको करिब १५ देखि २० प्रतिशत कोइला प्रयोग हुन्छ। यहाँ सञ्चालित १८ उद्योगले क्लिंकर उत्पादन गर्दै आएका छन्। 

भारतबाटै कोइला खरिद गर्न सकिने व्यवस्था मिलाए सिमेन्ट उद्योगलाई ठूलो राहत हुने उद्योगी बताउँछन्। ‘भारतबाट कोइला खरिदको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छौं,’ महासचिव पोखरेलले भने, ‘यसले लागतसमेत घटाउँछ।’

भारतका व्यापारी नेपाली सिमेन्ट उद्योगलाई कोइला बेच्न तत्पर रहेकाले सरकारले अनुमति दिनुपर्ने उद्योगीको माग छ। ‘भारत सिमेन्टको ठूलो बजार हो,’ पोखरेलले भने, ‘सरकारले अनुमति दिए भारतबाट ल्याउन सकिन्छ।’
भारतबाट खरिद गर्न पाए उत्पादन लागत घट्ने उद्योगी बताउँछन्। रक्सौलमात्र नभएर विराटनगर जोगवनी, भैरहवाको सुनौली, नेपालगन्जको रुपैडिहा नाकाबाट पनि ल्याउने वातावरण मिलाउन उद्योगीको आग्रह छ। अहिले रुपन्देहीका उद्योगीले वीरगन्जको बाटो ट्रकबाट ढुवानी गरेर ल्याउँदा लागत बढेको छ। 

मुलुक सिमेन्टमा आत्मनिर्भर हुने तयारीमा रहेकाले भारतबाट कोइला आयात गरेर उत्पादन लागत घटाए निर्यात गर्न सहज हुने संघले जनाएको छ। अहिले मुलुकमा करिब ९० लाख मेट्रिक टन सिमेन्ट खपत हन्छ। ८५ लाख टन स्वदेशी सिमेन्ट प्रयोग भइरहेको थापाले बताए। ‘मागको ९५ प्रतिशत सिमेन्ट स्वदेशी उद्योगले नै उत्पादन गरेका छन्,’ थापाले भने, ‘पाँच प्रतिशतमात्र भारतबाट आयात हुन्छ।’ यो वर्षनै मुलुक आत्मनिर्भर हुने संघले जनाएको छ। 

सबैतिर पूर्वाधार निर्माणका परियोजना अघि बढेकाले सिमेन्टको खपत बढेको छ। नेपालमा पूर्वाधार निर्माणअन्र्तगत सडक, सिँचाइ, जलविद्युत् आयोजना, सहरीकरण बढेकाले सिमेन्टको बजार पनि बढिरहेको छ। प्रतिवर्ष १० प्रतिशत सिमेन्टको माग बढ्दै गएको छ। 

सिमेन्ट उद्योगमा करिब दुई खर्ब लगानी छ। सिमेन्ट उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अहिले मुलुकमा एक खर्ब ५० अर्ब रुपैयाँको सिमेन्ट खपत हुन्छ। आगामी आर्थिक वर्ष ०७६÷७७ सम्म मुलुकमा एक करोड १० लाख मेट्रिक टन उत्पादन पुग्ने र स्वदेशी उद्योगको उत्पादन क्षमता एक करोड ७० लाख पुग्ने संघले जनाएको छ। 

स्वदेशी उद्योगहरु सिमेन्ट निर्यात गर्ने तयारीमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन्। ‘राज्यले उपयुक्त नीति बनाए निर्यात गर्न सक्छौं,’ अर्घाखाँची सिमेन्टका सञ्चालक रहेका मुरारकाले भने, ‘सिमेन्ट उत्पादनमा स्वदेशी कच्चा पदार्थ र श्रमको उपयोग गरी ८५ प्रतिशत भ्यालु एड हुने भएकाले निकासी गरेर व्यापार घाटा कम गर्न सकिन्छ।’

सिमेन्टमा मात्र नभएर उद्योगमा प्रगोग हुने क्लिंकरमा पनि मुलुक आत्मनिर्भरतातर्फ उन्मुख छ। अहिले यहाँका उद्योगलाई आवश्यक पर्ने ६० प्रतिशत क्लिंकर नेपालमा उत्पादन र बाँकी ४० प्रतिशत भारतबाट आयात भइरहेको छ।  

स्वदेशी उद्योगीले लगानी बढाएर क्षमता विस्तार गर्दैछन्। नेपालमा दुईथरी उद्योग छन्। एउटा क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गर्ने र अर्को यहीँको चुनढुंगाबाट क्लिंकर उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने।

प्रकाशित: २५ माघ २०७५ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App