१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिनमाथि अनियमितताको अभियोग

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुम। तस्बिर  : एजेन्सी

माले – माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुमलाई अनियमितातको अभियोग लगाइएको छ।

पूर्वराष्ट्रपति यामिनलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्बन्धी अभियोग लगाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। 

माल्दिभ्स लोकतान्त्रिक पार्टीका हमिद अब्दुल घाफुरले ट्विट गर्दै यामिनलाई चोरी, घुस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाइएको उल्लेख गरेका छन्। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार माल्दिभ्सको प्रहरीले महान्याधिवक्ताको कार्यालयमार्फत यामिनविरुद्धको मुद्दा दर्ता गरेको हो। 

मुद्दा दर्ता भएपछि प्रहरीले पूर्वराष्ट्रपति यामिनविरुद्धका अभियोगमा अनुसन्धान सुरु गर्न लागेको स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। 

अनुसन्धान अधिकारीहरूले यामिनविरुद्धका विवरण प्रहरी कार्यालयमा दर्ता गराइरहेका छन्। यामिनले माल्दिभ्सको राष्ट्रपतिका रूपमा रहँदा गरेका अनियमिततासम्बन्धी विवरणहरू विभिन्न तरिकाबाट संकलन भइरहेको अधिकारीहरुले बताएका छन्।   

माल्दिभ्सका नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले गत महिना एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यामिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाण भएमा उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको थियो। पूर्वराष्ट्रपति यामिनले वा उनको मन्त्रिपरिषद्का सदस्यमध्ये जोसुकैले जुनसुकै बेला गरेको अनियमिताबारेमा विवरण भए सो विवरण उपलब्ध गराउन वर्तमान राष्ट्रपति सोलिहले जारी गरेको वक्तव्यमा आग्रह गरिएको थियो। 

वक्तव्यमार्फत गरिएको आह्वाननुसार प्राप्त अनियमिततासम्बन्धी केही विवरण राष्ट्रपतिको कार्यालयले जनवरी महिनाको सुरुमै सार्वजनिक गरेको थियो। गत वर्षको सेप्टेम्बर २३ मा भएको राष्ट्रपतीय निर्वाचनबाट सोलिह माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका थिए। अहिले भ्रष्टाचारको अभियोग लागेका पूर्वराष्ट्रपति यामिनले भने निर्वाचनमा धाँधली भएको भन्दै सुरुमा मतपरिणाम अस्वीकार गरेका थिए। देशको सर्वोच्च अदालतको फैसलापछि मात्रै उनले आफ्नो पराजयलाई स्वीकार गर्दै सोलिहलाई राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए।

यामिनले यसअघि सन् २०१३ मा सोही अदालतमा आफ्नो पदीय प्रभाव पार्दै प्रतिपक्षी उम्मेद्वारको मतभन्दा सामान्य बहुमत पुष्टि गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याएको दाबी छ। त्यसपछि आफ्नो विरोधमा उभिने सशक्त प्रतिपक्षीलाई जेल पठाउने र देश निकाला गर्नेजस्ता निर्णय लिँदै कडा शासकका रूपमा प्रस्तुत यामिन प्रस्तुत भएका थिए। दक्षिण एसियाको सानो मुलुक माल्दिभ्समा पछिल्लो समय प्रतिशोधको राजनीति हावी हुँदै गएको राजनीतिक विश्लेषकहरुले बताएका छन्। 

 

प्रकाशित: २५ माघ २०७५ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App