१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे : भट्टराई

फाइल फाेटाे

भकुण्डे(काभ्रे) – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुले डेढ वर्षसम्म पनि प्रदेशको नामाकरण गर्न नसक्नु संघीयता कार्यान्वयनको चुनौती रहेको बताएका छन्। ‘संविधानमा भएका ७ वटा प्रदेशको नामकरणसमेत हुन नसक्नु नसक्नु बिडम्बना हो। एउटा प्रदेश बाहेक ६ वटै प्रदेशमा एउटै पार्टीको सरकार छ। त्यति हुँदासमेत तपाईंहरू निर्णय गर्न सक्नुहुन्न,’ पार्टीको जनसम्वाद यात्राको नवौं दिन काभ्रेको भकुण्डेमा आयोजित अन्तक्र्रियामा उनले भने।

तीनवटा प्रदेशले नामकरण गरेकोमा समेत अचम्म लागेको भट्टराईको भनाई छ, ‘कर्णाली प्रदेश त आफ्नै भाषा, जातीय संस्कृति भएको प्रदेश भएकाले त्यसको समस्या भएन। तर, सुदूरपश्चिम प्रदेश रे, बडा अचम्म लाग्छ। काठमाडौंलाई केन्द्र मानेर पो सुदूरपश्चिम भएको। माथिल्लो भेगमा खसआर्यको बाहुल्य छ, त्यहाँ थारूहरूलाई लगेर जबर्जस्ती मिसाइएको छ। नाम राखेको छ, सुदूरपश्चिम। यस्तो पनि नामकरण हुन्छ ?’ उनले थपे।

डा. भट्टराईले आफ्नै प्रदेशको नामकरणलाई लिएर आपत्ति जनाए, ‘मेरै प्रदेश (गण्डकी) मा तमुहरूको बाहुल्य छ। बूढीगण्डकीदेखि कालीगण्डकीसम्म बाहुल्य रहेका तमुलाई सम्मान गर्दै नामकरण हुनुपथ्र्यो, तर गरिएन। गण्डकी त महेन्द्रले राखेको नाम हो,’ उनले भने।

अमेरिकाका आधाभन्दा बढी राज्यको नामाकरण जातीय हिसाबले राखिएको दृष्टान्त दिँदै भट्टराईले भने, ‘प्रदेश नम्बर ३ मा नेवार र तामाङको बाहुल्य छ। दुबै क्लष्टरलाई मिलाएर नेवा–ताम्सालिङ नामकरण हुनुपर्छ। यसो हुँदैमा अरु बस्न नपाउने भन्ने होइन,’ उनले भने।

अन्तरक्रियामा नेपाली कांग्रेस काभ्रेका सचिव दिनेश लामाले स्थानीय निर्वाचनलगत्तै प्रदेशको राजधानी काभ्रेमै रहनुपर्ने भनी आफ्नो पार्टीले ‘लबिइङ’ गरेको बताए, ‘हामीले तत्कालीन सबै राजनीतिक दलहरूसहित नागरिक समाज, उद्योगी व्यवसायीको निरन्तरको संवाद र अन्तरक्रियामार्फत काभ्रेमा प्रदेश राजधानीका लागि पहल गरेका थियौं। सबै सरोकारवालाहरु केन्द्रमा डेलिगेसनसमेत गएका थियौं। सुगमता, भौतिक पूर्वाधार, सडक सञ्जाललगायतले काभ्रे उपयुक्त रहेको हाम्रो धारणा कायमै छ,’ उनले थपे।

प्रकाशित: २४ माघ २०७५ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App