१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

फागुन १५ भित्र सुरुङको ब्रेक थ्रु

भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्यमा संलग्न नेपाली र चिनियाँ कामदार।  तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत –  राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण अन्तिम चरणमा पुगेको छ। नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम)ले मंगलबारसम्म ११ हजार एक सय मिटर सुरुङ निर्माण गरेको छ। आयोजनाले फागुन १५ भित्र ‘ब्रेक थ्रु’ (निर्माण सम्पन्न) गर्ने तयारी गरेको छ। सुरुङको लम्बाइ १२ हजार मिटर हो। ‘अब नौ सय मिटर सुरुङ निर्माणको काम बाँकी छ, टनेल ‘एक्जिट’का लागि भेरीको चिप्लेमा प्लेटफर्म निर्माण सम्पन्न गरिसकेका छौं,’ आयोजना प्रमुख सञ्जीव बरालले भने, ‘फागुन १५ भित्र टनेल निर्माणको काम सम्पन्न हुन्छ।’

आयोजनाका अनुसार टनेल निर्माणको काम सम्पन्न भएपछिको तीन महिना ‘फिनिसिङ’मा समय लाग्नेछ। ‘टनेलभित्रका केही संरचना हटाउन र सरसफाइ गर्न तीन महिनाको समय अनुमान गरेका छौं,’ आयोजना प्रमुख बरालले भने, ‘फिनिसिङसँगै विद्युत्गृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको कामलाई तीव्रता दिन्छौं।’

आयोजनाले २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो। हात्तीखालदेखि ६ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको ‘रिक्सजोन’ सहजै पार भएकाले लक्ष्यभन्दा एक वर्षअगावै सुरुङ निर्माणको काम सम्पन्न हुन लागेको आयोजनाले जनाएको छ। यो आयोजनाको सुरुङमा २०७३ कात्तिकदेखि टिबिएमले काम सुरु गरेको थियो। टनेल निर्माणको जिम्मा चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) ले लिएको छ। भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको छ। सुरुङ निर्माणका लागि करिब सात सयजना नेपाली र ८० जना चिनियाँ कामदारले दुई सिफ्टमा काम गरिरहेका छन्।

आयोजनाले सुरुङ निर्माणसँगै भेरीको चिप्लेमा बाँध (ड्याम) निर्माण र हात्तीखालमा विद्युत्गृह (पावरहाउस) निर्माणका लागि प्रक्रिया सुरु गरेको छ। सिँचाइ विभागले ड्याम र पावरहाउस निर्माणका लागि फागुन १० गतेको अन्तिम मिति राखेर टेन्डर आह्वान गरेको छ।

३३ अर्ब १९ करोड लाग्ने
भेरी–बबई बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न हुँदासम्म ३३ अर्ब १९ करोड रुपियाँ खर्च हुनेछ। सिँचाइ विभागले संशोधन गरेको गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल लगायत काम सम्पन्न गर्न उक्त रकम खर्च हुनेछ। आयोजनाको टनेल निर्माणका लागि हालसम्म सात अर्ब रुपैयाँ खर्च भएको छ। ‘प्राविधिक अध्ययनपछि पूर्ण रुपमा आयोजना सम्पन्न हुँदासम्म उक्त रकम खर्च हुनेछ,’ आयोजना प्रमुख बरालले भने, ‘संशोधित गुरुयोजना अनुसार तोकिएकै समयमा काम सम्पन्न गर्ने लक्ष्य लिएका छौं।’ संशोधित गुरुयोजना अनुसार सन् २०२० भित्रमा आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आउने उल्लेख छ। गुरुयोजना अनुसार भेरीको पानी बबईमा खसाल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गरिने छ। एक सय १४ मिटर लामो ब्यारेज १४ मिटर अग्लो हुनेछ।

प्रकाशित: २४ माघ २०७५ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App