१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युवाको आशालाग्दो उदय

अविनाश बोहोरा

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न दोस्रो एकदिवसीय शृंखला जितेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै कप्तान पारस खड्काले युवा खेलाडीको खुलेर प्रशंसा गरे।

पारसले युवा खेलाडीलाई प्रशंसाका शब्द खर्चिंदा पहिलो पटक टोलीमा अटाएका अविनाश बोहोरा उपस्थित सबैका पर्खाइका पात्र थिए। हुन पनि किन नहुनु, एकदिवसीय शृंखलाका तीनै खेलमा टोलीमा अवसर नपाएका अविनाशले आयोजक युएईविरुद्ध ट्वान्टी–२० मा भने प्रभावशाली छाप छोडेका थिए। जसका कारण उनी पहिलो शृंखलामा नै ‘म्यान अफ दि सिरिज’ को हकदार बने। उनले पाएका अवसरलाई भरपूर सदुपयोग गर्दै आफूलाई सिद्ध पनि गरे।

सन्दीप जोरा, पवन सर्राफ, भीम सार्कीसहित चार नयाँ सदस्यका रूपमा टोलीमा अटाएका अविनाशको प्रदर्शन कप्तान पारसले खर्चिएका शब्दजत्तिकै साँच्चै प्रशंसायोग्य थियो। चारमध्ये पवन सर्राफले युएईविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरे भने सन्दीप र अविनाशले ट्वान्टी–२० मा खेल्ने मौका पाएका थिए। भीम सार्की राष्ट्रिय टोलीमा परे पनि आयोजकविरुद्ध खेलमा पहिलो रोजाइमा परेनन्। पहिलो पटक सिनियर टोलीको जर्सी पहिरिएका अविनाशले प्रतियोगिताको सहभागिता आफूलाई निकै अविस्मरणीय भएको बताए।

सन्दीप जोरा

‘नयाँ कन्डिसन भएकाले एक्कासि खेल्न निकै गाह्रो महसुस भयो,’ अविनाशले भने, ‘एकदिवसीय शृंखलामा अवसर नपाए पनि मैले निरन्तर मिहिनेत भने गरिरहें। ट्वान्टी–२० शृंखलामा पाएको अवसरलाई प्रमाणित गर्न पाउँदा अत्यन्तै खुसी छु। आगामी दिनमा पनि टोलीका लागि सक्दो योगदान दिन सधैं तयार छु।’

त्यस्तै अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा अर्धशतक पूरा गर्ने कान्छा खेलाडी बनेका सन्दीप जोराले एकदिवसीय खेलमा अवसर पाए प्रमाणित गर्ने बताए। युएईविरुद्धको पहिलो ट्वान्टी–२० खेलबाट डेब्यु गरेका सन्दीपले पहिलो खेलमा अविजित ५१ रन प्रहार गर्दै आफ्नो दरिलो उपस्थिति प्रमाणित गरेका थिए।

पवन सर्राफ

‘आइसिसी एकेडेमीको मैदान काठमाडौंको भन्दा राम्रो थियो। जसका कारण ब्याटिङ मेरा लागि सहज बन्यो,’ सन्दीपले भने। यता एकदिवसीय शृंखलामार्फत राष्ट्रिय टोलीबाट डेब्यु गरेका पवनले अवसर पाए पनि स्वाभाविक प्रदर्शन गर्न नसकेको बताए।

गत वर्ष आइसिसीबाट एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग शृंखला खेल्दै एकदिवसीय क्रिकेटको सुरुआत गरेको थियो। नेदरल्यान्ड्सँगको पहिलो शृंखला बराबरीमा सकाएको नेपाली टोलीले दोस्रो खेलमा भने युएईविरुद्ध शृंखला २–१ ले पक्षमा पार्दै पहिलो एकदिवसीय जित निकाल्न सफल भएको हो।

प्रकाशित: २४ माघ २०७५ ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App