१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भेनेजुएला प्रकरणबाट सरकारले पाठ सिक्याे : मन्त्री ज्ञवाली

काठमाडाैं - परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले भेनेजुएला प्रकरणबाट सरकारले पाठ सिकेको बताएका छन्। 'कुनै पनि दुई राष्ट्रका आन्तरिक मामलामा बोल्दा धैर्यता गर्नुपर्ने र उपयुक्त समय कुर्नुपर्ने पाठ सरकारले सिकेको छ' उनले भने।

साप्ताहिक कार्यक्रम 'नागरिक फ्रन्टलाइन' मा राजाराम गौतमसँग कुरा गर्दै मन्त्री पौडेलले कुनै पनि देशका नागरिकमा नै सार्वभौमिकता सुरक्षित रहने भएकोले सम्बन्धित विषयको निर्णय त्यहीँका जनताले गर्ने बताए। उनले भेनेजुएला प्रकरणमा सरकारको दृष्टिकोण अपरिपक्व नरहेको जिकिर गरे। 'सरकारको दृष्टिकोण अपरिपक्व छैन। सरकार स्थापित मान्यता अनुसार नै चलेको छ। त्यहीका जनताले यो समस्या समाधान गर्नुपर्छ।' मन्त्री ज्ञवालीले भने।

नेकपाका अध्यक्ष दाहालले विज्ञप्ती जारी गरेपछि सरकाले आफ्नो धारणा सार्वजनिक गरेकाे भन्दै उनले यो विषयलाई बारम्बार उठाइरहन आवश्यक नभएको  बताए। उनले सरकार र पार्टीको धारणा कुनै पनि विषयमा  फरक रहन सक्ने बताए। 'अध्यक्ष दाहालको वक्तव्य पार्टीको धारणा थियो, सरकारले यो विषयमा आफ्नो स्पष्ट धारणा राखिसकेको छ' उनले भने।

संयुक्त राष्ट्रसंघका स्थापित मान्यता अनुसार सरकार अघि बढेको बताउँदै उनले असंलग्न राष्ट्रको अवधारणा अनुसार  नै आफुहरुले सबै राष्ट्रसँग सम्बन्ध अघि बढाएको बताए। उनले अमेरिका नेपालको असल मित्रराष्ट्र भएको प्रष्ट पारे। नेपालले दौत्य सम्बन्ध कायम गरेका १ सय ६३ देशलाई नै आफ्नो मित्र ठानेको बताउँदै उनले अमेरिका आफूहरुको महत्वपूर्ण विकास साझेदार राष्ट्र भएको बताए। 'अमेरिका हाम्रो महत्वपूर्ण विकास साझेदार राष्ट्र हो।

अमेरिका नेपालले दौत्य सम्बन्ध स्थापित गरेको दोस्रो मुलुक पनी हो। विगत ७१ वर्षदेखि अमेरिकाले हामीलाई विविध क्षेत्रबाट सहयोग पुर्याउँदै आएको छ। अमेरिकासँगको हाम्रो सम्बन्ध उच्च स्थानमा रहेको छ।' उनले भने। राष्ट्रबीचको सम्बन्ध विचारधाराबाट प्रभावित नहुने बताउँदै मन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्ध, हित र पारस्परिक सहयोगका आधारमा दिशानिर्देशित हुने बताए।

प्रकाशित: २३ माघ २०७५ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App