१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एनआरएनएको एकीकृत बस्ती निर्माण शुक्रबार शिलान्यास हुँदै, ६१२ घर बन्ने

लाप्राकमा भूकम्पपीडितका टहरा

काठमाडौं— गत वर्ष गएको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने एकीकृत नमुना बस्तीको शुक्रबार शिलान्यास हुने भएको छ। गोरखाको लाप्राकको गुप्सीपाखामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यको शिलान्यास गर्नेछन्।

६१२ घर सहित एकीकृत नमुना बस्तीमा बाटो, खानेपानी, बिजुलीलगायत पूर्वाधार समेत निर्माण गरिनेछ।

‘भूकम्पको केन्द्रविन्दूमै निर्माण गर्न लागिएको एकीकृत नमुना बस्तीको शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीज्यूले सहभागी हुने बचन दिनु भएको छ’, एनआरएनएका कार्यकारी निर्देशक राजेशसम्शेर राणाले भने, ‘पुनःनिर्माणमा एउटा सन्देश पनि हुने भन्दै उहाँले उपस्थितिको बचन दिनुभएको हो।’

सरकारले लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्याङ्क संकलन गरेको छ। पुरानो बस्ती रहेको ठाउँ प्राबिधिक हिसावले वस्ती राख्न उचित नभएपछि सो वस्तीको केही माथि गुप्सीपाखामा एनएनएले ३२६ रोपनी क्षेत्रफलमा नयाँ बस्ती विकास गर्न लागेको हो। ६१२ घर सहित एकीकृत नमुना बस्तीमा बाटो, खानेपानी, बिजुलीलगायत पूर्वाधार समेत निर्माण गरिनेछ।

गत वैशाखमा लाप्राकमै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थीतिमा पुनःनिर्माण प्राधिकरण, शहरी विकाश मन्त्रालय र गैरआवासीय नेपाली संघबीच नमुना बस्ति निर्माणको समझदारीपत्रमा हस्ताक्षर भएको थियो। पाँच महिना लगाएर एनआरएनएले एकीकृत बस्ती निर्माणको गुरुयोजना तयार पारेको हो।

संसारभरि छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएले भूकम्प लगत्तै राहत तथा उद्धारमा सक्रिय रुपमा काम गरेको थियो। एनआरएनए अध्यक्ष शेष घलेले नेपालको पुनःनिर्माण र नवनिर्माणमा सच्चा साझेदार बन्न आफूहरुको उत्कट चाह रहेको बताउँदै आएका छन्।

लाप्राक, गोरखा केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्प गएको थियो। केन्द्रविन्दूमा परेको लाप्राकको बस्ती भूकम्पले चिरा परेर जोखिममा परेपछि सरकारले त्यहाँका बासिन्दालाई गुप्सीपाखामा रहेको सामुदायिक र राष्ट्रिय वनको १८.३२ हेक्टर जमिनमा सारिएको थियो। सोही स्थानमा एनअारएनएले एकीकृत बस्ती निर्माण गर्न लागेको हो।

प्रकाशित: १९ आश्विन २०७३ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App