१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मनलाग्दो भाडा असुल्न नपाएपछि टाटासुमो अभाव

काठमाडौं–दसैं मनाउन आफ्नो घर हेटौंडा जान बिहान ६ बजे नै बल्खु पुगेका अमृत मोक्तानले गाडी चढ्नै पाएनन्। अरु बेला ताँती लागेर बस्ने टाटा सुमो बल्खु बस पार्कभरी एउटै नदेख्दा उनी तीनछक परे।

‘एकाबिहानै सबै सुमो कसरी छुटिसकेछन्?,’ उनी अचम्ममा परे।

अरुबेला हातमा झोला बोकेको यात्रु देख्नासाथ पाखुरामा समाएर तानातान गर्दै आफ्नो गाडीमा हुल्न खोज्ने सुमोका टिकट काउण्टरवालाहरुले वास्तै नगर्दा उनी छक्क परे। झोलागुन्टा बोकेर बल्खु बसपार्क भरी गाडि विनाका यात्रु मात्रै देख्दा उनलाई झनै अचम्म लाग्यो।

‘हैन कहाँ गए त्यत्रा धेरै गाडि ?,’ छेउमा झोला बोकेर उभ्भिइरहेका एक यात्रुसँग कौतुहता पोखे। बल्ल उनले थाहा पाए– गाडिधनीहरुले गाडीहरु नै गायव पारेका रहेछन्। त्यो पनि यात्रुसँग ‘दसैं बोनस’ असुल्न नपाएको निहुँमा।
‘हत्तेरिका ! अब के गर्ने होला,’ अन्यौलमा परे उनी।

‘ऊ त्यो बयोधा अस्पताल छेउमा नागरिक सहायता कक्ष छ, त्यहाँ गएर सोध्नुहोस्,’ छेउका साथीले मोक्तानलाई सुझाए। सहायता कक्ष पुग्दा टिकट लिनेको लाइन उत्तिकै ठूलो भैसकेछ। लाइनमा बसेका एक यात्रु भन्दै थिए, ‘बरु हामी हेटौंडाको लागि ४१४ रुपैयाँको साटो ६ सय तिर्छौं गाडीको व्यवस्था चाँडो गरिदिनु पर्यो सर।’

जवाफमा प्रहरी भन्दै थिए, ‘तपाइँहरु जुनसुकै गाडीमा गए पनि बढी भाडा तिर्नु पर्दैन । बढी लिए ट्राफिक प्रहरीको नम्बरमा फोन गर्नुहोस्, चेक प्वाइन्टहरुमा रोकेर तपाईंले तिरेको बढी भाडा फिर्ता गराइने छ। त्यस्तो गाडीलाई कारवाही हुन्छ।’
समस्या र समाधान गर्ने तरिकाबीचको तालमेल नमिलेको देखेर उनी दंग देखिन्थे।

मोक्तान मात्रै हैन बुधबार बिहान काठमाडौंको बल्खु बसपार्कबाट टाटासुमो चढेर हेडौंडासम्मको करिब ८० किलोमिटर दूरी छिचोल्न चाहने सयौं यात्रु सामुहिक व्यथा हो यो।

करिब ६ सयको संख्यामा १० सिटे टाटासुमो चल्दै आएको यो रुटमा अहिले यात्रुसँग ‘दसैं बोनस’ (बढी भाडा) असुल्न चाहने व्यवसायी, बढी भाडा असुल्न नदिने सरकारी तथा सुरक्षा निकायबीचको चेपुवामा परेर यात्रुले समस्या भोगिरहेका छन्।

दसैंका यात्रु लिएर बाहिरिएका सुमोहरु रित्तै काठमाडौं फर्कनु पर्ने भएकोले पनि आफूहरुलाई साविक भाडामा चलाउँदा घाटा हुने सुमो कम्पनीहरुको साझा संगठन जीप समन्वय समितिका अध्यक्ष गुञ्जमानसिंह बस्नेतको गुनासो छ।

‘रित्तै फर्कनुपर्दा घाटा हुन्छ, तर पनि हामीले सक्ने सेवा दिइरहेका छौं,’ उनले भने, ‘निर्माणधिन अवस्थामा भएकोले ४० किलोमिटर बाटोमा करिब २ घण्टा लाग्छ। बीचबाटोका यात्रु नचढाए स्थानीयले बस चल्नै नदिने, चढाए प्रहरीले कारवाही गर्ने, बीचबीचमा ५–७ ठाउँमा प्रहरीले चेक गर्ने लगायतका व्यवसायीले भोगेका अनेक समस्या सरकारले बुझ्नु पर्छ।’

बिहान ४ बजेदेखि नै सुमो छुट्ने, बाटोमा धेरै समय लाग्ने र फर्किंदा ढीलो हुने भएकोले बल्खुमा सुमो नदेखिएको उनको भनाइ छ। यात्रुहरु भने सुमोहरु बल्खुबाट वरपर, कलंकीलगायत ठाउँमा पुगेर बढी भाडामा रिर्जब गरेर लाने गरेका कारण समस्या आएको बताउँछन्।
प्रत्येक कम्पनीको काउन्टरबाट छुट्ने प्रति १० सुमो मध्ये एउटा सुमोलाई नागरिक सहायता कक्षले अतिआवश्यक व्यक्तिहरुलाई टिकट काटेर पठाउने व्यवस्था भए पनि समस्या समाधान भएको देखिँदैन।

सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिसम्मिलित समूहले सेवा दिइरहेको छ। बढी भाडा असुल्नेमाथि प्रहरीको कडाइ, बढी भाडा असुल्न नपाए गाडी नै थन्क्याउने व्यवसायीका कारण यतिबेला दशैंमा घर जाने हजारौं यात्रु मर्कामा परेका छन्।
 

प्रकाशित: १९ आश्विन २०७३ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App