१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

देवदहमा स्मार्ट कृषि गाउँ

बुटवल – रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ स्थित बुद्धनगरमा देशकै पहिलो स्मार्ट कृषि गाउँ बन्ने भएको छ। कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम देवदहबाट सुरु भएको हो। 
बुद्ध मावली देवदहको बुद्धनगरमा मंगबार मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार किसानका खेतमा तरकारीको बिरुवा रोपेर स्मार्ट कृषि गाउँ कार्यक्रम सुरुवात गरेका हुन्। प्रदेशका १२ वटै जिल्लाका ५२ वटा निर्वाचन क्षेत्रमा एक–एक स्मार्ट कृषि गाउँ निर्माण हुनेछ। सम्बन्धित क्षेत्रका सभासद्को सिफारिसमा कृषि मन्त्रालयले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। स्मार्ट कृषि गाउँका लागि प्रदेश सरकारले यो वर्ष २६ करोड बजेट विनियोजन गरेको छ। प्रत्येक निर्वाचन क्षेत्रलाई ५० लाख बजेट छुट्याइएको छ। बाँकी कुल बजेटको २० प्रतिशत स्थानीय तहले लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। 

प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै कृषिलाई पर्यटनसँग जोड्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो। देवदह–९ को बुद्धनगरमा झन्डै ६३ बिघा खेतीयोग्य जमिन समेटेर स्मार्ट कृषि गाउँ बनाउन सुरु गरिएको हो। यहाँ विशेषगरी तरकारी र पशुपालनलाई प्राथमिकता दिइएको छ। पहिलो चरणमा एक सय ५० कृषक परिवारले चारवटा कृषक समूह गठन गरी तरकारी खेती गर्नेछन्। 

मंगलबार मुख्यमन्त्री शंकर पोखरेलले स्मार्ट कृषि भिलेज कार्यक्रमको उद्घाटन गर्दै माटोको उत्पादन विशेषता, क्षमता र बजारको मागलाई ध्यानमा राखेर व्यासायिक कृषि गरे किसान निरास हुनु नपर्ने बताए। उनले प्रदेशलाई समृद्ध बनाउने मुख्य अधार कृषि नै भएकाले कृषि पेसाप्रति समर्पित भएर लाग्न किसानलाई आग्रह गरे। प्रदेशमा कृषिलाई सम्मानजनक पेसाको रुपमा स्थापित गराउने प्रतिबद्धता पनि मुख्य मन्त्री पोखरेलले गरे। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रमुख खाद्यान्न तथा अन्य बालीको उत्पादन १० वर्षमा दोब्बर बनाउने लक्ष्यसहित कार्यक्रम अगाडि बढेको बताइन्। कृषि स्मार्ट भिलेजको माध्यमबाटै बुद्ध मावली देवदहमा समृद्धि भित्रिने दाबी गर्दै मन्त्री पौडेलले किसानको सुख दुःखमा मन्त्रालयको सधैं साथ रहने आश्वासन दिइन्। कार्यक्रममा प्रदेश सभासद कृष्ण न्यौपाने, जलपा भुसाल, देवदह नगरप्रमुख हिराबहादुर खत्री, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका डिन जयप्रकास दत्त लगायतले कृषिलाई पर्यटनसँग जोडेर एकीकृत रुपमा अगाडि बढाउन स्मार्ट कृषि भिलेज कोषेढुंगा सावित हुने बताए। कृषि मन्त्रालयका सचिव यामनारायण देवकोटाले  तराईका जिल्लामा विशेषगरी अन्न, तरकारी, पशुपालन र पहाडी जिल्लामा खाद्यान्न र तरकारीसँगै फलफूल, जडीबुटी जस्ता नगदे बालीलाई प्रथमिकता दिइएको बताए। कार्यक्रमले अन्न, तरकारी, फलफूल, जडीबुटी, पशुपक्षी, माछा लगायत सबै पक्ष समेटेर कृषि पेसालाई स्मार्ट बनाउने दाबी देवकोटाले गरे।

देवदहमा सुरु गरीएको स्मार्ट कृषि गाउँ अन्तर्गत पहिलो चरणमा माटो परिक्षण गरी उपयुक्त बालीकालािग किसानलाइ प्रोत्साहन गर्ने र उन्नत बिउबिजन सहुलियतमा उपलब्ध गराइने छ। बिद्युत, खानेपानी,सिंचाइ,सडक जस्ता आवश्यक पुर्वाधार निर्माण गरी कृषि गाउँलाइ आधुनिक प्रविधिसंग पनि जोडिने छ। यो कार्यक्रम लागु भएपछि किसानका खेतमाा प्राविधिक जनशक्ति खटाइने र माटो परिक्षण गरी कुन बाली उपयुक्त हुन्छ भन्ने सम्बन्धमा बिज्ञबाटै जानकारी दिइने छ। जलबायु परिर्वतन र यसले कृषिमा पार्ने असर,उपयुक्त बाली छनौट जस्ता बिषयमा समय समयमाा किसानलाइ अभिमुखीकरण तथा प्रशिक्षणका कार्यक्रम संचालन गरी किसानलाइ कृषि पेशाकालागि दक्ष बनाउने बताइएको छ। यसमा यान्त्रीकिकरणलाइ पनि विशेष जोड दिइएको छ। जल,सिचाइ, मल,प्रविधि र बजार यी पाँच कुरालाइ स्मार्ट बनाउदै तीनलाइ कृषिसंग जोडेर किसानको जीवन स्तर उकास्ने र प्रदेशलाइ कृषिजन्य उपजमा आत्मनिर्भर बनाउने गरी कृषि मन्त्रालयले कार्यबिधि तयार गरेको छ। तराइमा कम्तीमा ५० बिगाह र पहाडमाा २ सय ५० रोपनी खेतीयोग्य जमिनमा यो कार्यक्रम लागु हुनेछ।

प्रकाशित: २३ माघ २०७५ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App