१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रतिपक्षको कांग्रेस र नेपाली क्रिकेट

दक्षिण एशियामा ब्रिटिस उपनिवेशले कैयन् सभ्यता छाडेर फर्किए। त्यसमध्ये राजनीतिमा संसदीय व्यवस्था र खेलमा क्रिकेट पनि हो। ब्रिटिसहरूले बोल्ने अंग्रेजी भाषा दक्षिण एशियामा मात्र सीमित रहेन। यो अन्तर्राष्ट्रिय भाषा भयो।नेपालमा लोकतान्त्रिक व्यवस्था भन्नाले संसदीय व्यवस्था भन्ने नै बुझिन्छ। अहिले नेपाल कम्युनिस्ट पार्टी सत्तापक्ष छ भने नेपाली कांग्रेस प्रतिपक्षमा छ। सत्तापक्षले एकवर्ष पूरा गर्दैछ। एकवर्षमा सत्तापक्षले राजकाजमा खेलेको भूमिकाको मूल्यांकन र चर्चा चलिनैरहेका छन्। यहाँ प्रतिपक्षले एकवर्षमा खेलेको भूमिकाको चर्चा सान्दर्भिक होला। तर त्योभन्दा अगाडि पारस खड्काको नेपाली क्रिकेट टिमले युनाइटेड अरव इमिरेट्समा प्राप्त सफलताको चर्चा जनमानसमा बढी भएकाले क्रिकेटवाट कुरा अगाडि बढाउँ।    

क्रिकेट खेल्ने फर्मेट, नियम र जीत–हारको पद्धतिबारे लेखेर बुझाउने काम सजिलो छैन। यो निरन्तर हेरेर वा आफैँ खेलेर चाँडै बुझिन्छ। यो खेल फुटबल जस्तो सहजै बुझ्न गाह्रै छ। संक्षिप्तमा यो खेलतीन फर्मेटमा खेलिन्छन्। पहिलो र वर्षौँअगाडि सुरु भएको पाँच दिवसीय खेललाई ‘टेस्ट म्याच’ भनिन्छ। सन् १९७५ देखि विश्वकपबाट परिचित एकदिवसीय क्रिकेट ५० ओबरको हुन्छ। र, यताका केही वर्षदेखि टि २० क्रिकेट अर्थात बीस ओबर खेल्ने क्रिकेट सर्वाधिक लोकप्रिय र आर्थिक दृष्टिले आकर्षक पनि मानिन्छ।

क्रिकेट खेलको दर्शक पनि तीन किसिमकै छन्। कोही ५ दिनका टेस्ट म्याच रुचाउँछन्। कोही ५० ओबरको एकदिवसीय क्रिकेट र कोही टि २०। कसैलाई सबै फर्मेटको क्रिकेट मनपर्छ। सबै किसिमको क्रिकेट मन पर्नेलाई यो खेलको लट्ट भन्दा पनि हुन्छ। भारतीय इतिहासकार रामचन्द्र गुवा क्रिकेटप्रति अति नै लगाव राख्ने भनी चिनिन्छन्। उनी टि २० लाई ‘लोकल ठर्रा रक्सी’ भन्छन्। टि २० फटाफट हुन्छ र यसमा क्रिकेटको चाव अर्थात सम्पूर्ण आयामभन्दा ब्याटबाट निस्कने चौका र छक्काको मात्र मजा लिन्छन् दर्शकले भन्ने उनको मान्यता छ। त्यस्तै उनी पचास ओबरलाई सिसीमा हालेको ‘लोकल व्रान्ड रक्सी’ भन्छन्। अर्थात यो फर्मेट पनि अपुरो हो र यसमा अन्तिमको १० ओबरमात्र रोमाञ्चक हुन्छ भन्छन् उनी। सम्पूर्ण क्रिकेट भनेको ‘टेस्ट म्याच हो’ र त्यसमा ‘स्कच’ को स्वाद हुन्छ अर्थात क्रिकेटको सही अर्थमा मजा टेस्ट म्याचबाट आउँछ भन्छन्। मेरो पुस्ता पाँच दिवसीय टेस्ट म्याचको कमेन्ट्री रेडियोमा सुनेर हुर्केको हो। नेपालमा आजको पुस्ता एकदिवसीय र टि २० फर्मेटको क्रिकेट धेरै रुचाउने र बुझ्ने छन्। 

धोनी भारतीय क्रिकेटका ती महान् खेलाडी हुन् जसले भारतीय क्रिकेटलाई नयाँ उचाइमा मात्र पुगाएनन्, सम्य र शालीन पनि बनाए।हाम्रा पारस पनि साँच्चिकै ‘कुल’ छन् अनि सम्य, सुशील र नेपालको हिरो पनि ।

इतिहासकार गुहाको पुस्तालाई क्रिकेटमा परम्परा खोज्दा टेस्ट म्याचमा आनन्द भेट्नु स्वाभाविक हो। तर अहिलेको पुस्तासँग समय छैन। पाँच दिनको खेल खेल्ने र त्यो हेर्ने दर्शक पनि अब क्रमशः विश्वभर नै कम हुँदै गए। त्यसैले दक्षिण एशियामा पाँच दिनको टेस्ट म्याच खेलिँदा स्टेडियम खाली हुन्छ भने अन्य दुई फर्मेटको क्रिकेटमा दर्शकले भरिभराउ हुन्छ रंगशाला।       

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्गाले दुई फर्मेटको क्रिकेट अर्थात पचास ओबर र बीस ओबरको क्रिकेटमा नेपाललाई एैतिहासिक सफलता दिलाए युनाइटेट अरब इमिरेट्समा। कप्तान पारसको नेतृत्व क्षमता, स्वभाव र प्रदर्शनका कारण उनको तुलना भारतका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीसँग गर्ने गरिन्छ। धोनी भारतीय क्रिकेटका ती महान् खेलाडी हुन् जसले भारतीय क्रिकेटलाई नयाँ उचाइमा मात्र पुगाएनन्, सम्य र शालीन पनि बनाए। धोनीबाट भारतीय क्रिकेट भारतका साना सहर र गाउँ छि¥यो। भारतको गाउँ सहर जोड्यो। धोनीलाई उनको स्वाभावले ‘मि कुल’ बनायो, साइनिङ इन्डियाको होइन भारतको हिरो बनायो। हाम्रा पारस पनि साँच्चिकै ‘कुल’ छन् अनि सम्य, सुशील र नेपालको हिरो पनि ।

नेपालले क्रिकेटमा पाएको ऐतिहासिक सफलताले देशमा कस्तो प्रभाव पर्छ भन्ने कोणबाट संक्षिप्त चर्चा गर्नैपर्ने हुन्छ। अन्यथा दक्षिण एशियाको राजनीति पनि अपुरो हुन्छ। खेलकुदको सफलताले कैयन् राष्ट्रले आफ्नो गुमेको गौरवमात्र पाएका छैनन्, देशले चौतर्फी विकासको यात्रामा फड्को पनि मारेको छ। क्रिकेटको सफलताले राजनीतिक क्षेत्रबाट निराश जनताले ‘नयाँ हिरो’ पाउँछन् आफ्नै देशमा। अहिले त्यही भएको छ नेपाली युवाहरूमाझ। राजनीतिमा युवाहरूको हिरो अकाल भइरहँदा नेपालमा गैरराजनीतिक क्षेत्रबाट युवा हिरोहरू उदाउनेक्रम जारी छ। 

आज अफगानिस्तान जस्तो गृहयुद्धमा फसेको देशमा युवाहरू आफ्नो भविष्य र पहिचान क्रिकेटको ब्याट र बलमा खोज्दैछन्। अफगानिस्तानले गृहयुद्धका बीच पनि क्रिकेटमा गरेको प्रगति आश्चर्यजनक छ। त्यहाँका युवाहरू क्रिकेटको सपना देख्छन्। सपनामात्र होइन आज कैयन् अफगानीहरू अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार खेलाडी भएका छन्। ती हिरो छन् अफगानी युवाहरूका। 

केही वर्षअघिसम्म मुस्लिम आतंककारी विन लादेन हिरो थिए अफगानी युवाहरूका। अहिले क्रिकेटर भएका छन ‘हिरो’। काबुलदेखि कान्धारसम्म क्रिकेटरको फोटो भेटिन्छ अफगानिस्तानमा। यस्तै भएको थियो दक्षिणको श्रीलंका भन्ने देशमा। जातीय गृहयुद्धमा फसेको श्रीलंकाले जब क्रिकेटको विश्वकप जित्यो सम्पूर्ण देश एकढिक्का भएर माथि उठ्ने जाँगर पलायो।  सनथ जयसुर्या, मुथैया मुरलीधरन र महेला जयवर्धने जस्ता क्रिकेटरहरू हिरो भए श्रीलंकाली युवाहरूको।    

डन्डी–बियो नेपालको राष्ट्रिय खेल हो भन्ने कतै सुनिएको थियो। डन्डी–बियोको नयाँ रूप नेपालीहरूले क्रिकेटमा पाएका छन्। क्रिकेट यस कारण पनि नेपाली युवाहरूको आकर्षण हुन सक्छ किनकि भारत क्रिकेटको राजधानी हुँदैछ। कुनै समय क्रिकेटको राजधानी बेलायत थियो तर अहिले भारतको जनसंख्या, अर्थतन्त्र र भारतीयहरूको यो खेलप्रतिको सम्मोहनले क्रिकेटको राजधानी भारत भइसक्यो। भारत सरकार, कर्पोरेट जगत, राजनीतिज्ञ र बलिउड सर्वत्र क्रिकेटको आकर्षण छ भारतमा। नेपालको क्रिकेट विकासका लागि यो सुवर्ण अवसर हो। 

नेपालको हावापानी, भूअवस्थिति र आमनागरिकबीच यो खेलको लोकप्रियताले ‘क्रिकेट पर्यटनको केन्द्र’ नेपाललाई बनाउन सकिन्छ। पारस नेतृत्वको टिमबाट यो सन्देश प्रवाह भइरहेको छ। नेपालको ल्यान्डस्केपलाई क्रिकेट र अन्य खेलकुद पर्यटनसँग जोड्ने हो भने पर्यटकहरूको बसाइँलम्बिन गएर दिगो आर्थिक विकासमा ठूलो टेवा पुग्छ। सन् २०३० सम्म मध्यम आयको देशमा नेपाललाई पुगाउने लक्ष्य प्राप्त गर्ने आधार बन्न सक्छ।   

अहिले कम्युनिस्ट पार्टीले देशमा ब्याटिङगरिरहेको छ। कांग्रेस क्षेत्ररक्षणबाट ब्याटिङको भूमिकामा जान अहिलेको ‘हात्ती सवार’ गतिबाट संभव नै छैन। कांग्रेस कम्फोर्ट जोनबाट बाहिर नआए कम्युनिस्टसँग राजनीति जित्न दशकौँ कुर्नुपर्ने हुन सक्छ।

दक्षिण एशियाका बंगलादेश, पाकिस्तान, श्रीलंका र भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा दबदबा बनाएका छन्। अब त अफगानिस्तान पनि क्रिकेटको शक्ति राष्ट्र हुने तरखरमा छ। कैयन् सन्दीप लामिछाने र सोमपाल कामी उचाइको खेलाडी नेपालबाट उत्पादन हुने वातावरण छ। अनि ती खेलाडीको आर्थिक भविष्य सुनिश्चित गर्ने वातावरण पनि छिमेकमै छ। नेपाल सरकारले क्रिकेट क्षेत्रमा राजनीतिमात्र नगरेर यो खेलप्रति लगाव भएका व्यक्तिलाई व्यवस्थापकीय जिम्मेवारी सुम्पने हो भने नेपाली क्रिकेटको भविष्य सुन्दर छ।  

सतर्कता पनि उत्तिकै जरुरी छ कुनै खेललाई अगाडि बढाउँदा। हेक्का रहोस्, जुन देशको घरेलु क्रिकेटको जग मजबुत हुँदैन, त्यहाँबाट फोकाझैँ केही दिनका लागि खेलाडी र खेल चम्किन्छ तर टिकाउ भने हुँदैन। स्कुल, कलेज र विश्व विद्यालयदेखि खेलको जग बस्ने हो। अनि क्रमशः क्लब, सहर र क्षेत्रीय प्रतिस्पर्धाले खेलाडी उत्पादनको एउटा नचुँडिने शृंखला निर्माण हुन्छ। आज नेपाली क्रिकेटलाई चेनको जरुरत छ।

क्रिकेट खेल मैदानमा खेलिन्छ। मैदान छैनन्। जीत–हारको निर्णय क्यानको पदाधिकारीको बैठकबाट हुँदैन।  जित्न रन बनाउनुपर्छ। विपक्षमाथि सशक्त प्रहार गर्न सक्नुपर्छ र विपक्षका कमी÷कमजोरीमा टेकेर रणनीति तयार गर्न सक्नुपर्छ। अझ आफ्नो विपक्षमा शक्तिशाली टिम छ भने सीमित शक्तिमा व्यापक रणनीति र उत्प्रेरणाले मात्र परिणाम आफ्नो पक्षमा पार्न सम्भव हुन्छ।

नेपालको क्रिकेटझैँ देशको राजनीतिमा अहिले त्यस्तै अवस्था छ। कांग्रेससामु शक्तिशाली प्रतिद्वन्द्वी छ। नेपाली कांग्रेस यतिखेर विपक्षमा छ। कांग्रेस सत्तापक्षको कमी÷कमजोरी र असफलताको रिपोर्ट कार्ड लिएर यो लेख लेखिरहँदा आमसभामार्फत जनताबीच भाषण गर्दैछ। के कांग्रेसको यो रणनीति सही छ ? यसमा प्रश्न गर्ने ठाउँ धेरै छन्। विपक्ष आफ्नो कुरा लिएर जनताबीच जाने कुरालाई ‘बेला न कुबेलाको’ भन्न मिल्दैन होला।  तर पनि रणनीतिकरूपमा कांग्रेसले आफ्नो गृहकार्य कमजोर गरेर जाँदा त्यसको परिणाम प्रत्युत्पादक पनि हुने खतरा रहन्छ। 

सर्वप्रथम कांग्रेस कैयन् मुद्दामा सरकारमाथि क्रिकेटको भाषामा ‘छक्का’ हान्न सक्थ्यो। तर चुक्यो। सिन्डिेकेट अन्त भएन। निर्मला बलात्कार र हत्या प्रकरण रहस्यमय छ। सुन प्रकरणमा ठूलो माछा भेटिएन। सुन पनि भारतमा पुग्यो। होली वाइन प्रकरणमा नेता चूपचाप बसे।  बिमस्टेकमा सेना पठाउने प्रकरणमा हचुवा कूटनीति व्यवहार सरकारले देखायो। संवैधानिक नियुक्ति प्रकरणमा विपक्षी नेताको तेजोवध गर्दा पनि शेरबहादुरले बोल्न सकेनन्। यी त घटनाप्रधान छक्का र चौका हान्ने अवसरहरू कांग्रेसले गुमायो। अवसर गुमाएकोमात्र होइन, सत्तापक्षले हावामा हानेको सट ‘ललिपप’ क्याचका रूपमा आउँदा समात्न सकेन र त्यो छक्का भयो।  

सरकारको नीति तथा कार्यक्रमप्रति मौन बसेर कांग्रेसले समर्थन ग¥यो। यो संसदीय इतिहासमा कहीँ नहुने काम नेपालमा भयो। संघीयता कार्यान्वयनमा सत्तापक्षको बेइमानीलाई मुक समर्थन भइरहेको छ। संवैधानिक नियुक्ति गर्दा सत्तापक्षको मिच्याइँ संविधानमाथिको बल मिच्याइँ थियो। यसमा कांग्रेसले जानकारीमा लियो, विरोध गर्न सकेन। गोविन्द केसी प्रकरण कांग्रेसका लागि सैद्धान्तिक विषय थियो उसले घटनाप्रधानमात्र ठान्यो। 

प्रश्न छ– किन यस्तो भइरहेको छ ?
क्रिकेटको भाषामा भन्दा उमेर ढलेका र ऊर्जा नभएका खेलाडीहरू टिममा हुँदा आउने सबै अवसर पनि गुमेर जान्छन्। कांग्रेसमा अहिले त्यही भइरहेको छ। क्रिकेट जित्न क्षेत्ररक्षण चुस्त र दुरुस्त हुनुपर्छ। त्यसका लागि ‘स्पिड, स्टामिना र स्कोरिङ’ क्षमता चाहिन्छ। शारीरिक र मानसिक तन्दुरुस्तीको अभावमा फिल्डिङ सजाउन सकिन्न। अनि फिल्डर स्मार्ट नभइकन कुनै गेम जित्न संभव छैन।  

अहिले कम्युनिस्ट पार्टीले देशमा ब्याटिङगरिरहेको छ। कांग्रेस क्षेत्ररक्षणबाट ब्याटिङको भूमिकामा जान अहिलेको ‘हात्ती सवार’ गतिबाट संभव नै छैन। कांग्रेस कम्फोर्ट जोनबाट बाहिर नआए कम्युनिस्टसँग राजनीति जित्न दशकौँ कुर्नुपर्ने हुन सक्छ। तसर्थ कांग्रेसले घोडामा सवार गर्न सक्नुपर्छ। तबमात्र पेश आउँछ, राजनीति विस्तार हुन्छ। कांग्रेसले प्रतिपक्षमा कछुवाको चालबाट आफूलाई प्रस्तुत ग¥यो। अहिले आमसभा गर्न कांग्रेस हातीमा सवार भएर गएको छ। जबकि आज कांग्रेसले सरकारलाई जनताप्रति उत्तरदायी र पारदर्शी बनाउन अनि सकारात्मक प्रतिपक्षको भूमिका खेल्न घोडा सवारी नगरी संभव नै छैन। 

कांग्रेसको प्रतिपक्षको भूमिका सुस्त छ, सटिक छैन। मरुभूमिबाट क्रिकेट जितेर फर्केका नेपाली युवाहरू प्रेरणाको स्रोत हुनसक्छन्। तीबाट शिक्षा लिँदै सधैँ क्षेत्ररक्षणमा नबसी ब्याटिङमा उत्रने जमर्को गर्न कांग्रेसका सुस्त खेलाडीहरू परिवर्तन नगरी संभव छैन। हात्तीमा सवार कांग्रेसले घोडसवार कांग्रेसको गति निर्माणको काम अवरुद्ध गरेका छन्। चेतना भया।  
 

प्रकाशित: २२ माघ २०७५ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App