१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘उज्यालो नगर’ बनाउने तयारी

सोलुखुम्बु - सोलु दूधकुण्ड नगरपालिकाले ‘उज्यालो नगर’ निर्माणको तयारी थालेको छ। विद्युत् नपुगेका स्थानमा विद्युतीकरण गर्ने र लोडसेडिङ हटाउन्दै जानेगरी गाउँपालिकाले योजना बनाइरहेको छ। नगर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनी र निर्माणको अन्तिम चरणमा पुगेको अप्पर सोलु लजविद्युत्को ट्रान्सफर्मरबाट ११ केभी प्रसारण जोड्नेगरी अवधारणा अघि सारिएको छ।

हिउँदमा अपुग विद्युत् अप्पर सोलुले उपलब्ध गराउने र बर्खामा सल्लेरी च्याल्साबाट बढी भएको विद्युत् अप्पर सोलु हाइड्रोमार्फत राष्ट्रिय प्रसारण लाइनमा पठाउनेगरी छलफल अघि बढेको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताए। यो अवधारणमा अप्पर सोलु हाइड्रो सकारात्मक देखिएको मेयर शेर्पाको भनाइ छ।

नगरपालिकाको अवधारणा कार्यान्वयनमा आए विद्युत् बाल्दै आएका क्षेत्रमा लोडसेडिङमुक्त गर्ने र बाँकी स्थानमा ग्रामीण विद्युतीकरणको काम गर्ने तयारीमा नगर देखिएको छ। अहिले नगरको कुनिखोप, गोराखानी, टाप्टिङ र केरुङका केही भाग र तिङ्लामा विद्युत्को पहुँच पुगेको छैन। ती क्षेत्रमा विद्युत्को पहुँच पुर्‍याउन नेपाल विद्युत प्राधिकरणसँग छलफल सुरु गरिएको मेयर शेर्पाको भनाइ छ। अप्पर सोलु जलविद्युत्बाट उत्पादन हुने २३.५ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडेर ग्रामीण विद्युतीकरण गर्ने सवालमा छलफल सुरु भएको हो। आफ्नै कार्यकालमा उज्यालो नगर बनाउने तयारीस्वरूप कामलाई अघि बढाइएको शेर्पाले बताए।

सोलु दूधकुण्ड नगरपालिकाले ‘चक्रपथ निर्माण’को तयारी थालेको छ। जन्तरधाम–टाप्टिङ–सोल्नासा–गोराखानी वडा कार्यालय हुँदै डाँडाखर्क मेराङदिङ–भित्ताखर्क–खोरिया–कुनिखोप–जैदु–तामाखानी–चारघरे–तुम्बुक–जुनबेंसी–सोलुङ–टाक्सिन्दुडाँडा–क्याम्जे हुँदै रात्नांगे डाँडा–सिलगुडी–च्याल्सा–घुन्सा–सेकारसिंह–तिङला–पत्ताले सडकलाई नगर चक्रपथका रूपमा विकास गर्नेगरी अवधारणा अघि बढाएको छ।

प्रकाशित: २२ माघ २०७५ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App