१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफको आश्चर्यजनक गोल

रुस्लान थ्री स्टार (नीलो) का कप्तान विक्रम लामा र सशस्त्र प्रहरी बलका डिफेन्डर रमेश दंगाल हेडिङ गर्ने प्रयास गर्दै । तस्बिर : उमेश पुन/नागरिक

पोखरा – फुटबल खेलमा कहिलेकाहीं निकै आश्चर्यजनक गोल हुन्छ। आइतबार पोखरा रंगशालामा त्यस्तै गोल भयो। खेल सुरु भएको ३५ सेकेन्डमै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रुस्लान थ्री स्टारको पोस्टमा गरेको गोल दुवै टिमका लागि आश्चर्यजनक हुन पुग्यो।

त्यही गोलले एपिएफले रुस्लान थ्री स्टारको चुनौती पन्छाउँदै अन्तिम चारको ढोका खोल्दा दर्शकको आशा र भरोसा क्लबको भने मनकामना केवलकार पोखरा कपको पहिलो खेलको यात्राबाटै विश्राम लिन पुग्यो। प्रतियोगितामै सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान एपिएफले राख्ने क्रममा ३५ सेकेन्डमा गोल गर्दै सेमिफाइनल ढुक्क बनायो।

राजीव लोप्चनको ‘कर्भ पास’ मा डी बक्सभित्र ओभरल्यापमा गएका विङ्गर सन्तोष श्रेष्ठले फस्ट बारमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। जुन अग्रता अन्त्यमा जितका लागि पर्याप्त बन्यो। श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेको हातमा टच हुँदैै बारनजिकैबाट भित्र छिरेपछि एपिएफलाई खुसीयाली मनाउने अवसर जुर्यो।

‘सरप्राइज गोल खायौं। त्यसले दबाब सृजना गर्यो। उनीहरूको रोक्ने रणनीति सफल भयो।’

घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने छाप छोडेको रुस्लान थ्री स्टारले ३५ सेकेन्डमै गोल खाएपछि दर्शक पनि आश्चर्यचकित हुन पुगे। सेन्टरबाट आफैंले सुरु गरेको बल राइट (दायाँ) एट्याकिङ डिफेन्सले लङपास दिने क्रममा सशस्त्रले आफ्नो डी बक्स लाइनअघि नै कलेक्ट गर्दै लोप्चनलाई पास उपलब्ध गराएका थिए। लोप्चनले डिफेन्सलाई कटाउँदै श्रेष्ठलाई पास मिलाइदिएका थिए। श्रेष्ठले डिफेन्सलाई ओभरल्याप गर्दै  कलेक्ट गरेको बललाई पोस्टको दिशा दिएपछि एपिएफले खेलमा पहिलो स्कोरिङ गर्यो।

पहिलो हाफमै अग्रता लिएपछि केही खुकुलो बनेको एपिएफ गोल जोगाउन उद्यत देखियो। खेलको २६औं मिनेटमा अर्को गोलको अवसरलाई सशस्त्रले खेर फाल्यो। राजीव लोप्चनले हानेको लेफ्ट सट सेकेन्ड बारनजिकैबाट बाहिरिएपछि प्लेयर बक्सका खेलाडी तथा अफिसियल चुकचुकाएका थिए।

‘सरप्राइज गोल खायौं। त्यसले दबाब सृजना गर्यो। उनीहरूको रोक्ने रणनीति सफल भयो।’ खेलपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने। एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले रणनीतिअनुसार खेल्दा सफल भएको प्रतिक्रिया दिए। उनले भने, ‘गोल त हामीलाई पनि सरप्राइज नै भयो।’ खेलमा म्यान अफ दी म्याचको पुरस्कार एपिएफका डिफेन्स रमेश दंगाल घोषित भए।

पहिलो हाफमा पछि परेको थ्री स्टारले गोलको अवसर सृजना गर्न सकेन। थ्री स्टारका अधिकांश प्रहार एपिएफको डिफेन्स लाइनबाट क्लियर भए, कि त गोलकिपरले बचाए। थपिएको ५ मिनेटमा एपिएफलाई थ्री स्टारले  दबाबमा राख्यो। तर हरेक प्रयासलाई एपिएफले विफल तुल्यायो। दोस्रो हाफको आधा समय डिफेन्सलाई क्लियर गर्न हैरानी हुन पुग्यो। अन्ततः थ्री स्टारमाथि १–० गोल नतिजासँगै एपिएफ मनकामना केवलकार पोखरा कपको अन्तिम चार सुरक्षित बनाउने पहिलो टोली बन्यो।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित पोखरा कपको छैटौं संस्करण मनकामना केवलकार कपको दोस्रो क्वार्टरफाइनल खेल सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पाहुना टोली डाफिन्स क्लब परिवार, क्यामरुनबीच हुनेछ।

प्रकाशित: २१ माघ २०७५ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App