१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लाओसका उपराष्ट्रपति र नेकपा प्रतिनिधिमण्डल भेट

काठमाडौं – नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी)का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग शनिवार राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेटघाट गरेको छ।

भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहना दुवै देशले बुझेको भन्दै आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए। कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीव्र आर्थिक विकासबारे चर्चा गर्दै उनले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामूलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी रहेको बताए।

सो अवसरमा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले नेपालमा शासन सुरु गरेको एक वर्ष भएको, यस अवधिमा जनतामा आत्मविश्वास जागेको, विकासले सही दिशा पक्रिएको र आधार तयार भइसकेकाले अब परिणाम दिने गरी काम भइरहेको चर्चा गर्दै ठूला विकास परियोजनाका लािग लाओसको अनुभव आफूहरूलाई उपयोगी हुने विश्वास व्यक्त गरेका थिए। ‘हामी दुवै अति कम विकसित मुलुक हौँ, भूपरिवेष्ठित छौँ। हामीसँग पुँजी र प्रविधि कम छ। यस्तो अवस्थामा तपाईंहरूले अपनाएको विकासको मोडल हाम्रा लागि उपयोगी हुन सक्छ।’ पछिल्ला दिनमा लाओसले हासिल गरेको तीव्र आर्थिक वृद्धिका लागि उहाँले पार्टी नेतृत्वलाई बधाई दिएको भ्रमण टोलीमा रहेका विष्णु रिजालले जानकारी दिए।

वरिष्ठ नेता नेपालको नेतृत्वमा बिहीबार लाओस पुगेको टोलीमा नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यत्र विष्णु रिजाल, जयन्ती राई र विना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानी रहेका छन्। प्रतिधिनिमण्डल माघ २२ गते स्वदेश फर्किने कार्यक्रम छ। 

प्रकाशित: २० माघ २०७५ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App