१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुन्तलाले धानेको जबाङ गाउँ

धादिङ – भिरालो परेको बारीमा बाक्लो मात्रामा सुन्तलाका बोटहरु छन्। बोटमा पहेँलै भएर सुन्तला फलेका छन्। पुस्तौदेखि सुन्तला खेती गर्न सुरु गरेको धादिङको बेनिघाट रोराङ गाउँपालिका १०, जबाङ गाउँ सुन्तलाले भरिएको छ। २० वर्षदेखि सुन्तला खेती गरिरहेका जबाङका ६५ वर्षीय हेमबहादुर गुरुङको मुख्य पेसा नै सुन्तला खेती हो। आफूसँग भएका पाखाबारी खेर नफालेको गुरुङले बताए। ‘भएको सबै बारीमा सुन्तला लगाएको छु,’ गुरुङले भने, ‘तरकारी खेती गर्न पानी छैन, सुन्तला खेतीले वर्षमा लाखौं कमाइ हुन्छ।’ उनले आफ्नो सबै जग्गाभरी सुन्तला लगाएका छन्।

यतिबेला बोटमा लटरम्म फलेका सुन्तला बिक्री गर्ने समय भइसकेको छ। किसानलाई पनि वर्षभरी लगाएको सुन्तला बेच्न भ्याइनभ्याइ छ। २०३४ देखि नै सुन्तला खेती सुरु गरेका उनले यसलाई गतिलो आम्दानीको स्रोत बनाउन सफल भएका छन्। सुन्तला खेतीलाई व्यवसायको रूपमा अँगालेका उनले बर्सेनि आम्दानी बढाउँदै लगेका छन्। एउटै बोटबाट सुन्तला राम्रो फलेमा तीनदेखि पाँच हजारसम्म आम्दानी गर्न सकिने किसान बताउँछन्। यसरी फलाएको सुन्तला किसानले धादिङकै विभिन्न बजार, चितवनको फिस्लिङ, मुग्लिनमा पुर्‍याउने गर्छन्।

जवाङ गाउँ सुन्तला खेतीले धानेको छ। यहाँका हरेक घरपरिवार सुन्तला खेतीमा निर्भर छन्। अरु खेती गर्न पानीको समस्या भएकाले र पुस्तौदेखि सुन्तला खेती गर्दै आइरहेकाले पनि अन्य खेती गर्नमा मन नजाने गुरुङ बताउँछन्। उनले १५ रोपनी सुन्तला लगाएका छन्, त्यसबाट एक सिजनमा १८ लाखसम्म आम्दानी हुने उनी बताउँछन्। ‘पहिलेपहिले आफ्नै लागि मात्र तीन–चार बोट सुन्तला लगाएका थियौं,’ गुरुङले भने, ‘अहिले सयौं बोट लगाएर व्यावसायिक खेती सुरु गरेका छौं।’ थौरै लगानीमा धेरै आम्दानी लिन सकिने भएका कारण अन्य पेसातिर ध्यान नगएको गुरुङको भनाइ छ। कामको सिलसिलामा विदेसिनेका लागि गुरुङ उदारणीय बनेका छन्।

गुरुङका दुई छोरा छन्। दुवैले व्यावसायिक सुन्तला खेती गरेर बजारसम्म लैजाने गरेको गुरुङले बताए। पहिले मोटरबाटो नहुँदा बोकेर बजार झार्नुपथ्र्यो। एक थुन्से सुन्तलाको पाँच सयसम्म तिर्नुपरेको गुरुङ सम्झिन्छन्। बोकेर लैजाँदा धेरै समय लाग्ने र बोक्ने मान्छै पाउन मुस्किल हुन्थ्यो। टिपेका सुन्तला बोकेर लैजान नसक्दा त्यत्तिकै कुहिन्थ्यो। अहिले गाउँसम्म नै मोटरबाटो पुगेको छ। बोट नजिकैबाट गाडीमा हालेर बजारसम्म लैजान सजिलो भएको छ।

अर्का किसान माया गुरुङ पनि सुन्तला खेतीमा रमाएकी छन्। उनले आफ्नो सबै पाखोबारी सुन्तला लगाएकी छन्। अन्य खेती गर्दा त्यति आम्दानी नमिलेपछि सुन्तला खेती गर्न थालेको गुरुङले बताइन्। पहिले सुन्तला खेती गर्दा बाटो अभाव र बजार भाउ राम्रो नभएका कारण निराश हुने गरेको उनले बताइन्। ‘पहिले मानिसले बोकेर बजारसम्म लैजानुपर्ने हुन्थ्यो,’ गुरुङले भनिन्, ‘अहिले गाउँमा मोटरबाटो पुगेको छ, टिपेर राख्यो, व्यापारी नै लिन आउँछन्।’ किसानले सुन्तला किलोको ९६ रुपैयाँदेखि एक सय २५ रुपैयासम्ममा बेच्ने गरेका छन्।

धादिङमा उत्पादित सुन्तला धादिङकै विभिन्न ठाउँ, काठमाडौं र चितवनलगायत पोखराका बजारमा बिक्रीका लागि व्यापारीले लैजाने गरेका छन्। एक वर्ष सुन्तला खेती सुरु गरेपछि वर्षौंसम्म कम लगानीमै प्रतिफल पाइरहने भएकाले पनि यसमा धेरै सहज खेतीको सम्भावना रहेको किसान बताउँछन्। जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला खेती गरिँदै आइरहेको छ। कुनै ठाउँमा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भए पनि उत्पादन भने बर्सेनि घट्दै गएको छ भने केही ठाउँमा वर्षौदेखि सुन्तलाले नै जीविका धानेको छ। सुन्ताला खेती गर्ने किसानको संख्या हरेक वर्ष बढिरहेको छ।

सुन्तलामा लाग्ने रोग, त्यसको पहिचान र समाधानबारे गाउँपालिकाले तालिम तथा चिस्यान केन्द्र बनाउने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटीले बताए। ‘गाउँपालिकामा चिस्यान केन्द्र बन्दै छ,’ अध्यक्ष डल्लाकोटीले भने, ‘ग्रामीण क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफूल चिस्यान केन्द्रमा संकलन गरी किसानलाई फाइदा हुने किसिमको काम गर्दैैछौं।’ गाउँपालिकामा कृषि जोनसमेत लागू भएको छ। गाउँपालिकाले कृषि क्षेत्रका लागि बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको छ।

गाउँपालिकाले सुन्तला क्षेत्रसम्म मोटरबाटो पुर्‍याइदिएको छ। सुन्तला बजारसम्म लैजान मानिस आफैंले बोक्नुपर्ने बाध्यता हटेको छ। गाडीले बजारसम्म लगिदिन्छ। सबैभन्दा बढी बेनिघाट रोराङ गाउँपालिकाकै विभिन्न क्षेत्रमा सुन्तला खेती हुँदै आइरहेको छ। जिल्लाभरमा करिब ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। स्थानीय तहले पनि किसानलाई बिरुवामा सहुलियत, औषधि र मलमा अनुदानसमेत दिँदै आइरहेको छ।

प्रकाशित: २० माघ २०७५ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App