जीवन

प्रेमिल दुर्गालाल

शनिबार, १९ माघ २०७५, ०७ : १५ नागरिक

आर. मानन्धर

कविता अर्थात् कविको भाव। कविमा कविता प्रस्फुटित हुन्छ। यस अर्थमा कवि मूल हो। तर त्यो मूल प्रेमको स्पर्शबिना नफुट्ने रहेछ ! त्यसैले क्रम यही नै हो — प्रेम, कवि अनि कविता। यही कुरा कवि दुर्गालाल श्रेष्ठको जीवनमा पनि लागु हुन्छ। 

कुरा पुरानै हो कवि भरखरै युवावस्थामा प्रवेश गर्दै थिए। उनी नौ वा दश कक्षाको परीक्षाका लागि गणितको ट्यूशन पढिरहेका थिए। गणित गुरू भन्दै थिए– दुई विन्दु जोड्दा रेखा बन्छ। दुर्गालालले गणितको कुरा त केही बुझेका थिएनन्, तर प्रेममा डुबेका उनलाई तुरन्तै कविता फुर्‍यो।

विभिन्न भाषामा अनुदित दुर्गालालका प्रतिनिधि कविताका सङ्ग्रहहरूमा यही कविता पहिलो पृष्ठमा भेटिन्छ।

तिमी बिन्दु, म पनि बिन्दु
जर्जर धरतीमा दुई थोपा पानी
कमलको पातबाट तप्किएका।

तिम्रो इच्छा, मेरो पनि इच्छा
सिन्धु होइन, कि दुई बिन्दुबाट
मात्र यौटा धर्सो बन्नु।

म आउँछु, तिमी पनि आइद्यौ
आउँदा आउँदै एक धर्सो 
नभए नहोला, के लाग्छ र ?

तल नहोस् सही, माथि त होला
धर्सो नहोस् सही, ढिको त होला
फरक अरू के नै होला?

दुर्गालालले कविता लेखेको यो पहिलोपल्ट होइन, न त उनी प्रेममा परेकै  पहिलोपल्ट हो। पहिलो प्रेमको प्रसंग किशोरावस्था सुरुवात्सँगै उनको जन्मघर न्हैकःटोल नजिकै रहेको थाय्मदु टोलबाट सुरु हुन्छ। 

प्रथम प्रेम र हराएका कविता

थाय्मदु टोलमा एउटा पाटी थियो। त्यसमा मुरलीधर पण्डितले कथा हाल्थे–श्रीमद्भागवतको। कथा सुन्नेहरूलाई बस्न सुकुल बिछ्याइराखेको हुन्थ्यो। तिनको भीडमा चौध–पन्ध्र वर्षका दुर्गालाल पनि हुन्थे। बस्न त उनी कथा सुन्नेहरूकै भीडमा हुन्थे, तर कथा कताबाट कता पुग्दैछ भन्ने भेउ उनलाई हुँदैनथ्यो। कथा सकिएपछि टीका लगाइदिने एक किशोरी थिइन्। ती त्यही टोलकी थिइन्, राम्री !  उनीभन्दा अलि जेठी पनि होलिन्। उनी त्यहाँ कथा सुन्न जाने त तिनकै हातबाट टीका थाप्न मात्रै थियो। उनी दिनदिनै कथा सुन्न जान्थे तर उनलाई त आफ्नै कल्पनाले कताकता डुलाइरहेको हुन्थ्यो, र मात्रै ध्याउन्न हुन्थ्यो ती युवतीको हातबाट निधारमा टीका थाप्ने। 

उही युवती गाउँदै थिई– ‘मनभित्रै तस्बिर हुँदा हुँदै कागजको तस्बिर चाहियो नै किन, दाइ त बहुलायौ कि क्या  हो ?’ आफुले लेखेको गीत सुनेपछि दुर्गालाललाई मनमनै लाग्यो–पक्कै त्यो युवतीले मलाई मनपराएको हुनुपर्छ।

कथा सकिएपछि टीका थाप्ने वेला आउँथ्यो। टीका थापिसकेपछि उनी सधैं आकाशतिर हेरेर फर्कन्थे। किनभने उनलाई साह्रै चिन्ता हुन्थ्यो–कतै त्यो टीका निधारबाट झर्ला कि भन्ने। फेरि घरमा छिर्दा त झनै अप्ठ्यारो हुन्थ्यो किनभने घरको ढोका त साह्रै होचो थियो, निहुरेर पस्नु पथ्र्याे। ढोकाबाट पस्दा उनी खुट्टा खुम्च्याएर बसेझैं गरी पस्थे। साथै मनमनै ‘हे परमेश्वर मेरो टीका नखसोस्’ भनि पुकार्थे। 

त्यसपछि साँझ हुन्थ्यो। बिस्तारै बेलुका पनि हुन्थ्यो। आमा बुबा र उनी सुत्ने मटानको त्यही एउटा सानो कोठा थियो। कोठामा एउटा भूmल पनि थियो। झ्यालको नजिकै टुकी बलिरहेको हुन्थ्यो। उनका बुबालाई कतै उनले धेरै बेर बत्ती बालिराख्छ कि, तेल सकिन्छ कि भन्ने डर हुन्थ्यो। त्यसैले बत्ती निभाइदिन्थे। उनलाई निद्रा पर्दैनथ्यो। उनी झ्यालमा बस्थे। तल रछानबाट दुर्गन्ध आइरहेको पनि चाल पाइरहेका हुन्थे। त्यतिखेर मनमस्तिष्कमा तिनै टीका लगाइदिने युवती घुमिरहेकी हुन्थिन्। तिनको हाउभाउले उनलाई कताकता अर्कै दुनियाँमा घुमाइरहेको अनुभव भइरहन्थ्यो। मनमा केही कुरा उम्लिरहेको भान हुन्थ्यो। त्यस वेला भित्रैबाट केही व्यक्त गरौं जस्तो लाग्थ्यो। तर त्यहाँ उनीसँग कागज हुँदैनथ्यो। कोठामा बुबाले खानेगरेको पूmलमार चुरोटका खाली बट्टा हुन्थे। एउटा ठुटे सिसाकलम हुन्थ्यो। उनी चुरोटको बट्टा च्यातेर लेख्न लायक बनाउँथे। अँध्यारो रातमा केही देखिँदैनथ्यो। तर पनि सीधा लेख्न कागजमाथि औंला राख्थे। एक धर्को लेख्थे। औंला तल सार्थे। फेरि अर्को एक धर्को लेख्थे। यसरी पूmलमार चुरोटको बट्टा भर्थे। बिहान उठेर हेर्दा ती हरफ उज्यालोमा लेखिएझैँ सीधा हुन्थे।

त्यस वेला लेखेको त्यो के थियो अहिले उनी स्वयंलाई थाहा छैन, हरफ सम्झनु त परै जाओस्। उनी अहिले भन्छन्, ‘ती गीत, कविता वा त्यस्तै केही थिए होलान्, ती युवतीप्रतिको अनुरागको टीका।’ वास्तवमा त्यो दुर्गालालको त्यो एकोहोरो प्रेम थियो। किशोरीलाई पत्तै पनि थिएन।

कृषिबाला र कविता

गणित र विज्ञानमा विषयमा शिक्षकले जति सिकाए पनि नास्ति भएकाले उनले जसोतसो प्रवेशिका परीक्षा (२०११ सालमा) उत्तीर्ण गरे। अनि पद्मोदयबाट छाउनी नजिकको दरबार कलेज पुगे। त्यो कलेज भवन त्यस वेला खेतको माझ पथ्र्यो। उनमा युवाबैंसको मातले पनि छोइसकेको थियो। जुन कक्षाकोठामा उनी पढ्थे, त्यसको झ्यालैबाट खेत भेटिन्थ्यो। खेतमा आलु रोप्न आउने एउटी ज्यापुनी थिई। जोसँग पनि सहजै घुलमिल हुने स्वभावका दुर्गालालको त्यस कृषिबालासँग सजिलै बोलीचाली हुन थाल्यो। बोलीचालीबाट थालिएको साइनो बिस्तारैे घनिष्ठ हुँदै गयो। घनिष्ठ हुँदै उनी कलेजको एकजना मिल्ने साथीसँग ज्यापुनीको खेतमा बनाइएको छाप्रोसम्म पुग्ने भए।

त्यस बेलाको एउटा प्रसंग उनको स्मृतिमा ताजै छ। एकदिन कक्षा नभएको बेला उनी साथीसित उही किसान केटीको छाप्रोमा गए। छाप्रोमा पुगे, कोही देखिएन। एकैछिनमा एउटी केटी ठूल्ठूलो पाइला सार्दै आइरहेको देखे। त्यो त्यही युवती थिई। नजिक आइपुृगेपछि उनले भने– ‘बित्थामा तिमीहरूको काम मात्र बिथोल्न आएको झैं पो भो त !’

युवतीले भनि– ‘के भनेको त्यस्तो ? त्यत्रो दिनपछि बल्ल त आउनुभयो।’ अनि फेरि भनि– ‘खाजा खानुभएको छैन होला हगि ?’

दुर्गालालले सोधे– अनि तिमीले नि ?

युवतीले भनि– हाम्रो त सकियो। अलिअलि बाँकी छ, हालौं है ?

उसले चिउरासँगै साँधेको आलु, भटमास, अदुुवा हालेर थाल अघि सारी। अनि सोमा (जाँडको भाँडो) उचाल्दै ‘अलिअलि त हुन्छ नि हगि ?’ भन्दै बटुको भरी।

‘ हाम्रो त बानी नै छैन।’ भन्दै हाँस्दै उनले बटुको उचाले।

‘अँऽ बानी नभएकोले होला, बटुको रित्तिएको’ भन्दै उसले थपिदिन खोजी। तर उनले थप्न मानेनन्। 

अनि उनीहरुले युवतीले नदेख्ने गरी एक सुका सोमाभित्र खसालेर विदा लिँदै फर्के। 

अलि अगाडि मात्रै के हिँडेका थिए उनीहरुले सुमधुर आवाजमा गीत सुने– मनभित्रै तस्बिर हुँदै कागजको तस्बिर चाहियो नै किन, दाइ त बहुलायौ कि क्या  हो ?’ फर्केर हेर्दा त उही युवती गाउँदै थिई।

दुर्गालाल र उनका साथी दुवै अचम्मित भए किनभने त्यो गीतका सर्जक त दुर्गालाल नै थिए। त्यसपछि दुर्गालाललाई मनमनै लाग्यो–पक्कै त्यो युवतीले मलाई मनपराएको हुनुपर्छ।

त्यसपछि दुर्गालालले त्यही युवतीलाई सम्झँदै थुप्रै गीत कोरे। अहिले उनलाई कुनकुन गीत उसको प्रेममा रचेका थिए भन्ने ठ्याक्कै सम्झना त छैन, तर मालश्री धुनमा गाइने ‘हाइ रे ज्यापुनी तता, गुलि हिसि दु रे छ ला’ (हाइ रे ज्यापुनी दिदी, कति हिस्सी परेकी तिमी) भन्ने सर्वकालिक लोकप्रिय गीत त्यही युवतीलाई सम्झँदै लेखेको पक्का हो। 

त्यो ठाउँठाउँमा भ्वाङ परेको छाप्रोसँगको घनिष्ठताले उनलाई धेरै फाइदा  दियो। त्यहीँबाट उनले किसानको जीवन नजिकबाट नियाल्ने मौका पाए। किसानहरूले कतिको मिहिनेत–पसीना गर्नुपर्दो रहेछ र अभैm फेरि कसरी जग्गाधनीको खेलौना भइबाँच्नु पर्दोरहेछ भन्ने वास्तविकता उनले त्यहीँबाट प्रत्यक्ष देखे। त्यसै गरी किसानको गरिबी पनि नजिकबाट हेर्ने मौका पाए। गरिबलाई चाड आउँदा पनि चाड मनाउने पैसा नभएर कतिको चिन्ता र विवशताबीच बाँच्नु पर्दोरहेछ भन्ने यथार्थ उनले त्यहीँबाट देखे। उनले त्यही छाप्रोमा बसेर एउटा युगल गीत लेखे–‘बिहान भाले बासिसक्यो तैपनि मलाई निद्रा परेको छैन प्राण’। यो बिलौना किसान स्वास्नीले लोग्नेलाई घोडेजात्राको अगाडि गरिरहेकी हुन्छे किनभने पाहाँचह्रे चाड मनाउन उनीहरूसँग पैसा हुँदैन। यो गीत ‘लुँबुँ– वहबुँ’ गीतसङ्ग्रहमा सङ्कलित छ। ‘लुँबुँ, वहबुँ’ भन्ने शब्द नै खेती–किसानीसँग सम्बन्धित छन्। 

‘लुँबुँ’को शाब्दिक अर्थ सुनको फूल हो भने ‘वहबुँ’ भनेको चाँदीको फूल। तोरीको पहेँलो फूललाई ‘लुँबुँ’ र मूलाको बोटमा फुल्ने सेतो पफूललाई ‘वहबुँ’ भनिन्छ। तोरीको बोटमा फूल फुल्दा खेतै सुनजस्तो देखिने र मूलाको बोटमा फूल फुल्दा खेतै सेताम्य भएर चाँदीजस्तो देखिनेहुन्छ। त्यो वेला काठमाडौंभित्र यस्तो मनोहर दृष्य देख्न असनबाट धेरै टाढा हिँड्नुपर्दैनथ्यो।

अनौठो प्रेम विवाह

दुर्गालालको विवाह ०१३ सालमा भयो। उनको विवाहको प्रसङ्ग पनि अलि फरक खालको नै छ र रमाइलो पनि। दुर्गालालकी धर्मपत्नी पूर्णदेवी श्रेष्ठ उनकै किशोरकालका साथी दर्शनदास श्रेष्ठकी बहिनी हुन्। दर्शनदास आफै पनि दुर्गालालकै नाटक मण्डलीका सदस्य थिए। उनी गीत लेख्थे, लय हाल्थे र गाउँथे पनि। वासु पासाले लेखेको नेपालभाषाको लोकप्रिय गीत ‘वा माया वा वा’ दर्शनदासकै लय हो। उनीहरू नजिकका साथी थिए। त्यसैले दुर्गालालको पूर्णदेवीसँग चिनजान पहिल्यैदेखि थियो। एक अर्काप्रति केही आकर्षण पनि थियो। केही हेराहेर पनि भएको थियो, तर प्रेम भनेर निकै नजिकिएर हेलमेल भएको चाहिं थिएन। भृगुराम श्रेष्ठ र दर्शनदासको घर आमुन्नेसामुन्ने थियो। त्यसैले दुर्गालाल भृगुरामको घरमा गएर पूर्णदेवीलाई हेर्ने गर्थे। भृगुराम उनलाई जिस्क्याइरहन्थे।

प्रेम भएपछि अब मगाउन पठाउनु पर्‍यो। नभए त अरूले नै माग्न आउन पनि सक्थ्यो। दुर्गालालको मनमा दिनरात कुरा खेल्न थाल्यो। काम र आम्दानी केही नभएकाले पनि उनले यो कुरा घरमा उठाउने साहस नै गर्न सकेनन्। उनले पूर्णदेवीको घरमा विवाहको कुरा राख्ने आँट गरेनन्। कहिलेकाहीं दुइजनाको देखादेखा हुँदा पूर्णदेवीको आँखाले भनिरहेको हुन्थ्यो–खै, माग्न पठाउने होइन ? जवाफमा दुर्गालालको आँखामा विवशता झल्किन्थ्यो। महिनादिन यत्तिकै बित्यो। अन्ततः पूर्णदेवीलाई अन्तैबाट माग्न आयो। भोजको निम्तो–पत्र पनि दुर्गालालको घरमा पुग्यो। उनी हातमा दाइजो बोकेर भोज पनि गए, तर उनलाई भोज खाइरहन सकिएला जस्तो लागेन। बिरामीको निहुँ बनाई दाइजो मात्रै दिएर फर्के। दुर्गालालको पहिलो प्रकाशित कृति ‘झसुकाः’ (उच्छ्वास) का विरहले भरिएका अधिकांश कविता त्यसैताक रचिएका हुन्। उनले लेखे :

प्रेमध्वज प्रधानले आवाज दिएको लोकप्रिय गीत ‘जि वैच्वना उपहार ज्वनाः’ अर्थात ‘म आउँदै छु उपहार लिई’ उनले बाँचेको यथार्थ हो। घोर निराशामा ‘असफल हे जिगु नां खः’ (असफल नै मेरो नाम हो) भनेर पनि उनले गीत कोरे।

त्यस वेला नेपालभाषाका लेखक प्रेमबहादुर कंसाकारको घरमा साहित्य गोष्ठी भइरहन्थ्यो। दुर्गालाल पनि त्यहाँ पुग्थे। उनले सुनाउने गीत, कविता विरहव्यथाले भरिएको हुने गरेकाले प्रेमबहादुरले टिप्पणी गर्दै भने–‘दुर्गालालको कविता साह्रै मार्मिक छ। यो मान्छे त रुन्चे नै रहेछ। त्यसपछि त्यहाँ उपस्थित साहित्यिक समूहले त्यो शव्द यसरी टिपे र प्रचार गरे कि ‘ख्वबिलु’ उनको उपनाम सरह नै हुनपुग्यो।

विवाहको सबै रीतिरिवाज सकिसकेर पनि पूर्णदेवी दुलहाको घर जान मानिनन्। दुर्गालालले साथीहरूबाट के थाहा पाए भने उनले दुलहाको घर नजाने नै निर्णय गरिन्। त्यसपछि उनका आत्मीय साथीहरूले दुर्गालाललाई ‘तिमीलाई मनपराएरै उसले नजाने निर्णय गरेकी हो। अब तिमीले उसलाई स्वीकार्नुपर्छ’ भने। दुर्गालाल बाध्यात्मक अवस्थामा परे।

एउटा संयोग के–ले पनि साथ दियो भने त्यस वेला उनले पद्मरत्नको बुबा ज्ञानरत्नको घरमा बच्चा पढाउने गरेका थिए। पारिश्रमिक माग्न जाँदा पच्चीस रुपैयाँ पाए। त्यस वेला पच्चीस रुपैयाँ भनेको कम थिएन। त्यही रकम लिएर साथीको सहयोगमा उनी पूर्णदेवीलाई भगाएर भक्तपुरको एउटा घरमा बस्न गए।

यो घटना सम्झँदै उनी भन्छन्, ‘जिन्दगी सोचेको ढाँचामा नबग्दो रहेछ। केही कुरा अकल्पनीय पनि भइहाल्दा रहेछन्। त्यसरी पनि विवाह हुन्छ भनेर कहिल्यै चिताएको पनि थिएन। तर भइदियो त्यस्तै ! अब यसमा हाँस्नु कि रुनु ?’ 






यसमा तपाईको मत

अन्य समाचार

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

माइती नेपाललाई स्ट्यान्डर्ड चार्टर्डबाट मेसिन

माइती नेपाललाई स्ट्यान्डर्ड चार्टर्डबाट मेसिन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माइती नेपाललाई स्यानिटरी नेपकिन निर्माण गर्ने दुई मेसिन हस्तान्तरण गरेको जनाएको छ । ...

बुद्ध एयरको टिकट मोबाइल एपबाट बुकिङ तथा खरिद गर्दा विशेष छुट

बुद्ध एयरको टिकट मोबाइल एपबाट बुकिङ तथा खरिद गर्दा विशेष छुट

मोबाइल एपबाट टिकट बुकिङ गर्दा बुद्ध एयरलाइन्सले विशेष छुट दिने भएको छ। बुद्ध एयरको एप र वेवसाइटबाट अनलाईन टिकट बुकिङ/खरिद गर्दा...