१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्ष वा महासचिवमा महिला हुनुपर्ने माग

चितवन – नेपाल पत्रकार महासंघ महिला समितिले महासंघको अध्यक्ष र महासचिवमध्ये एकमा महिला हुनैपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ। चितवनको पटिहानीमा शुक्रबार सम्पन्न महासंघ महिला समितिको राष्ट्रिय सम्मेलनमा जारी १२ बुँदे घोषणापत्रमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगीकार गरी अध्यक्ष वा महासचिव महिला रहनैपर्नेगरी विधान संशोधन गरिनुपर्ने उल्लेख छ। सरकारी संचार माध्यम, आयोग, समिति र सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा राज्यले अंगीकार गरेको ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयनको माग पनि त्यसमा समेटिएको छ।

विधान संशोधनका क्रममा महिला उपाध्यक्षको व्यवस्था गरिनुपर्ने उल्लेख भएको घोषणापत्रमा सञ्चारमाध्यममा आन्तरिक लैंगिक नीति अनिवार्य रूपमा बनाई कार्यान्वयन गरिनुपर्ने, आमसञ्चार नीति र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरिनुपर्ने माग पनि समेटिएका छन्। सञ्चारमाध्यमले पत्रकार नियुक्ति र पदोन्नति गर्दा समावेशी नीति अपनाउनुपर्ने बुँदा घोषणापत्रमा समावेश गरिएको छ। यस्तै महिलाको क्षमता तथा दक्षता अभिवृद्धिका लागि आधारभूत र विषयगत तालिमको व्यवस्था गरिनुपर्ने, पत्रकार महिलाको भौतिक र पेसागत सुरक्षाको सुनिश्चितता गर्नुका साथै पेसागत स्थायित्वका लागि उचित वातावरण निर्माण गरिनुपर्ने माग राखिएका छन्।

संचारमाध्यममा शिशु स्याहार केन्द्रको व्यवस्था गरिनुपर्ने माग पनि घोषणापत्र मार्फत गरिएको छ। सरकारले व्यवस्था गरेको सुत्केरी बिदालाई पाँच महिना पु-याउने नीतिगत निर्णय सञ्चारमाध्यममा पनि कार्यान्वयन गर्नुपर्ने, सुत्केरी बिदा बसेकै कारण पत्रकार महिलाको पदोन्नति रोकिन नहुने माग घोषणापत्रमा गरिएको छ। पटिहानीमा दुई दिन चलेको सम्मेलनमा देशभरका दुई सयभन्दा बढी पत्रकार महिलाको सहभागिता थियो।

प्रकाशित: १९ माघ २०७५ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App