१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माथेमा कार्यदलका सदस्यले भने : डा. केसी सत्याग्रहमा पुनर्विचार गर्नुस्

काठमाडौं- माथेमा कार्यदलका सदस्यहरुले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्न आग्रह गरेका छन्। एक विज्ञप्ति जारी गर्दै केदारभक्त माथेमा, प्रा डा मदन उपाध्याय, प्रा डा रमेशकान्त अधिकारी, प्रा डा अर्जुन कार्की र प्रा डा भगवान कोइरालाले चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले उनको स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार गर्न आग्रह गरेका हुन्।

उनीहरुले नेपाल सरकारलाई आगामी दिनमा उक्त ऐनका प्रावधानहरु उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्मअनुसार हुने गरी सुधार गर्दै जान आग्रह गरेका छन्।

संसदका दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको तथा त्यसरी विधेयक पारित गर्दा चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनसँग मेल नखाने प्रावधानहरु समेत परेको समेत उनीहरुले बताएका छन्।

'ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु हामीले नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछौं', जारी विज्ञप्तिमा भनिएको छ। 

यस अघि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नागरिक अगुवा दमननाथ ढुंगाना, भोजराज पोखरेल लगायले पनि विज्ञप्ति जारी गर्दै डा. केसीलाई अनसन फिर्ता गर्न भनेका छन्। 

प्रकाशित: १८ माघ २०७५ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App