१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोल पम्पले पर्याप्त स्टक राख्नुपर्ने

काठमाडौं – इन्धन ढुवानीमा सामान्य अवरोध हुँदासाथ बजारमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) अभाव हुने समस्या हटाउन नेपाल आयल निगमले नयाँ रणनीति बनाएको छ। आफ्नो इन्धन भण्डारण क्षमता बढाएर ९० प्रतिशत पेट्रोलियम पदार्थ स्टक पुर्याएको निगमले पेट्रोल पम्पले पनि अनिवार्य रुपमा पर्याप्त डिजेल, पेट्रोल स्टक राख्नुपर्ने नीति बनाएको छ।

उपभोक्ताको माग अनुसार इन्धन दिन नसकेर समय–समयमा आलोचना खेप्दै आएको निगमले आगामी दिनमा आलोचनाबाट मुक्त हुन पम्पलाई पनि जवाफदेही बनाउन लागेको हो। पेट्रोलियम पदार्थ वितरण गर्न नसकेको गुनासो सुन्न नपरोस् भनेर पम्पलाई पनि स्टक राख्न निर्देशन दिएको निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए।

‘नियमित इन्धन सप्लाईलाई पहिलो प्राथमिकतामा राखेको छु,’ तीन साताअघि निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले भने, ‘उपभोक्ताको माग पूरा गर्नु हाम्रो दायित्व हो।’ निगमले आफूसँग भएको भण्डारण क्षमता अनुसार पर्याप्त स्टक राखेर पेट्रोल पम्पमा पनि स्टक राख्न लगाउने तयारी गरेको पौडेलले बताए। ‘निगमको सप्लाई सिस्टम (आपूर्ति प्रणाली) लाई अझ व्यवस्थित बनाउँदैछौं,’ उनले भने, ‘हरेक क्षेत्रमा सुधार गर्ने प्रयास सुरु गरेको छु।’

विगतमा डिपोहरुले विभिन्न बहाना बनाएर क्षमता अनुसार इन्धन मौज्दात राख्दैनथे। निगमका डिपोमा स्टक नहुँदा इन्धन आयात र ढुवानीमा सामान्य अवरोध हुँदासाथ बजारमा इन्धनको हाहाकार हुँदै आएको छ। एक त निगमसँग पर्याप्त भण्डारण क्षमता छैन। प्राविधिक नोक्सानीप्रति जवाफदेही हुनुपर्ने बहानामा डिपो प्रमुखले इन्डियन आयल कर्पोेरेसन(आइओसी)बाट इन्धन लिएर आएका ट्यांकर डिपोमा नखन्याई पम्पमा डाइभर्ट गर्ने प्रचलन थियो।

पम्पलाई मागका आधारमा इन्धन वितरण गरेर पर्याप्त स्टक राख्ने व्यवस्था मिलाउन डिपो प्रमुखलाई निर्देशन दिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘विगतमा एक–दुई दिन बिदा हुँदासाथ पम्पमा लाम लाग्ने समस्या थियो,’ गोइतले भने, ‘अब पेट्रोल पम्पले पनि स्टक बढाउनु पर्छ।’ नयाँ कार्यकारी निर्देशकले आन्तरिक र पम्पको स्टक बढाउन निर्देशन दिएपछि त्यसको कार्यान्वयन सुरु भएको गोइतले बताए। पम्पले मागेजति इन्धन दिन निगम तयार रहेको उनले बताए।

निगमसँग चालु अवस्थामा रहेको ५१ हजार किलोलिटरमध्ये ४६ हजार किलोलिटर स्टक रहेको गोइतले बताए। ‘हामीसँग भएको क्षमतामध्ये ९० प्रतिशत इन्धन मौज्दात गरेका छौं,’ गोइतले भने, ‘८० प्रतिशतभन्दा तल कम कुनै पनि डिपोमा छैन।’

निगमसँग ७१ हजार किलोलिटरको क्षमतामध्ये करिब २० हजार किलोलिटरका ट्यांक प्रयोगमा ल्याउन नसक्ने अवस्था रहेको निगमले जनाएको छ। अहिले निगमसँग मुलुकका विभिन्न स्थानमा प्रादेशिक संरचना अनुसार १२ वटा डिपो छन्। केही डिपोका ट्यांक प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। मुलुकमा दैनिक १५ सय किलोलिटर पेट्रोल, ३५ सय किलोलिटर डिजेल, सात सय किलोलिटर हवाई इन्धन, एक सय किलोलिटर मट्टीतेल खपत हुन्छ।

निगमले पम्पलाई पर्याप्त स्टक राख्न निर्देशन दिए पनि मागको आधारमा दिन सक्ने क्षमतामा व्यवसायीले आशंका व्यक्त गरेका छन्। निगमले मागेजति पेट्रोलियम पदार्थ दिए स्टक राख्न आफूहरु तयार रहेको पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘निगमले सप्लाईलाई व्यवस्थित बनाउनु प¥यो,’ प्रधानले भने, ‘नीति बनाए कार्यान्वयन गर्न प्रतिबद्ध छौं।’ निगमको अहिलेको भण्डारण क्षमताले पूरा गर्न चुनौतीपूर्ण रहेको उनले बताए। ‘निगमले नियमित बिक्रीको क्षमता बढाउनुपर्छ,’ उनले भने, ‘अहिले मागेजति पेट्रोलियम पदार्थ पाउने अवस्था छैन।’

मूल्य निर्धारण समय तालिका फेर्ने
स्वचालित मूल्य प्रणाली अनुसार हरेक १५–१५ दिनमा मूल्य निर्धारण गर्दै आएको निगमले अब मूल्य तोक्ने तालिका परिवर्तन गर्ने तयारी गरेको छ। अंग्रेजी महिनाको प्रत्येक १ र १५ तारिखमा आइओसीबाट आएको मूल्य सूची अनुसार मूल्य निर्धारण गर्दै आएको थियो। तोकिएकै मितिमा मूल्य थपघट हुँदा व्यवसायीले सोही समयमा कम माग गरेर बजारमा इन्धन अभाव हुन सक्ने भन्दै आइओसीसँग जुनसुकै समयमा पनि मूल्यसूची मगाएर मूल्य तोक्ने रणनीति बनाएको छ।

मूल्य निर्धारणमा अहिले कार्यान्वयनमा रहेको क्यालेन्डर फेर्ने गृहकार्य भएको कार्यकारी निर्देशक पौडेलले बताए। ‘मिति नै तोकेर मूल्य घटबढ गर्दा सो बेला बजारमा इन्धन आपूर्ति असन्तुलित हुने देखियो,’ पौडेलले भने, ‘आइओसीसँग छलफल गरेर परिवर्तन गर्ने तयारीमा छौं।’ अन्तर्राष्ट्रिय बजारको मूल्य व्यवसायीले पहिले नै थाहा पाउने भएकाले पहिलै मूल्य समायोजन गर्ने मिति तय हुँदा सूचना चुहिएर मूल्य घट्दा स्टक नराख्ने र बढ्ने संकेत पाएपछि स्टक राख्ने गर्दै आएका छन्।

प्रकाशित: १८ माघ २०७५ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App