१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘घाेषणापत्र बमाेजिम नै काम गरेका छाै‌ ’

प्रेमगोपाल कर्माचार्य, वडाध्यक्ष, भक्तपुर नगरपालिका–५

जनप्रतिनिधि भएपछि के–के काम गर्नुभयो ?
स्थानीय तहको चुनावमा जनतालाई घोषणापत्रमार्फत अघि सारेका योजनालाई सोही अनुसार नै गर्दै आइरहेका छौं। हामीले शिक्षा, स्वास्थ्य, सरसफाइलाई ध्यानमा राखी काम गर्दै आएका छौं। जनप्रतिनिधि भइसकेपछि भूकम्प पीडितलाई नक्सापास गर्न सहजीकरण गरिदिने काम गरेका छौं। साथै सरकारले दिएको राहत रकम उपब्लध गराउन सहजीकरणको काम गरिआएको छौं। साथै मठमन्दिर मर्मतसम्भार गर्ने काम गरिराखेका छौं।

वडामा मुख्य समस्या के–के छन् ?
वडाको मुख्य समस्या भन्नुपर्दा एक खानेपानीको नै हो। अर्को फोहोरमैलाको समस्या  व्याप्त रहेको छ।

खानेपानी समस्या समाधानका के कस्तो योजना अघि सार्नुभएको छ ?
खानेपानीको समस्याको समाधानका लागि हामीले अहिले भएका खानेपानीका स्रोतहरुको सरसफाइ गर्दै आएका छौं। जस्तै इनार, पोखरी आदिलाई सफाइ गरिराखेका छौं। साथै खानेपानी संस्थानबाट वितरण हुने पानी व्यवस्थित ढंगले वितरण गर्दै आएका छौं। साथै खानेपानीको समस्या कम गर्नको लागि नगरपालिकाले बोरिगं गरेर पानी निकाल्ने कार्य भइरहेको छ।

वडामा फोहोरमैलाको समस्या देखिएको छ, कसरी समाधान गर्दै हुनुहुन्छ ?
फोहारमैला व्यवस्थित गर्न घरघरबाट निस्कने फोहोरलाई दुई किसिमबाट उठाउने गरेका छौं। कुहिने र नकुहिने फोहोरलाई घरघरबाटै व्यवस्थापन गर्न लगाइराखेका छौं। कुहिने फोहोरलाई एक ठाउँमा र नकुहिने फोहोरलाई अर्काे ठाउँमा राख्ने काम घरबाट गर्न लगाइराखेका छौं। यसको लागि नगरपालिकाले घरघरमा दुईदुईवटा बाल्टिन वितरण गर्दै आएका छौं। घरघरबाट कुहिने र नकुहिने फोहोर छुटाएर राखिन्छ। त्यहीअनुसार नगरपालिकाले घरघरबाट फोहोर उठाउने काम गर्दै आएका छौं। साथै फोहोरको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानको लागि काम गरिरहेका छौं।

ऐतिहासिक पाँच तले मन्दिर तपार्इंको वडामा पर्छ, मन्दिर संरक्षण गर्ने कस्तो योजना अघि सार्नुभएको छ ?
मेरो वडा सम्पदाहरुको केन्द्र हो। यहाँ धेरै ऐतिहासिक सम्पदा छन्। जस्तो पाँचतले मन्दिर, भैरव मन्दिर आदि इत्यादि। यसकारण २०७२ सालमा भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको मर्मत भइरहेको छ। पाँचतले मन्दिरको माथिल्लो तल्ला अर्काे वर्ष सुरु गर्ने योजना छ। 

भैरवको मन्दिर जिर्णाेद्धारको कुन चरणमा पुगेको छ ?
एक वर्षमा सकाउने योजनाका साथ काम भइरहेको छ। अहिले माथिको तलामा काम भइरहेको छ। माथिल्लो तलामा फल्याक राख्ने काम भइरहेको छ। चैत वैशाख महिनाभित्र सकाउने योजना छ।

पाँचतले मन्दिर परिसरमा चारपांग्रे सवारीसाधन निषेध गर्नुभएको थियो। जनताबाट कस्तो प्रतिक्रिया आइराखेको छ ?
जनताका प्रतिक्रिया सकारात्मक नै पाएका छौं। सवारीसाधन बन्द हुँदा पर्यटकलाई दुःख भएको छैन। चारपांग्रे सवारीसाधन निषेध धुवाँधुलोबाट बचेको लगायतका प्रतिक्रिया आइरहेको छ। सुरुमा जनताले नबुझेर खानेपानी, एम्बुलेन्सको बाधा नपुगोस् भन्ने माग गरे। विशेष परिस्थितिमा विशेष पासको व्यवस्था गरी त्यस्तोलाई आवतजावतमा रोक लगाउन भएन भन्ने कुरा पनि आयो।

एम्बुलेन्स पनि जान नमिल्ने बनाएर समस्या पर्‍यो भने भनाई छ। के भन्नुहुन्छ ?
हामीले आपतकालीन सवारीसाधन दमकल, एम्बुलेन्सलगायतलाई रोक लगाएका छैनौं। यसको लागि रोक लगाइएको ठाउँमा कर्मचारी राखी त्यस्ता सवारीसाधनका लागि बाटो खुलाउने गरेका छौं। साथसाथै बिहान र बेलुकी सात बजे अघि र पछि गरी निर्माण सामग्री, खानेपानीका सवारीसाधनलाई पनि खुला गरेका छौं। 

विस्केट जात्राका बेला के व्यवस्था हुन्छ भन्ने सर्वसाधारणको जिज्ञासा छ। जात्रा भव्य रुपमा सम्पन्न गर्न यो नियम लागू हुँदैन। त्यो बेला खुला गरिन्छ।

भक्तपुरको पुरानो बजार सुकुलढोका अस्तव्यस्त छ। व्यवस्थित गर्नेतर्फ के–के  योजना छन् ? 
निर्वाचित भएर आएदेखि बजार व्यवस्थित गर्ने काममा लागिरहेको छु। मुख्य बजार व्यस्थित गर्न लागेको लागि बाटो भएर हिँड्न बटुवालाई जनचेतना दिँदै आएको छु। पेटीबाहेकमा समान राख्न निषेध गरेका छौं।

पुरानो बजारमा इँटाको सट्टा किन ढुंगा विच्छ्इएको हो ?
हाम्रो नगर ऐतिहासिक र प्राचीन नगरी हो। त्यसकारण यसलाई त्यही रुपमा विकास गर्ने हाम्रो योजना हो। हाम्रो बजारमा पुरानो शैलीमै विकास गर्न कालोपत्रे नगरी ढुंगा छपाइ गरेका हौं। इँटा केही वर्षमै बिग्रीने हुनाले ढुंगा छापेका हौं। इँटाभन्दा ढुंगा बढी टिकाउ पनि छ। हिँडडुल गर्न सजिलो होस् भन्ने उद्देश्य हो।

नगरपालिकाले सञ्चालन गरेको भगवतीस्थानको जनस्वास्थ्य सेवा केन्द्रले कस्तो सेवा दिइरहेको छ ?
विशेष गरीकन वडा परिसरबाटै सञ्चालन भइरहेको जनस्वास्थ केन्द्रमा बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि सेवासुविधा उपलब्ध छ। बालबच्चाको लागि डाक्टरदेखि विभिन्न सेवासुविधाहरु यहाँबाट उपलब्ध छन्। यहाँ कम शुल्कमा जनताको स्वास्थ्य सुविधा उपलब्ध छ।

घरदैलो नर्सिङ कार्यक्रम कहिलेदेखि सुरु भएको हो ?
 नगरपालिकाका १० वटै वडामा घरघरमा नर्सिङ सेवा उपलब्ध छ। जुन हाम्रो वडामा पनि छ। यसबाट बढीजसो प्रेसरका रोगी, दमखोकीका बिरामीहरुलाई सुविधा मिलेको छ। वडाबाट सम्पूर्ण जनताको स्वास्थ्य सुधारका लागि शिविरहरु सञ्चालन गर्दै आएका छौं। आँखाको शिविर पनि सञ्चालन गरेको छ। २२ जनामध्ये ७ जनालई निःशुल्क अपरेसन गरिदिएका थियौं।

प्रकाशित: १८ माघ २०७५ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App