१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

साढे दुई वर्षदेखि वनको तगारो

काठमाडौं – डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिँदा राष्ट्रिय महत्वको हेटौडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको छ। वन कार्यालयका प्रमुख (डिएफओ) धिरेन्द्र प्रताव सिंहले विभिन्न बहना बनाउँदै नियोजित रुपमा रुख कटानका लागि आदेश नदिंदा आयोजनाको काम रोकिएको हो।

रुख कटानको स्विकृति दिन आयोजनाले पटक–पटक गरेकोे ताकेतालाई डिएफओले अस्विकार गर्दा सप्तरीमा पर्ने आयोजनाको टावर निर्माण नै रोकिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘यो प्रसारण लाइनको निर्माण करिब एक वर्षभित्रमा सकेनौं भने चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने जोखिम छ, यस्तो रणनीतिक तथा राष्ट्रिय महत्वको प्रसारण लाइनको काम रुख कटानको सम्पूर्ण प्रक्रिया पूरा गर्दासमेत एकजना डिएफओका कारण रोकिएको छ,’ उनले भने।

‘मुलुकको पूर्वदेखि पश्चिमसम्म धेरै जिल्ला पार गर्दै उच्च क्षमताका प्रसारण लाइनको निर्माण गर्नुपर्ने छ, हरेक डिएफओले यसरी नै अवरोध गर्ने हो भने प्रसारण लाइनको निर्माण कसरी गर्न सकिन्छ र हामीले भन्दै आएको ऊर्जा क्षेत्रको विकास कसरी हुन्छ ?’

माथिल्लो तामकोसीबाट आगामी कात्तिकबाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। दोलखाको गोंगर–खिम्ती (रामेछाप)–ढल्केबर (धनुषा) २२० केभी प्रसारण लाइनमार्फत आउने विद्युत् ढल्केबर पूर्व र पश्चिममा हाल रहेको १३२ केभी प्रसारण लाइनको क्षमताले नधान्ने हुँदा माथिल्लो तामकोसीको विद्युत् प्रवाह गर्न नसकिने घिसिङले जानकारी दिए।

हेटौंडा–ढल्केबर–दुहबी दुई सय ८५ किलोमिटर प्रसारण लाइन आयोजनाले सात सय ९२ टावरमध्ये सप्तरीमा एक सय ४२ वटा पर्छन्। त्यसमध्ये एक सय १७ टावरको जग हालिएको छ। बाँकी २५ मध्ये १३ वटा वन क्षेत्रभित्र पर्छन्।

मन्त्रिपरिषद्को १ भदौ २०७३ को आयोजनाको सप्तरीमा पर्ने टावर तथा २३ मिटर दायाँ र २३ मिटर बायाँ प्रसारण लाइनको रुट (राइट अफ वे)का लागि ३१.६७ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति दिएको थियो। आयोजना र वन विभागबीच १९ मंसिर २०७३ मा सम्झौता भई कार्यान्वयनका लागि तत्कालीन जिल्ला वन कार्यालय सप्तरी पठाइएको थियो। तर कार्यालय प्रमुखले विभिन्न बहाना बनाउँदै ढिलाइ गरिदिएका कारण हालसम्म रुख कटान सम्बन्धी प्रकृया अगाडि बढ्न नसकेको आयोजना प्रमुख राधेशरण महतोले बताए।

‘मन्त्रिपषिदबाट कुल चार हजार आठ सय ४१ थान रुख संख्या हटाउने तथा भोगाधिकार उपलब्ध गराउन स्वीकृति भएको थियो। तर, अहिले दुई वर्षपछि पुनः छपान टाँचा लगाउने प्रयोजनका लागि भरिफिकेसन गर्दा आठ सय ९९ थान रुख संख्या बढ्यो भनि थप स्वीकृतिका लागि विभागमा फाइल पठाएको छ।’

‘विभागसँग सम्झौता १९ मंसिर २०७३ मा भएको थियो यसको कार्यान्वनका लागि हामीले निरन्तर ताकेता ग¥यौं तर डिएफओले  विभिन्न बहाना बनाएर २०७४ पुसम्म केही गर्नु भएन फाइल थन्काएर राख्नु भयो, अहिले फाइल विभागमा पुगेको छ अझै कति समय लाग्ने हो केही टुंगो छैन।’

विभागमा फाइल ११ माघमा दर्ता भएको छ। अहिले बढ्यो भनिएको रुख संख्या आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनभन्दा रहेको संख्याभन्दा कम नै छ। महतोका अनुसार डिएफओले आफूलाई फुर्सद नभएको, वनको आफ्नो धेरै काम भएको लगायत कारण देखाउने गरेका छन्।

पाँच वर्षदेखि सप्तरीको डिएफओ रहेका सिंह उमेर हदका कारण आगामी असारमा अनिवार्य अवकास पाउँदैछन्। सप्तरीकै स्थायी बासिन्दा रहेका सिंहले अवकास नपाएसम्म काम नहुने आयोजनाका कर्मचारीहरुको अनुमान छ।
तत्काल कटान सुरु नगर्ने हो भने छपान गरिएका रुखमा राखिएको नम्बर मेटिने हुँदा पुनः छपान गर्नुपर्ने हुन्छ।  यसले गर्दा आयोजनाको काम झनै प्रभावित हुने छ।

नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण लाइन तथा व्यापार पयिोजना अन्तर्गतको सहुलितपूर्ण निर्माण भइरहेको आयोजनाको निर्माण अप्रिल २०२० मा सक्ने लक्ष्य राखिएको छ। नेपालभित्रको प्रसारण लाइन सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्यापारलाई सहज बनाउन प्रसारण लाइनको निर्माण भइरहेको हो।

प्रकाशित: १६ माघ २०७५ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App