१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘हामी स्ववियु निर्वाचनबाट भाग्दैनौं, सरकार नै रोक्ने गतिविधिमा लाग्यो’

काठमाडौं– नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनसँग आफ्नो संगठनको रगतको साइनो भएकोले निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले आफूहरु निर्वाचनबाट कुनै हालतमा नभाग्ने जिकिर गरे। उनले भने, ‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।’ 

स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने उनको भनाई छ। आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुन १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाइसकेको पनि महरले स्पष्ट पारे। उनले भने, ‘अहिले पनि हामी यो निर्णयमा कायम छौं।’

स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने दुनियाँको कुनै तागत नभएको उद्धघोष गर्दै उनले भने, ‘हामी प्रजातान्त्रिक संगठन भएको कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो। त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन्। हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो।’

नेविसंघका महामन्त्री कपिलेश्वर यादव अहिले पनि अस्पतालमै उपचारार्थ रहेको उनले सुनाए। उनले भने, ‘उहाँको टाउकोमा १४ टाँका लगाईएको छ। दिन दिनै विद्यार्थीहरुमाथि धरपकड भैरहेको छ। विद्यार्थीको टाउको फुटाईएको छ। यो अवस्थामा सरकार स्वयम् निर्वाचनबाट भाग्नको लागि उद्धत भएको हाम्रो ठहर छ।’

अध्यक्ष महरले स्ववियु निर्वाचनबारे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब एक घण्टा छलफल गरेको सुनाउँदै आफूले नेविसंघ जुनसुकै बेला चुनावमा जान तयार रहेको कुरा स्पष्टसँग राखेको बताए। उनले भने, ‘तर, सडकमा तपाईले विद्यार्थीको टाउकोमा लाठी बर्साउने, टाउको फुटाउने, अस्पतालनै भर्ना गर्ने बनाउने, विद्यार्थीलाई जेलभित्र हालेर स्ववियुको निर्वाचन सम्भव छ? यो तरिकाले स्ववियुको निर्वाचन हुन सक्दैन भनेर मैले प्रधानमन्त्रीलाई भनिसकेको छुँ। त्यसैले निर्वाचनको वातावरण बनाउने काम विश्वविद्यालयको कुलपति भएको कारणले प्रधानमन्त्रीको पनि हो।’

निर्वाचनको लागि प्रधानमन्त्रीले शान्ति, सुरक्षाको वातावरण बनाउनुपर्ने उनको भनाई छ। उनले वर्तमान सरकार फागुन १४ गते स्ववियुको निर्वाचन हुन नदिने गतिविधिमा लागेको पनि आरोप लगाए। उनले भने, ‘परिस्थिति बबण्डरयुक्त बनाएर र प्रधानमन्त्रीको विरुद्धमा विद्यार्थीलाई जुलुश र पुत्ला दहन गर्न लगाउने परिस्थिति बनाएर निर्वाचन भाँड्ने काममा सरकार लागेको छ। सरकारले यो काम नियन्त्रण गरेर अमन–चयन गर्नतिर लाग्यो भने स्ववियुको चुनावका लागि नेविसंघ तयार छ।’

प्रकाशित: १५ माघ २०७५ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App