१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘रणवीरका लागि तपस्या बसें’

काठमाडौं – फिल्ममा अनुबन्धित भइसकेपछि आफ्नो चरित्र अनुसार शरीरको बनावट तयार पार्न कलाकार निकै मेहनत गर्छन्। शरीरको तौल बढाउन या घटाउन होस् वा कथाले माग गरे अनुसारको गेटअप बनाउन नै किन नहोस्। आगामी शुक्रबार अर्थात् माघ १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रणवीर’का नायक सुशील सिटौलाले पनि फिल्मका लागि राम्रै मेहनत गर्नुपर्‍यो।

‘यो फिल्ममा अनुबन्धित भएपछि फिल्मका लागि तपस्या बसें। बिहान उठ्ने, जिम जाने, डाइटिङ गर्नेदेखि मानसिक रूपमा तयार हुन हरेक कुरा सिकें’, सुशीलले भने, ‘मैले मानसिक रूपमा आफुलाई तयार पार्न कमलसिंह भण्डारीबाट धेरै कुरा सिकें। उहाँबाट मनोवैज्ञानिक शक्ति पाउन बिहान एघार बजेदेखि बेलुका पाँच बजेसम्म डेढ महिना वर्कसप नै गरें। यो काम सकेपछि मैले आफुलाई रणवीर भइसकेको अनुभव गरें।’

‘होस्टेल रिटनर्स’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ र ‘गाँजाबाजा’मा अभिनय गरिसकेका सुशील ‘रणवीर’मार्फत आफुलाई सोलो हिरोका रूपमा दर्शकमाझ उभ्याउँदैछन्। सुशील फिल्मको सुटिङमा जाँदा ‘नर्भस’ अनुभव गर्दारहेछन्। ‘सुटिङमा जाँदा म नर्भस हुन्छु। किनभने मलाई चरित्रलाई न्याय दिन सक्छु या सक्दिन भन्ने डर सधैं हुन्छ। रणवीरको सुटिङमा जाँदा पनि त्यस्तै किसिमको डर थियो। तर त्यो मैले गर्नुपर्छ भन्ने पनि थियो’, सुशील खुले, ‘काम गर्दै गएपछि निर्माता तथा अन्य कलाकारको अनुहार देखेर जाँगर आयो। हरेक कलाकार आफ्नो भुमिकामा सेल्फिस हुन्छ। म पनि त्यसमा सेल्फिस छु।’

काम गर्दै गएपछि निर्माता तथा अन्य कलाकारकाे अनुहार  देखेर जागँगर अायाे। हरेक कलाकार अापफ्रनाे भूमिकामा सेल्फिस हुन्छ। म पनि त्यसमा सेल्फिस छु।

फिल्मका लेखक तथा निर्देशक गोविन्दसिंह भण्डारी सुशीलको अभिनय क्षमता देखेरै आफु प्रभावित भएको बताउँछन्। ‘मैले सुशीलको शरीरलाई कहिल्यै ध्यान दिइनँ। मेरो ध्यान उसको अभिनयमा थियो। म जे कुरा भन्छु, कलाकारले त्यही काम गरुन् भन्ने चाहन्छु। कुनै संवाद बोल्दा त्यो संवादमा तोडमोड नहोस् भन्ने मेरो चाहना हो’, गोविन्दले भने, ‘सुशीलले रणवीरको चरित्र अनुसार काम गरेको छ। अन्य कलाकारले के गर्छन् त्यो मलाई थाहा छैन्। तर सुशीलले सतप्रतिशत दिन सक्छन्। त्यही कारण मैले लिएको हुँ।’

गोविन्द यही फिल्ममार्फत नेपाली फिल्म निर्देशनमा ‘डेब्यु’ गर्दैछन्। दक्षिण भारतीय फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका उनले फिल्मको कथा हैदराबादमा नै लेखेका हुन्। तेलुगू भाषामा कथा लेखेका गोविन्दले त्यही कथालाई नेपाली भाषामा अनुवाद गरेका हुन्। गोविन्दले फिल्ममा प्रयोग गरिएको एक्सनमा केही फरकपन दर्शकले पाउने बताए। ‘फिल्मको फाइटका हरेक सटमा म आफै आबद्ध भएर काम गर्न पाएँ। फिल्मका फाइट डिरेक्टर चन्द्र पन्तसँग मेरो राम्रो सम्बन्ध भएकाले पनि हाम्रो कुरा मिल्थ्यो’, गोविन्दले भने, ‘फाइट गराउने चन्द्रले नै हो। फिल्ममा द्वन्द्वको तिब्रतालाई हामीले प्राथमिकता दिएका छौं।’

फिल्मबाट सन् २०१२ की ‘मिस इन्टरनेशनल’ सुबेक्षा खड्का अभिनयमा ‘डेब्यू’ गर्दैछिन्। उनले आफुलाई ‘मिस इन्टरनेशनल’ भएपछि धेरै फिल्मबाट अफर आए पनि अहिले आएर ‘रणवीर’ नै रोजेको खुलाइन्। ‘फिल्ममा आउने इच्छा त थियो। तर म उपयुक्त प्रोजेक्टको खोजीमा थिएँ। ‘मिस नेपाल’ पछि आएको भए सायदै त म फिल्म क्षेत्रमा टिक्दिन थिएँ। किनकी त्यो समयमा म भर्खरकै थिएँ। कति कुरा थाहा थिएन’, उनले भनिन्, ‘तर रणवीरको सवालमा मलाई निर्देशकले कथा सुनाइरहँदा म कथाबाट प्रभावित भएँ। उहाँले कथा सुनाइरहँदा मेरो दिमागमा फिल्ममा आफुले निभाउनु पर्ने भुमिका घुमिरहे। मैले कुनै पनि अभिनय कक्षा वा तालिम नलिएकाले पनि गोविन्द दाईले मबाट काम निकाल्न सक्नुहुन्छ भन्ने लागेको थियो।’ उनले जोकोही नयाँ कलाकारको पनि फिल्ममा प्रवेश गर्दा फरक भुमिकामा अभिनय गर्ने चाहना अनुरुप आफु पनि भिन्न भुमिकामा देखिने बताइन्।

फिल्मकी निर्मात्री गोमा थापा विष्टले कथाले आफुलाई तानेकाले लगानी गरेको बताइन्। ‘निर्देशकले फिल्मको कथा सुनाउनुभयो। कथा मलाई युनिक लाग्यो। त्यसकारण पनि फिल्ममा लगानी गरेकी हुँ’, गोमाले भनिन्। फिल्ममा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंहलगायतको अभिनय छ। प्राची फिल्मस् र डिआर फिल्मस्को ब्यानरमा गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले फिल्ममा लगानी गरेका छन्।

प्रकाशित: १५ माघ २०७५ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App