१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

काठमाडौं महानगरपालिका– २९ का समस्या

‘यहाँ टोलैपिच्छे समस्या छ’
(तुलसीदेवी राई ‐स्थानीय, घट्टेकुलो)
यहाँ टोलैपिच्छे समस्या छ। वडाले हामी पहल गर्दै छौं  भने पनि केही पनि काम हुन सकेको छैन। जनअपेक्षा बोलीभन्दा काम हुनु पर्छ भन्ने हो थोरै पानी पर्दा पनि पानी जमेर पुतली सडक क्षेत्र समस्याग्रस्त हुने गरेको छ। फराकिलो बनाउने क्रममा जताततै बाटो लथालिंग भएको छ। सिंहदबार क्षेत्र त यस्तो छ भने दूरदराजको गाउँबस्ती कस्तो होला ? खानेपानी हप्तामा एक चोटि मात्रै आउने गर्छ। कहिलेकहीँ भनेको बेला पानी आउँदैन। पानी पर्खिंदापर्खिंदै त्यत्तिकै दिनै बिताउनु परको स्थिति छ। वडाबासीले  प्रायः जारकै पानी किनेर खानु परेको छ। टेलिफोन र विद्युतको तार लत्रिएर बस्ती कुरूप बनेको छ। सडक व्यवस्थित छैन। यसकै कारण पलपलमा दुर्घटना हुने जोखिम बढेको छ। वडाले महिलामैत्री केही काम गरेको छैन। वडामा महिलाहरू घरेलु हिंसाबाट पीडित छन्। काम गर्दा सानो भइन्छ भन्ने सोचले घर भएका महिलाहरू पनि बेरोजगार दिन बिताइरहेका छन्। यस्तो अवस्थामा वडाले कुनै प्रभावकारी तथा सिर्जनशील कार्यक्रमहरू ल्याउन सकेको छैन। म प्रतिनिधि भएको भए सबैसित हातमा हात मिलाउँदै वडाको उन्नयनमा लाग्ने थिएँ। उन्नतीस महिला समूह र सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत् विभिन्न काम गर्दै छु। बुढ्यौली जीवनलाई सहज बनाउन र बालबालिकाहरूको चौतर्फी विकास गराउने लक्ष्यले दिनहुँ कसरत र नाचगान गराउने व्यवस्था गरकी छु। वडाले खेर गइरहेको जनशक्तिलाई उपयोग गर्न सकेको छैन। महिला सशक्तीकरण तथा युवा स्वरोजगारका लागि केही काम भएको छैन।

‘वडाले डुबान पीडितका लागि मलमपट्टी गर्न सकेनन्’
(सीता शर्मा फुयाल ‐स्थानीय, घट्टेकुलो)
चुनावको बेला घरघरमा सुविधा, घरघरमा सिंहदरबार भन्नुहुन्थ्यो। तर अहिलेसम्म खासै केही परिवर्तन देखिएको छैन। यहाँ कुनै गतिला सडक छैनन्। पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हैरानी खेप्नु परेको छ। एक वर्ष नबित्दै कालो पत्रे सडक भत्किने गरेको छ। कहीँकहीँ मात्रै सडक बत्ती राखिएको छ। राखेको ठाउँमा पनि अढाई तीन महिना नहुँदै बिग्रिने गरेको छ। सडक बत्तीको मर्मत नहुँदा रात्रिसेवा प्रभावित हुने गरेको छ। वडामा सार्वजनिक शौचालय नहुँदा निकै समस्या हुने गरेको छ। फोहोरमैलाको कारणले अनेक रोगको सिकार हुनु परेको छ। घरधनीहरूले मनपरी ढंगले भाडा असुलिरहेका छन्। वडाले घरभाडासम्बन्धी खासै कुनै नीतिनियमै बनाएको छैन। शान्तिसुरक्षाको अभावमा सधैंै डरत्रासमा बाँच्नु परेको छ। यहाँ दिनदहाडै चोरीडकैती हुने गरेको छ। धोवी खोलाको डुबानले सयौं घरपरिवार प्रभावित भए। वडाले डुबान पीडितका लागि मलमपट्टी गर्न सकेनन्। खोलाको माटोलाई निकालेर काममा ल्याउने  होे भने यो समस्या आफैं हल हुने थियो। धोवी खोला दुर्गन्धित हुँदा जनजीवन निकै कष्टकर छ। आगलागी हुँदा दमकल छिराउने बाटो छैन।

‘राम्रो काममा वडालाई सघाउने छु’
(शिवराम राजवंशी ‐स्थानीय, मैतीदेवी)
वडामा राम्रा काम हुँदाहुँदै पनि गुनासो गर्ने ठाउँहरू पनि प्रशस्तै छन्। बिहान र साँझ नहुँदै फुटपाथे व्यापारीले सडकपेटी भरिन्छ। जतातै तरकारी र फलफूल राखिएको हुन्छ। यसले गर्दा हिँड्डुल गर्न समस्या छ। वडाले उनीहरूलाई त्यसै हटाउन मिल्दैन। यहाँ सार्वजनिक जग्गा प्रशस्त छ। केही गरेर खान्छु भन्नेहरूलाई व्यवस्थित गर्न सक्नु पथ्र्यो। सुरक्षाको दृष्टिले पेटीमा रेलिङ हाल्न अनुरोध गरे पनि काम भएको छैन। सबै मिलर काम गर्ने हो भने आफ्नो ठाउँ त्यसै बन्छ । देउला टोलमा आफ्नै ७६ हजार रकमबाट ब्लक छाप्ने काम गरेर वडालाई सघाएको छु । कालिनचोक मार्गमा ट्रयाक खोलेका छौं। मैतीदेवी चोकमै बेनीगोपाल मन्दिर बनाउँदै छौं। धेरै पहिले शिलान्यास भएको वडा भवन निर्माणको काम छिट्टै सुरु हुन्छ भन्ने आशमा छु । नेपाल सरकारले कृष्णसेन इच्छुक र जेष्ठ नागरिकलाई ४० वर्षका लागि जग्गा दिएको छ। कृष्णसेन इच्छुक भवन बनेको छ। तर जेष्ठ नागरिक भवन अझै बनेको छैन। वडाले ऐतिहासिक महत्वका धाराहरूको खोजीनीति गर्नुपर्छ। सार्वजनिक जग्गाको  पहिचान र संरक्षण गर्नुपर्छ। यसका लागि वडालाई सहयोग गर्न तयार छु।

‘परिवारमैत्री वडा बनाउने छु’
(कुश ढकाल ‐वडाध्यक्ष)
वडामा महत्वपूर्ण कामहरू गर्दै छु। लत्रिएको तारलाई व्यवस्थित गर्न दूर संचार तार र विद्युत् प्राधिकरणको तारलाई छुट्टाछुट्टै राख्ने योजना छ। सबैतिरकोे समस्या भनेको ग्याँसको सिलिन्डर पनि हो। घरको कोठैपिच्छे ग्याँसको सिलिन्डर हुन्छ। ग्याँस सिलिन्डर बमभन्दा खतरा हुन्छ। ग्याँस पड्किएर पूरै गावै प्रभावित हुन्छ। यसबाट बँच्न वडामा विपद् व्यवस्थापन तालिम दिँदै छु । हामी अझै फायल युगमा छौं। अनलाइन सिस्टमको व्यवस्था गरेर घरैमा बसीबसी धेरै काम गर्ने सकिने व्यवस्था मिलाउँदै छु। सार्वजनिक जग्गामा कियापुत्री भवन, जेष्ठ नागरिक भवन, वडा कार्यालय भवन र सार्वजनिक शौचालय बनाउँदै छु। मैले वडाध्यक्ष हुनुअघि नै कोरिडरको बाटो धेरै राम्रो बनाएको थिएँ । ढलहरूलाई व्यवस्थित गर्ने छु। यसपालि बिना गुरुयोजना अतिक्रमण गरेर घर बनाएको हुँदा धोवी खोलाको अनामनगर र देवीनगर क्षेत्रले डुबानको पीडा खेप्नु पर्‍यो। यस्ता खाले जोखिमबाट बँच्न वडामा दीर्घकालीन योजनाहरू ल्याउँदै छु। आफ्नो ठाउँ बने हामी नै मजबुत हुन्छौं। कसैले कसैलाई हेयको दृष्टिले हेर्नु हुँदैन। हामी सबै एउटै हौं भन्ने भाव जगाउँदै परिवारमैत्री वडा बनाउने लक्ष्यमा सधैं लागिपर्ने छु। प्रस्तुति : श्रीराम राई

प्रकाशित: १४ माघ २०७५ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App