१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तोकिएको मूल्यमा भन्दा १२% घटाएर उखु किन्दै उद्योगी

तहटको गरुडास्थित श्रीराम सुगर मिल्सका व्यवस्थापक र किसान प्रतिनिधि उखु आपूर्तिबारे छलफल गर्दै। तस्बिर : मदन/नागरिक

रौतहट – रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले सरकारले तोकेको मूल्यभन्दा १२ प्रतिशत घटाएर उखु किनिरहेको तथ्य बाहिर आएको छ। उखु उत्पादक महासंघले उखुको मूल्य नतोकिए उद्योग चल्न नदिने अडान राखेपछि सरकारले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँको दरले तोकेको थियो।

किसान र उद्योगी बीच मूल्य निर्धारणको विषयमा पटक पटकको वार्ता नमिलेपछि पुस महिनाको अन्तिम साता सरकारले हस्तक्षेप गरेर उखुको मूल्य तोके पनि उद्योगीले चिनीको बजार मूल्यभन्दा उखुको मूल्य बढी भएको भन्दै केही दिन अस्विकार गरेका  थिए। 

किसानले सरकारले तोकेको मूल्य नदिए उद्योग चलाउन नदिने र उखुसमेत नदिने अडान राखेपछि महोत्तरीको बर्दीबासमा उखु उत्पादक महासंघ र चिनी उत्पादक संघका पदाधिकारीले सरकारले तोकेको मूल्यमै उखु किन्ने सहमति गरे पनि रौतहटका गरुडास्थित श्रीराम सुगर मिल्सले किसानले उत्पादन गरेको केही जातको उखुमा चिनीको मात्रा कम भएको भन्दै तोकेको मूल्यभन्दा कममा किन्ने नत्र नकिन्ने अडान राखेका थिए।

उखु उत्पादक संघ र मिल्स प्रबन्ध पक्षबीच बिहीबार श्रीराम सुगर मिल्समा छलफलपछि उखु लिने सहमति भएको छ। तर, ९३०२ जातको उखु लिँदा १२ प्रतिशत कटाइ गरेर मात्रै भुक्तानी दिने सहमति भएको उखु उत्पादक संघ रौतहटले जनाएको छ।

उखु उत्पादक संघका अध्यक्ष अशोक यादव र मिल्सका प्रमुख पिके झाबीचको छलफलपछि मौखिक रुपमा ९३०२ ‘जयनाथ’जातको उखुमा चिनीको मात्रा कम भएकाले प्रतिक्विन्टल १२ प्रतिशतका दरले घटाएर लिने सहमति गरेको बैठकमा सहभागी उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए। 

रौतहटका झन्डै ३० प्रतिशत किसानले ९३०२ जातको उखुखेती गरेका छन्। तर मिल्सले सो जातको उखु लिन आनाकानी गर्नुका साथै तौल घटाएर मात्र लिने बताएपछि किसान समस्यामा परेका छन्।

९३०२ जातको उखुमा माघपछि चिनीको मात्रा कम हुन थालेपछि मिल्सलाई नोक्सानी हुने हुँदा उक्त जातको उखु लिन उद्योगले आनाकानी गर्न थालेपछि किसान समस्यामा परेका हुन्। प्रायः मंसिर महिनाको दोस्रो सातादेखि सञ्चालनमा आउने मिल्स उखुको मूल्य निर्धारण नभएर समयमा सञ्चालनमा आउन नसकेका कारण त्यसको मर्का उखु किसान बेहोर्नु परेको बताइएको छ।

मिल्ससम्म किसान उखु पुर्‍याउँदा ढुवानी खर्च बढेपछि तौलमा कटौती हुँदा किसानले घाटा सहनु परेको बृन्दावन नगरपालिका नरकटिया टोलका अगुवा किसान संजिवप्रसाद जयसवालले बताए। हामीले उत्पादन गरेको उखुमा १२ प्रतिशत कटा गरेपछि प्रतिक्विन्टल ६४ रुपैयाँ ३२ पैसा घटाएर प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ ६८ पैसामा चिनी मिलले किन्ने अगुवा किसान जयसवालले बताए। 

२०६६ मा तत्कालीन उखु उत्पादक संघका अध्यक्ष जयनाथ यादवको नेतृत्वमा श्रीराम सुगर मिल्सका उखु उत्पादक टिमले भारतको कानपुरबाट ९३०२ जातको उखुको बिऊ ल्याएर किसानलाई उखु खेती गर्न लगाएका थिए। निकै कम समयमा बढी आम्दानी दिने जात भएको तर माघको दोस्रो सातादेखि उखुमा चिनीको मात्रा कम हुन थालेपछि मिल्सलाई घाटा पर्ने बहाना बनाएर उक्त जातको उखु लिन अनाकानी गरेपछि मिल्स प्रबन्ध पक्ष र किसान प्रतिनिधिबीच १२ प्रतिशत घटाएर उखु लिने मौखिक सहमति भएको उखु उत्पादक संघका अध्यक्ष यादवले बताए।

गत श्रीराम सुगर लागायत अन्य मिल्सले १० प्रतिशत घटाएर उक्त जातको उखु खरिद गरेका थिए। गत वर्षभन्दा दुई प्रतिशत थपेर यसपालि १२ प्रतिशत घटाएर उखु लिन थालेपछि किसानलाई निकै घाटा लाग्ने अध्यक्ष यादवले बताए। 

श्रीराम सुगर मिल्सका उखु महाप्रबन्धक पवन कुमार झाले ९३०२ जातको उखुमा १२ प्रतिशत, बिओ १५०, कल्क ८१०२ (लोहासिंह) तथा कास ९१२६९ (शेरेपंजाव) जातमा पाँच प्रतिशत घटाएर उखु किन्ने मौखिक सहमति भएको बताए।  

यी जातको उखुमा चिनीको मात्रा कम हुने र पछि रस घटेर बोक्रा धेरै भएका हुनाले गत वर्षदेखि यसको खेतीमा प्रतिबन्ध लगाएको बताउँदै उखु महाप्रबन्धक झाले मिल्स पक्षले गत वर्ष नै उखु नलिने पटक पटक सूचना जारी गरेको भए पनि पुनः खेती गरेपछि उद्योगीलाई निकै घाटा बेहोर्नु पर्ने भएकाले प्रतिशत घटाएर उखु किन्ने मौखिक सहमति भएको बताए। 

रौतहटका करिब दुई हजार बिघामा ९३०२ जात र एक हजार बिघामा अन्य जातको उखु खेती भएको उखु प्रबन्धक झाले प्रस्ट्याए। जिल्लामा जम्मा साढे आठ हजार किसानले उखु खेती गरेको छ। जसमध्ये ३० प्रतिशत किसानले यस्तो खेती गरेको बताए। किसान उखु खेती गर्दा मिल्सका जेटिअसँग सलाह गरेर उखु खेती गर्न समेत उखु महाप्रबन्धक झाले सुझाव दिए।

रौ

प्रकाशित: १४ माघ २०७५ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App