१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

व्यापारमा व्यापकता

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा गत शुक्रबार पत्रकार सम्मेलनमा निकै प्रफुल्ल देखिनुको कारण छ। उनका अनुसार नेपालले वर्षाैदेखि राख्दै आएको विद्युतीय कार्गो ट्र्याकिङ प्रणालीको माग भारतले पूरा गरेका कारण भारत भएर हुने तेस्रो मुलुकसँगको नेपालको व्यापारमा यो प्रणाली कोसेढुंगा बन्न सक्छ। गोल्छा मात्र होइन सम्मेलनमा सहभागी सबै उद्योगी व्यापारीहरुले कार्गो प्रणालीको खुलेर प्रशंसा गर्दै यसले व्यापार व्यवसायमा ठूलो फड्को मार्ने धारणा राखेका छन्। नेपालको कुल व्यापारमध्ये ७० प्रतिशतभन्दा बढी भारतसँग हुँदै आएको छ। नेपालले तेस्रो मुलुकबाट ल्याउने सामान पनि अधिकांश भारत भएर ल्याउँछ। तर भारत भएर आउने र भारतसँगको आफ्नै व्यापारमा पनि उद्योगी व्यवसायीले सधैं झन्झट व्यहोर्नुपरेको छ। यस्तो बेलामा लागू हुन लागेको यो प्रणालीले व्यापारीलाई स्वाभाविक रुपमा खुसी बनाएको हो।

कोलकातास्थित सीमा शुल्क आयुक्तको कार्यालयले गत शुक्रवार सार्वजनिक सूचना जारी गर्दै नेपालका लागि आगामी फागुन ३ देखि कार्गो ट्र्याकिङ प्रणाली लागू हुने बताएको छ। नेपाली पक्षको लामो समयदेखिको मागमा भारतको ‘केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड’ (सिबिआइसी) ले सहमति दिएपछि यो प्रणाली लागू हुने भएको हो। यो प्रणाली लागू भएपछि अब नेपाली व्यवसायीले तेस्रो मुलुकबाट मगाएका सामान सीधै नेपालको वीरगन्जस्थित सुख्खा बन्दरगाहबाट लिन पाउनेछन्। यो भनेको तेस्रो मुलुकसँगको व्यापारमा नेपाल अब सीधै गन्तव्य बनेको छ। नेपालले प्रयोग गर्ने भारतका बन्दरगाह अब ‘ट्रान्ससिपमेन्ट’ कन्टेनर ढुवानीको एउटा साधनबाट अर्कोमा हालेर अगाडि बढाउने थलो मात्र हुनेछन्। अर्कोतिर यो प्रणाली लागू भएपछि विदेशबाट आउने नेपाली कार्गो भारतीय बन्दरगाहमा कागजी झन्झट र भन्सार प्रक्रियाबाट मुक्त हुनेछन्। यो प्रणाली यसअघि बिशाखापटनम् बन्दरगाह भएर आउने कार्गोमा लागू गरिएको थियो। अहिले कोलकाता र हल्दिया बन्दरगाहबाट रेलमार्पmत हुने ढुवानीमा लागू हुन लागेको हो। यसलाई सडकबाट आउने कन्टेनरमा पनि लागू गर्न नेपाली पक्षले माग राख्दै आएको छ। विशाखापटनम्बाट धेरै सामान नआउने भएकाले कोलकातामा यो सुविधा पाउनु नेपाली व्यवसायीका लागि बढी फाइदा पुग्नु हो। नयाँ व्यवस्था लागू भएपछि तेस्रो मुलुकसँगको नेपालको व्यापारमा व्यवसायीले दर्जनभन्दा बढी फाइदा पाउनेछन्। नेपाली व्यवसायीले वर्षौदेखि बेहोर्दै आएको करोडौं रुपैयाँ बराबरको ‘डिटेन्सन चार्ज’ (विलम्ब शुल्क) जोगिनेछ। आयात व्यापारमा लाग्ने समय पनि घट्नेछ। यसले लागत कम भई उपभोक्ताले सस्तोमा सामान पाउने वातावरण बन्नेछ। एउटा कन्टेनरमा कम्तीमा पनि ४० हजार रुपैयाँ नेपाली व्यवसायीको खर्च कम हुनेछ। ‘डिटेन्सन’, ‘डेमरेज’ का साथै अन्य अनावश्यक खर्चबाट व्यवसायीले मुक्ति पाउनेछन्। यस्तै तेस्रो मुलुकसँगको नेपालको व्यापारका लागि प्रयोगमा रहेका तीनवटै बन्दरगाहमा कागजी झन्झट र भन्सार प्रक्रिया हटाएपछि आयातमा पर्ने अधिक समय, जरिबाना र अरू अनपेक्षित खर्च कटौती हुनेछ। नेपाल आउने कन्टेनर भारतीय बन्दरगाह पुगेपछि त्यहाँ ‘सिटिडी’ जारी भएर नेपाली कार्गो नेपालसम्म ल्याउन १५ दिन समय पाउने गरेको छ। पहिले विलम्ब हुँदा निर्धारित अवधिपछि आयातित सामानको मूल्यको ०.१ प्रतिशत आयातकर्ताले भारत सरकारलाई तिर्नुुपर्ने बाध्यता थियो। अब यो अवस्था हट्नेछ।

विद्युतीय कार्गाे ट्र्याकिङ प्रणाली लागू भएपछि तेस्रो मुलुकसँगको नेपालको व्यापारमा व्यवसायीहरूले दर्जनभन्दा बढी फाइदा पाउनेछन्। नेपाली व्यवसायीले वर्षौंदेखि बेहोर्दै आएको करोडौं रुपैयाँ बराबरको ‘डिटेन्सन चार्ज’ (विलम्ब शुल्क) जोगिनेछ। आयात व्यापारमा लाग्ने समय पनि घट्नेछ। यसले लागत कम भई उपभोक्ताले सस्तोमा सामान पाउने वातावरण बन्नेछ।

कोलकाताबाट वीरगन्ज सामान आइपुग्न एक महिनाभन्दा बढी समय लाग्दै आएकोमा यो प्रणाली लागू भएपछि कोलकाताबाट वीरगन्जसम्मको रेलवे ढुवानी चारदेखि पा“च दिन मात्र लाग्नेछ। यो प्रणाली लागू भएपछि सामान क्लियर गर्दा सबै कागजी प्रक्रिया हट्नेछन्। यसअघि कोलकातास्थित पोर्ट तथा कार्गो क्लियरेन्समा ८–१० किसिमका कागज पेस गर्नुपर्ने र करिब दुई दर्जन टेबुलमा हस्ताक्षर गराउँदै जानुपर्ने झन्झटबाट अब मुक्ति मिल्नेछ। खुला सिमाना र भौगोलिक अवस्थिति सजिलो भएका कारण चीन र अन्य मुलुकहरुको तुलनामा भारतसँगको हाम्रो व्यापार ज्यादै बढी छ। एक किसिमले व्यापारिक क्रियाकलापमा हामी भारत निर्भर छांै। तर व्यापारिक गतिविधिमा वर्षौंदेखि भारतको हामीप्रतिको रबैया राम्रो छैन। नेपालको व्यापारलाई अवरोध गर्न र नेपाली व्यवसायीलाई समस्या पार्न पाए खुसी हुने जस्तो नीति भारतको देखिन्छ। नेपाल र भारतबीच व्यापारिक गतिरोध समाधान गर्न बेलाबेलामा हुने द्विपक्षीय व्यापार वार्तामा पनि भारतको चासो समस्या समाधानतर्फ देखिँदैन। ऊ जहिल्यै ठुल्दाइको भूमिकामा नै रमाउने गरेको छ। तर यसपालि विद्युतीय कार्गो ट्र्याकिङ प्रणालीमा सहमति जनाएर भारतले नेपाली व्यापारप्रति उदारता देखाएको छ। आयात व्यापारलाई मात्र होइन, यो प्रणाली राष्ट्रिय सम्मानका लागि पनि गौरवको विषय हो। दुई मुलुकबीच अन्य धेरै व्यापारिक मुद्दा छन्। यस्ता मुद्दाहरुमा पनि भारतले सहृदयी भूमिका खेले अकासिँदो व्यापार घाटाबाट थिचिएको नेपालले व्यापारिक गति लिन सक्छ। साथै यसले दुई देशबीचको सम्बन्ध थप हार्दिकतापूर्ण समेत बनाउन मद्दत गर्नेछ।  

प्रकाशित: १४ माघ २०७५ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App