१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा पहिरोले पुरिएर दुई बेपत्ता

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका –४, हिन्दुङमा गएको पहिरोमा बेपत्ताहरूको खोजीमा जुटेका स्थानीय। फोटो सौजन्य : सांसद जगत सिम्खडा

धादिङ - उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ४, हिन्दुङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन्। लगातार हिमपातपछि गएको पहिरोमा परी स्थानीय १८ वर्षीय धनबहादुर तामाङ र ४५ वर्षीय नुर्बु तामाङ हराएका हुन्। स्थानीय र प्रहरी मिलेर उनीहरूको खाजी गरिरहेका छन्।

घर नजिकैको जंगलमा भेडाबाख्रा स्याहार्न गएका बेला उनीहरूलाई पहिरोले पुरेको हो। पहिरोले २ सय ६० भेडाबाख्रा पनि पुरिएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। रुबीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट पाँच घन्टा हिँडेर प्रहरी टोली घटनास्थल हिन्दुङ पुगेको छ। उक्त स्थान अत्यन्त विकट क्षेत्रमा पर्ने प्रहरीले जनाएको छ। ठूलठूला ढुंगा र चट्टानका कारण पहिरो पन्छाउन नसकिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए। ‘स्थानीय र प्रहरीले मात्रै पहिरो पन्छाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘उद्धारका लागि सरकारलाई अनुरोध गरेका छौं।’ घटनापछि जिल्ला सुरक्षा समितिको बैठक बसी औजारसहित नेपाली सेना पठाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

हिमपातबाट बच्न भेडीगोठ सारेर ओडारमा बसेका बेला पहिरो आई उनीहरूलाई पुरेको प्रहरीको अनुमान छ। शुक्रबारदेखि नै जारी हिमपातका कारण गोठ पुरिएपछि गोठालाहरू नजिकैको ओडारमा ओत लाग्न गएका थिए। पहिरोमा पुरिएर बेपत्ता भएको खबर आएपछि सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकाल, प्रतिनिधिसभा सदस्य (सांसद) जगत सिम्खडा, पूर्व गृहमन्त्री बुद्धिमान तामाङसहितको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको थियो।

प्रकाशित: १४ माघ २०७५ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App