२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार दोस्रो वर्षलाई प्रशंसाको वर्ष बनाउने गरी अघि बढ्नुपर्छः पूर्वप्रम नेपाल

फाइल तस्बिर

नुवाकोट– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकार कसैको खण्डन नगरी सुन्ने, हेर्ने, विचार गर्ने, लागु गर्ने र कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन्। 

प्रेस चौतारी नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले पार्टीमा सरकारको नेतृत्व गरिसकेको अनुभवी व्यक्तित्वहरु रहेकोले सल्लाह सुझावलाई एकीकृत गर्दै अघि बढेमा आइपर्ने धेरै समस्याको चिरफार हुने बताए। बहुमतबाट सरकार गठन भएकोले विकासको काममा अग्रसर हुनुपर्ने भन्दै नेपालले पहिलो वर्षको सिकाईलाई अवलम्बन गर्नु पर्ने बताए। 

‘देश विकासले अब गति लिन्छ, लिनैपर्छ। एक वर्षको सिकाईलाई आत्मसाथ गर्दै लोकप्रिय बजेटको वर्षको रुपमा लिने गरी, पहिलो वर्ष गुनासोको वर्ष थियो भने दोस्रो वर्षलाई प्रशंसाको वर्ष बनाउने गरी अघि बढ्नुपर्छ’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘नेपाली जनताले कम्युनिस्ट सरकारबाट जुन आशा गरेका छन्। सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई साकार पार्नतर्फ  लाग्नुपर्छ।’ 

अघिल्लो सरकारहरुको पालामा पाँच वर्षमा पूरा हुन नसकेको काम तीन वर्षमा सकाउन सरकार प्रयत्नशील रहेको नेता नेपालले बताए। ‘कामको गति तीव्र हुनुपर्यो। राज्यको सबै निकायसँग समन्वय हुनुपर्यो। विकासको कामलाई अगाडि बढाउँदा पर्यावरण, वन, टेलिफोनका टावर, विजुलीको पोल जस्ता पक्षहरुले अवरोध पु-याएको छ। समन्वयात्मक भूमिकाबाट अवरोधको गाठो फुकाउनुपर्छ।’ 

पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले काङ्ग्रेस पार्टीबाट केही काम हुँदैन भन्ने जनतालाई लागि सकेकोले आशा अपेक्षा गर्ने पार्टी कम्युनिष्ट पार्टीलाई ठान्न थालेको दाबी गरे। घाम लागे धुलैधुलो, पानै परे हिलैहिलोको अवस्था जताजतै रहेकोले जनप्रतिनिधिले ठेकेदारहरुलाई  निगरानीमा राखेर काम गर्न लागाउनुपर्ने उनको भनाई छ। ‘कमिसन खान पल्केकाहरुको कारणले गर्दा निर्माण व्यवसायीहरुको काम चित्त बुझ्दो छैन। तोकिएको समयमा गुणस्तरीय काम नगर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाइृ पुरस्कृत गर्ने नीतिको खाँचो छ’, नेपालले भने, ‘अपराधीलाई छाड्नुहुन्न। भ्रष्टाचार गर्नेलाई तह लगाउनुपर्छ। अन्याय गर्नेलाई हामी छाड्दैनौ’, 

प्रकाशित: १३ माघ २०७५ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App