१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'फेवाताल जोगाउने यो अन्तिम अवसर'

पोखरा- मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको अस्तित्व संकटमा छ। सर्वोच्च अदालतले फेवातालको संरक्षणका लागी गरेको पछिल्लो फैसला जीवनबुटी बनेको बुझाई छ गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीको को। पहारी फेवाताल रहेकै क्षेत्र कास्की ३ (ख) का सांसद हुन्। तालको संरक्षणका लागि निरन्तर अभियानमा लागेका पहारीले फेवा किनारमा ताल संरक्षाका केही उपाय सुनाए। सर्वोच्चको आदेश कार्यान्वयन गराउन प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरेको छ। उक्त समितिमा पहारी पनि छन्। बैदाममै जन्मे हुर्केका पहारीले आफ्नो बाल्यकाल फेवाताल किनारामै वितेकाले पनि विशेष 'अट्याचमेन्ट' रहेको बताउँछन्।

'हामी फेवातालकै पानी पिएर हुर्कियौं। हाम्रो परिवार टोल छिमेक वा भनौ बैदाममा बस्नेहरु यही तालको पानी पिएर हुर्किए। तर अहिले न तालको पनी स्वच्छ छ न यसको जीवन खतरा मुक्त', पहारीले भने, 'हाम्रै आँखा अगाडि ताल पुरिंदै गएको छ। यसलाई हामीले हेरेर मात्र बस्यौं भने भावी पुस्ताले फेवातालबारे कितावमा पढ्नु पर्ने अवस्था आउँछ। हामीले यो दुर्घटना हुनबाट बचाउनै पर्छ।'

फेवातालले लामो समयसम्म संरक्षक नपाएकै कारण अतिक्रमणमा परेको उनकोमा उनी प्रष्ट छन्। फेवातालको बारेमा कुरामात्र हुने तर संरक्षणको काम खासै नहुने समस्या अवको दिनमा आउन दिन नहुने उनको भनाइ छ।

उनले फेवातालको संरक्षणका चरणबारे गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नो योजना बुझाएको पनि सुनाए। सरकारले तत्काल अधिकार सम्पन्न फेवाताल संरक्षण प्राधिकरण गठन गरेर अघि बढ्दा धेरै काम हुने उनको बुझाइ छ। फेवातालबारे कसले काम गर्ने भन्ने अन्यौलता यसले हटाउने उनी बताउँछन्।

अहिलेको पहिलो प्राथमिकता सर्वोच्च अदालतले भने अनुसर तालको सीमाङ्कन ६ महिना भित्र गरेर क्षेत्रफल कामय गर्दै अन्य काममा लाग्न पर्नेमा उनी प्रष्ट छन्। ६ महिना भित्रमा कम्तिमा बाराही घाटबाट काम सुरु गरेर पूर्व र उत्तर तिरको काम सक्न पर्ने उनी बताउँछन्। बाराही घाटदेखि गौराको चौतारासम्म ६५ मिटर भित्र पर्ने ३ सय ३२ रोपनी जग्गा मध्ये १ सय ९ रोपनीमात्र व्यक्तिको नाममा भएको र अन्य जमिन सरकारी स्वामित्वमा भएकोले तुरुन्तै १ सय ९ रोपनीको अधिक्रहण प्रक्रिया थाल्नु पर्ने पहारीको सुझाव छ।

'मापदण्ड भित्र अहिले पनि निर्माण कार्य भइरहेका छन्', पहारी भन्छन्, 'अदालतबाट एउटा आदेश आएको छ तर ताल किनारमा निर्माण अहिले पनि रोकिएको छैन। महत्वपूर्ण काम निर्माण रोक्नु हो।'

व्यक्तिले दर्ता गरेको १६९२ रोपनी जमिन मन्त्रिपरिषदले निर्णय गरेर फेवातालको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गर्न ढिला गर्न हुँदैन। 

उनको विचारको अर्को महत्वपूर्ण काम मापदण्डभित्र बनेका संरचनाको तथ्याङक तीन महिना भित्र लिने र मुअब्जा दिनु पर्ने नपर्ने छुट्याउनु हो। व्यक्तिले दर्ता गरेको १६९२ रोपनी जमिन मन्त्रिपरिषदले निर्णय गरेर फेवातालको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गर्न ढिला गर्न नहुने उनी बताउँछन्।

फेवातालको स्वच्छताको पनि ख्याल गर्ने पर्ने पहारीको सुझाव छ। सबै पोखरेली मात्र होइन यहाँ आउने पर्यटकले पनि तालको प्रदुषण हुने काम गर्न हुँदैन। खपौंदीदेखी ड्यामसाइड सम्म वाइपास क्यानल बनाएर फेवातालमा मिसिने ढललाई डाइभर्सन गर्ने शुद्धिकरण गर्दा तालको स्वच्छता बढ्ने पहारीको बुझाइ छ।

तालको जलाधार क्षेत्रलाई गार्डेनिङ गर्ने, त्यस क्षेत्रमा उपयुक्त वाली गगाउने गरेमा तालको सुन्दरता बढ्ने हुँदा त्यो तर्फ काम अघि बढाउन राम्रो देखिने उनले बताए। प्राकृतिक अतिक्रमणबाट ताललाई बचाउन हर्पन, अँधेरी लगायतका खोलाका विभिन्न ठाउँमा सेलिटेसन ट्रयाप (पोखरी) बनाउँदा धेरै सुरक्षित हुने उनको बुझाइ छ। खहरे खोलामा चेक ड्याम बनाएर तालमा पस्ने माटो रोक्न सकिन्छ।

'फेवातालको बाँध पुरानो भइसक्यो', पहारी भन्छन्, 'बाँध जिर्ण भएको हुनाले एक मिटर उठ्ने गरि अर्को बाँध बनाउनु पर्छ। यसले तालको नयाँ स्वरुप पनि देखिन्छ।' चंखपुरदेखि मोहरे बगरको बिचमा वेगनास तालको जस्तै बाँध बनाउने र शुद्ध पानी मात्र तालमा पठाउन सके तालको जीवनमा धेरै फरक आउने उनले बताए। खहरे नजिक विगत ४ वर्षमा चिसा खोलाले ताल पुरिरहेको बताउँदै पहारीले भने, 'यसलाई तत्काल हटाउनु पर्छ।'

फेवाको ड्यामबाट सुरु गरेर चंखपुरसम्म र त्यसपछि प्रस्तावित मोहरेबगर सम्मको बाँध हुँदै पिस प्यागोडा निस्कने र फेरी ड्याम साइडसम्मको गरिब १४ किलोमिटर फेवा परिक्रमा पैदल मार्गको निर्माण गर्न सके पर्यटकको बसाइ एक दिन लम्विने र यसले आर्थिकरुपमा पनि फाइदा हुने उनको बुझाइ छ।

ताललाई प्रादेशिक गौरवको योजना घोषणा गरि आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्न आफ्नो माग रहेको उनले बताए। 'फेवाताल नेपालको मात्र होइन विश्वकै महत्पूर्ण प्राकृतिक सम्पदा हो', पहारीले भने। फेवातालले लामो समयसम्म संरक्षक नपाएकै कारण अतिक्रमणमा परेको उनकोमा उनी प्रष्ट छन्। फेवातालको बारेमा कुरामात्र हुने तर संरक्षणको काम खासै नहुने समस्या अवको दिनमा आउन दिन नहुने उनको भनाइ छ।

 

प्रकाशित: १३ माघ २०७५ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App