१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषि क्षेत्रको विकासमा सहकार्य गर्न जापान इच्छुक

काठमाडौं – जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाले कृषि क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। उनले नेपालमा अनुसन्धान र प्रविधिमा आधारित कृषिको विकासका लागि सहयोग गर्न जापान सरकार इच्छुक रहेको बताए।

‘नेपाल सरकारले कृषि क्षेत्रमा सहकार्यका लागि हामीसँग अनुरोध गरेको थियो,’ बिहीबार नेपालस्थित जापानी राजदूतको निवासमा आयोजित पत्रकार भेटघाटमा उपमहानिर्देशक नाकादाले भने, ‘नेपालमा के कस्ता सम्भावना छन्, त्यसको अध्ययन अनुसन्धानका लागि हामी अहिले नेपाल भ्रमणमा आएका छौं।’ आफ्नो नेतृत्वमा आएको टोलीले नेपालमा कृषि क्षेत्रको वर्तमान अवस्थाबारे अध्ययन गरी नेपालसँग सहकार्यका सम्भावित क्षेत्रबारे सुझाव प्रस्तुत गर्ने उनले बताए।

‘नेपाल सरकारको अनुरोधपछि हामीले थालेको यो पहिलो प्रक्रिया हो। यस क्रममा हामीले विभिन्न जिल्लामा भ्रमण गरी कृषक समूह, दूध संकलन केन्द्र, कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धानमा क्रियाशील गैरसरकारी संस्था लगायतको अवलोकन तथा सरोकारवालासँग छलफल गर्‍यौं,’ उपमहानिर्देशक नाकादाले भने, ‘नेपालको अर्थतन्त्रमा प्रमुख योगदान पुर्‍याइरहेको कृषि क्षेत्रमा लगानी र सहकार्यको लागि प्रशस्त सम्भावना देखिन्छ।’ विशेषगरी, नेपालको कृषि उत्पादकत्व र उत्पादनको गुणस्तर बढाउन सहकार्य गर्न सकिने उनले बताए। तर, अहिले नै कृषिको कुन क्षेत्रमा लगानी वा सहकार्य गर्ने भन्ने ठोस् निष्कर्षमा पुगिनसकिएको उनको भनाइ छ।

‘अब हामी नेपाल सरकारको तर्फबाट ठोस् प्रस्ताव आउने अपेक्षामा छौं, प्रस्ताव आउनसाथ हाम्रो तर्फबाट प्रक्रिया अगाडि बढाउँछौं,’ उपमहानिर्देशक नाकादाले भने। उनले सिँचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरु इच्छुक रहेको बताए। जापानको निजी क्षेत्र पनि नेपालको कृषि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउँदै उनले दुई मुलुकका सरकारबीच मात्र नभइ निजी क्षेत्रबीच पनि सहकार्य अगाडि बढाउन सकिने धारणा राखे। 

कृषिको उत्पादकत्व बढाउन अनुसान्धान र प्रविधिमा आधारित खेती प्रणालीमा जोड दिनुपर्ने उनले बताए। कृषिलाई व्यावसायीकरण गर्न सके ठूलो रोजगारीको अवसर सिर्जना हुने उपनिर्देशक नाकादाको भनाइ छ। नेपालको कृषि अनुसन्धान, उत्पादन र बजारीकरणमा लगानी गर्नुपर्नेमा उनले जोड दिए।

जापानी राजदूत मसामिची सैगोले फरक–फरक खालका कृषि उत्पादन पहिचान गरी त्यसको प्रवद्र्धन र कृषकको आय बढाउने योजना मुख्य प्राथमिकतामा रहेको बताए। नेपालको कृषि उत्पादनलाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने कार्यमा सहयोग गर्न आफूहरु इच्छुक रहेको उनले प्रस्ट पारे।

प्रकाशित: १३ माघ २०७५ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App