१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्गानिक खेतीमा गोल्यान समूहको प्रवेश

झापा– मुलुकको अग्रणी व्यावसायिक घराना गोल्यान समूह अर्गानिक खेतीमा प्रवेश गरेको छ। समूहले प्रदेश १ को झापाबाट अर्गानिक खेती सुरु गरेको हो। 

अर्गानिक खेतीमा आफैं लगानी गर्र्नुका साथै किसानलाई पनि आकर्षित गर्ने योजनाका साथ अगाडि बढेको समूहले जानकारी दिएको छ। पवन गोल्यानको नेतृत्वमा रहेको समूहसँग पूर्वमोडल खुस्बु ओलीले सहकार्य गरिरहेकी छिन्। उनी आफ्नो संस्था आश्रय नेपालमार्फत किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गराउन सक्रिय छिन्। 

पछिल्लो समय खेती किसानी पेसा छाडेर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ। भएको जमिनमा खेती गर्नुभन्दा प्लटिङ गरेर बेच्ने प्रवृत्तिले खेतीयोग्य जमिन मासिँदै गएको छ। त्यसैको प्रभावस्वरुप विषादीयुक्त खाद्य पदार्थको आयात बढ्दो छ। यही अवस्थालाई मध्यनजर गर्दै गोल्यान समूहले अर्गानिक खेतीमा हात हालेको हो। 
अर्गानिक खेतीलाई मुलुकभर फैलाउने योजनाअनुसार झापाबाट काम सुरु गरेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए। यहाँ दुई सय बिघा जग्गा खरिद गरेर ‘पाइलट प्रोजेक्ट’का रुपमा फलफूल खेती सुरु गरिएको उनले बताए।

अध्यक्ष गोल्यानका अनुसार झापाको मदरगाछ, चकचके, घेराबारी लगायत क्षेत्रमा ४० करोड रुपैयाँ लागतमा जग्गा खरिद गरेर कागती, पपैया, खरबुजा, आँपको अर्गानिक खेती सुरु गरिएको छ। प्रचूर मात्रामा खेतीयोग्य जमिन भएको झापासहित तराईको एक हजार बिघा क्षेत्रफलमा अर्गानिक खेती गर्ने र बिस्तारै देशको पहाडी क्षेत्रमा जडीबुटी खेती गर्ने योजना रहेको गोल्यानले सुनाए। अर्गानिक खेतीका लागि उत्तर बंगाल विश्वविद्यालयको विज्ञ टोलीसँग सहकार्य गरिएको छ। 

‘हामी धेरै ठूलो रुपमा कृषिमा आउँदैछौं,’ उनले भने, ‘अर्गानिक फलफूल खेती गर्न अझै १० देखि २० करोड खर्च हुन्छ।’ जग्गा खरिद गर्न एसबिआई र जनता बैंकले ऋण प्रदान गरेको जानकारी दिँदै उनले गोल्यानजस्तै अरु ग्रुप पनि कृषिमा आउनुपर्नेमा जोड दिए। 

प्रदेश १ र २ ले देशभरी आवश्यक पर्ने खाद्यान्न पूर्ति गर्न सक्ने भन्दै उनले अन्य प्रदेशबाट उत्पादित वस्तु विदेश निर्यात गर्न गरी किसानसँगै अघि बढ्ने स्पष्ट पारे। ‘अर्गानिक खेतीले स्वास्थ्यसँगै किसानको आयआर्जन बढ्छ,’ अध्यक्ष गोल्यानले भने, ‘आयात घटाउन पनि अर्गानिक खेतीको महŒवपूर्ण भूमिका रहन्छ।’  
गोल्यान समूहसँग सहकार्य गरिरहेको आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले अर्गानिक खेतीमार्फत किसान मात्रै नभई कृषि पेसालाई नै माथि लैजाने लक्ष्य रहेको बताइन्। ‘नेपालभरी नै हरेक गाउँलाई मोडल भिलेजको रुपमा विकास गर्ने हाम्रो योजना छ। सरकार पनि सहयोगी छ,’ उनले भनिन्। 

गोल्यान समूहसँग मिलेर झापाका पाँचवटा नगरपालिकामा अर्गानिक खेती सुरु गरिएको जानकारी दिँदै ओलीले प्रत्यक्ष रुपमा दुई सय र अप्रत्यक्ष रुपमा एक हजार किसान आबद्ध भइसकेको दाबी गरिन। ‘हामी किसानलाई प्राविधिक खटाएर तालिम दिन्छौं, माटोको महŒव, विषादीयुक्त खाद्य पदार्थको दीर्घकालीन असर, क्यान्सरबारे सचेत गराउँदै आएका छौं,’ उनले भनिन्, ‘अर्गानिक तरकारी खेतीतर्फ किसान आकर्षित भइरहेका छन्। अर्गानिकमा ढाल्न गाह्रो हुँदो रहेछ, तर अबको एक वर्षमा चार सय किसान सहभागी गराउँछौं।’ उनका अनुसार किसानलाई अर्गानिक खेती गर्ने तरिकाबारे सिकाउन सुर्खेतदेखि काठमाडौंबाट जेटिए पढेका विद्यार्थी झापा आएका छन्।

तराईमा स्ट्रबेरी खेती
गोल्यान समूहले झापामा स्ट्रबेरी खेतीसमेत सुरु गरेको छ। जयन्त गोल्यान फाउन्डेसन र आश्रय नेपालको अगुवाइमा तराईमा पहिलोपटक १२ कट्ठा जमिनमा स्ट्रबेरी खेती सुरु गरिएको हो। अध्यक्ष गोल्यानका अनुुसार भारतबाट चार लाख बिरुवा ल्याएर खेती सुरु भएको छ। पुसमा रोपिएको स्ट्रबेरीको बिरुवामा फल लागिसकेको छ। प्राविधिकका अनुसार डिप भए तराईमा पनि स्ट्रबेरी बाह्रै महिना फल्छ।

उत्पादित अर्गानिक वस्तु बजारमा कसरी पुग्छ ?
किसानले उत्पादन गरेको अर्गानिक उत्पादन पनि गोल्यान समूहले नै खरिद गर्ने छ। यसका लागि झापा र काठमाडौंमा कोल्डस्टोर खोल्ने योजना छ। ‘किसानले उत्पादन गरेको वस्तु खरिदको ग्यारेन्टी लिएका छौं,’ अध्यक्ष गोल्यानले भने, ‘माटो ब्रान्डमा प्याकिङ गर्छाैं। प्रशोधन झापामै हुन्छ। किसानको बिक्री मूल्य तोक्छौं। अरुभन्दा सस्तो हुन्छ।’ 
एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यान राष्ट्र बैंकको १० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने व्यवस्थाअनुसार बैंकबाट तीन खर्ब लगानी कृषिमा हुनुपर्ने बताउँछन्। आफूहरुले कृषिका साथै ऊर्जामा पनि लगानी गरिरहेको उनले जानकारी गराए। ‘तीन सय अर्बको तेल एक दिनमा नेपाल भित्रिन्छ। यसलाई घटाउन ऊर्जामा लगानी आवश्यक छ,’ उनले भने। उनका अनुसार एनएमबीले कृषिमा १२ प्रतिशत लगानी गरिसकेको छ।

अर्का किसान पूण्य घिमिरेले अर्गानिकबाट रासायनिकभन्दा राम्रो उत्पादन भएको सुनाए। शिवसताक्षी–१ धरमपुरका किसान कृष्ण आचार्यले अर्गानिक खेतीबारे जानकारी पाएपछि आश्रय नेपालका प्राविधिक बोलाएरै तरकारी खेती सुरु गरेको बताए। 
किसान चन्द्रलाल थापाले अर्गानिक खेतीले खानाको स्वादै फरक परेको बताए। १५ कट्ठामा अर्गानिक तरकारी सुरु गरेका उनले भने, ‘प्राविधिकबाट ज्ञान लिएर राम्रो भइरहेको छ, गरौ जस्तो लाग्यो, आलु, सिमीजस्ता तरकारी खेती गरेका छु।’

उनले पहिले युरिया हालेर खेती गर्ने गरेको बताउँदै विषादी प्रयोग गर्दा खाद्य पदार्थ टिकाउ नहुने अनुभव सुनाए। ‘विषादी हालेर आलु फलायो भने चार महिना पनि टिक्दैन। अर्गानिक उत्पादन वर्षदिन सम्म रहन्छ।’ अरुले गरेको देखेर, सुनेर र ज्ञान लिएर अर्गानिक खेतीतर्फ लागेको थापाको भनाइ छ। 

प्रकाशित: १३ माघ २०७५ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App