१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चार ‘वाई १२–ई’ जहाज भाडामा दिने तयारी

काठमाडौं – नेपाल वायु सेवा निगमले दुर्गम क्षेत्रमा उडान गर्ने चार थान ‘वाई१२–ई’ जहाज चलाउन नसक्ने निष्कर्ष निकाल्दै भाडामा दिने तयारी थालेको छ।

जहाजको मर्मत र अप्रेसन खर्च आम्दानीभन्दा बढी हुने र अर्कोतिर जहाज चलाउन पाइलट पनि नपाउने समस्याले निजी कम्पनीलाई भाडामा दिन आन्तरिक तयारी थालिएको हो। मासिक वा वार्षिक निश्चित रकम तोकेर निजी क्षेत्रका एअरलाइन्स कम्पनीलाई भाडामा जहाज दिन निगम व्यवस्थापनले छलफल गरिरहेको स्रोतले बतायो।
यसअघि पनि निगमले ‘वाई१२–ई’ जहाज भाडामा दिने विषय अगाडि बढाएको थियो। ‘जहाज भाडामा दिन निगमभित्र बारम्बार कुरा उठिरहन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा निगमका एक अधिकारीले भने, ‘यस पटकचाहिँ भाडामा दिएर छाड्ने तयारीमा निगम छ।’ 

ती अधिकारीका अनुसार निजी क्षेत्रको यती एअरलाइन्सलाई जहाज भाडामा दिने विषयमा छलफल भएको हो। निगमका पदाधिकारी र यती एअरलाइन्सको व्यवस्थापनबीच जहाज भाडाको विषयमा अनौपचारिक छलफल भइरहेको छ। जहाज भाडामा लिन यती एअरलाइन्स मात्रै नभएर अन्य कम्पनी पनि इच्छुक रहेको निगम स्रोत बताउँछ। तर, निगमको मनसाय यती एअरलाइन्सलाई जिम्मा लगाउने रहेको दाबी स्रोतको छ।

निगमको लागि ‘वाई १२–ई’ जहाज निल्नु न ओकल्नु भएको छ। निगमले चार वर्षअघि ल्याएका यी जहाज नियमित उडान गर्न सकिरहेको छैन। उडान गरेर आएको आम्दानीबाट जहाजकै खर्च पुग्दैन। अर्कोतिर जहाज बिग्रँदा सामान पाउन पनि गाह्रो हुने निगमका कार्यकारी अध्यक्ष मदन खरेल बताउँछन्। ‘‘वाई१२–ई’ जहाज बारम्बार बिग्रिरहन्छन्,’ उनले शुक्रबार नागरिकसँग भने, ‘बनाउनलाई सामान नपाएरै गाह्रो हुने गरेको छ।’

जहाज लामो समयदेखि थन्किएर बसेका छन्। उनै खरेल निगमको कार्यकारी अध्यक्ष बनेर आएपछि सबै जहाज अप्रेसनमा ल्याउने भन्दै सञ्चालनमा ल्याएका थिए। पछिल्लो समयमा चारमध्ये तीनवटा जहाज अप्रेसनमा आएका थिए। तर, दुई साताअघि पाइलटले धोका दिएपछि अहिले एउटामात्रै जहाज अप्रेसनमा छ। त्यो एउटा जहाजले पनि पाइलटको कारण नियमित उडान गरिरहेको छैन। महिना दिनअघिसम्म दैनिक तीनदेखि चार उडान गर्दै आएको जहाजले अहिले सातामा चारदेखि पाँच उडानमात्रै गर्दै आएको छ। ‘वाई१२–ई’ जहाजका चार क्याप्टेन छन्। उद्धव घिमिरे, नृपेन्द्र भट्टराई, सन्जय बादे श्रेष्ठ र आङनुरी शेर्पा गरी चार पाइलटमध्ये उद्धव घिमिरे एअर बस चलाउन तालिम लिन इन्डोनेसिया गएका छन्। भट्टराई र श्रेष्ठले बिरामी भन्दै बिदामा बसेका छन्। प्रशिक्षक पाइलट शेर्पाले पनि राजीनामा दिएका थिए। निगमले शेर्पालाई भने थमाएर राखेको छ। अहिले ती शेर्पाले मन लागेको दिनमा एक उडान गर्छन्। मन नलाग्न बिदा भन्दै उनले पनि नियमित जहाज नउडाउने गरेको निगम स्रोत बताउँछ।

जहाज भएरै पनि विभिन्न कारणले थन्क्याएर राख्दा निगममाथि प्रश्न उब्जिने भन्दै जहाज भाडामा दिएर उम्कने तयारीमा निगम छ। यसैले पनि निगमले यसपटक भाडामा दिएरै छाड्ने तयारी गरेको स्रोत बताउँछ। 

निगमका सहप्रवक्ता नवराज कोइराला भने यो विषयमा त्यस्तो कुनै ठोस कुरा नभएको दाबी गर्छन्। ‘भाडामा दिने कुरा उठिरहन्छ,’ उनले भने, ‘अहिलेसम्म कुनै ठोस कुरा भने भएको छैन।’ पछिल्ला दिनमा निगमभित्र जहाज भाडामा दिने विषयमा कुनै अपौचारिक छलफल नभएको बताए। तर, निगम व्यवस्थापनले भने आगमी बोर्ड बैठकमै जहाज भाडामा दिने वा अरु कुनै विकल्प निकाल्ने विषयमा छलफल गर्ने तयारी थालेको बुझिएको छ। निगमले दुर्गम क्षेत्रका विमानस्थललाई लक्ष्य गरेर चारवटा ‘वाई १२–ई’ सिरिजका चीनबाट जहाज ल्याएको हो। पहिलो जहाज २०७१ कात्तिक १७ गते नेपाल आइपुगेको थियो। चार वर्षअघि ल्याइएका र पछिल्लोपटक ल्याइएको जहाज पाइलट, प्राविधिक कर्मचारी लगायत अभाव देखाउँदै नियमित सञ्चालनमा छैनन्।

 

प्रकाशित: १३ माघ २०७५ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App