१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आहा रारा गोल्डकप फागुन ९ देखि, पुरस्कार राशिमा वृद्धि

पत्रकार सम्मेलन गर्दै आयोजक। तस्बिर : नागरिक

पोखरा – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको १७औं संस्करणमा आइपुग्दा प्रतियोगिता मिति दुई दिन खुम्च्याइदिएको छ।  एन्फाले दिएको मिति फागुन ९ देखि १८ सम्मको छ।  जुन विगतका वर्षमा भन्दा दुई दिन कम हो।  दुई दिन कम हुँदा दुई क्लबलाई बाहिरै राख्नुपर्ने बाध्यता सहारा क्लबलाई यो संस्करणमा परेको छ।  तर अझै पनि १२ वटै क्लबलाई सहभागिता गराउन उद्दत सहारा क्लब छ।

‘एन्फाले दिएको मितिअनुसार नै प्रतियोगिता खेलाउँछौं,’ सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘विगतको भन्दा दुई दिन कम छ।  दुई दिनको कमीले बाहिर टिम खेलाउन समस्या छ।  तर एकै दिन दुई खेल खेलाएर भए पनि व्यवस्थापन गर्नेतर्फ जुटिरहेका छौं।  नभए १० टिमलाई मात्रै प्रतियोगितामा समावेश गरेर टुंग्याउनेछौं। ’ फाइनलअघि आरामको दिन राखिन्थ्यो।  तर अहिले लगातार खेल खेलाउनुपर्ने बाध्यता पनि छ।  आराम नहुँदा खेलाडीलाई थकान हुन्छ।  अझ १२ वटै टिम समावेश गरेको अवस्थामा खेलाडीलाई आरामसमेत पुग्दैन।  

यति बेला क्लबलाई अर्को चुनौती थपिएको छ।  प्रतियोगिताको पुर्वसन्ध्यामा पोखरा फुटबल स्टेडियम निर्माणको ठेक्का सम्झौतापछि सम्बन्धित कम्पनीले माटो परीक्षण सुरु गरेको छ।  गत वर्षको संस्करणमा प्यारापिट भत्काइएको थियो।  भत्काउँदै गरिएको अधकल्चो प्यारापिटमा बसेर दर्शकले आहा रारा गोल्डकपको सुरुआतदेखि फाइनलसम्म हेरेका थिए।  प्रतियोगिताको तयारी गरिरहँदा पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणले गति लिएको अवस्थामा गोल्डकप अन्यत्र सार्नुपर्ने बाध्यतायुक्त चुनौती क्लबलाई छ। 

रारा चाउचाउको उत्पादन हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको गोल्डकपमा यो वर्ष सहारा क्लबले पुरस्कार राशिमा समेत वृद्धि गरेको छ।  विजेताको हकमा भने ८ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।  दोस्रो पुरस्कार ४ लाख १ हजार प्रदान गरिने क्लबले जनाएको छ।  हिमा अस कन्सल्टेन्सीले दोस्रो पुरस्कार प्रायोजन गरेको पत्रकार सम्मेलनमा सुनाइयो।  रोयल इन्फिलिड बुलेट बाइक फेयर प्ले पुरस्कार प्रायोजकको रूपमा रहेको छ।  सर्वाधिक गोलकर्ता पुरस्कारको प्रायोजन सनराइज ड्राइभिङ स्कुल प्रालिले गरेको छ।  

प्रतियोगिताका लागि सहारा क्लब युकेले विभिन्न ट्रफी हन्तान्तरण गरेको छ।  युकेका महासचिव धनु थकालीले विभिन्न विधालाई प्रदान गरिने ट्रफी सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन्।  सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार रुपैयाँबाट सम्मानित गरिनेछ।  जसको प्रायोजन भने क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन्। 

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, पोखरा महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलिया, मुग्लान रेस्टुरेन्ट,वल्र्ड लिंकलगायतका विभिन्न संघसंस्थाले विशेष सहयोग गरेको क्लबका महासचिव विश्वराज बरालले बताए।  प्रतियोगिताका लागि क्लबले १ करोड ३० लाख आम्दानी र ९७ लाख ९८ हजार खर्च हुने अनुमान गरेको छ।  

बचत रकम क्लबले आफनै एकेडेमीमा रहेका २८ जना बाल खेलाडीका लागि भरणपोषण एवं शिक्षादिक्षामा खर्च गर्दै आएको छ।  प्रतियोगितामा ‘ए’ डिभिजन क्लब, विदेशी र आयोजक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।  आयोजक सहारा क्लबले भने १२औं सस्करणको उपाधि रक्षा गरेको थियो। 

प्रकाशित: १३ माघ २०७५ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App