१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा पहिलो सडक सुरक्षा कार्यक्रम सम्पन्न

तस्बिर : मदन/नागरिक

रौतहट - नेपाल प्रहरीले रौतहटमा सडक सुरक्षासम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ। जिल्लामा हुने अस्वाभाविक मृत्यु तथा अंगभंग र घाइतेसम्बन्धी घटनाको मुख्य कारण सडकमा हुने सवारीसाधन दुर्घटना रहेको सन्दर्भमा इलाका प्रहरी कार्यालय गरुडाले सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले सडकमा हुने दुर्घटना न्युनीकरण गर्न हरेक किसिमको उपाय अवलम्बन गर्नु आजको आवश्यकता भएको बताउँदै सडकले जीवन बचाउने र समाप्त पार्ने हुनाले यात्रालाई सुरक्षित बनाउन सबैलाई आग्रह गरे।

रौतहटको प्रहरी प्रमुख एसपी केदार ढकालले कोही एकजना दुर्घटनामा पर्दा परिवार नै प्रभावित हुने हुनाले ट्राफिक नियम प्रहरीको लागि नभई आफ्नो लागि भएको सबैले बुझेर व्यवहारमै लागू गर्न आग्रह गरे।

विभिन्न नगर प्रमुख, उपप्रमुखका साथै बस, ट्रक, सुमो, ई–रिक्सा व्यवसायी संघका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी, शिक्षक, विद्यार्थीको कार्यक्रममा सहभागिता रहेको थियो।

सडक सुरक्षा सबैको सरोकारको विषय भएको र जानकारीकै अभावमा पनि कतिपय मानिसको ज्यान जाने गरेको, दुर्घटनामा अंगभंग हुने गरेकोले सकेसम्म सबै पक्षलाई समेटिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काले बताए। कार्यक्रममै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी ढकाल र गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवबीच गरुडा नगरपालिकाको ट्राफिक व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ।

 

प्रकाशित: १२ माघ २०७५ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App