१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौं - पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको औँल्याएको हो। रातको समयमा पनि देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ भने मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशको पश्चिमी भेगबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभाव मध्य हुँदै क्रमशः पूर्वतर्फ गइरहेकाले आइतबारदेखि मौसममा क्रमिक सुधार आउने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। अर्यालका अनुसार उक्त वायुको सक्रियताले अहिले पनि देशका पश्चिम तथा मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा भइरहेको छ। वर्षासँगै वायु प्रणाली कमजोर हुने हुँदा साँझतिरदेखि मौसममा सामान्यतया सुधार आउनेछ।

भोलि आइतबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। तापक्रम स्थिर रहे पनि उपत्यकामा बिहानैदेखि बद्ली रहेका कारण शनिबार बढी चिसो महसुस गरिएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम ७.८ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ।

देशका अधिकांश स्थानमा वर्षा भएको छ। काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी पोखरामा २८, भैरहवामा २६, दाङमा २४, वीरेन्द्रनगरमा २३, डडेल्धुरामा २२ र दीपायलमा १५ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, जुम्लामा १२, सिमरामा चार र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ। शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ र अधिकतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी अधिकतम तापक्रम सिमराको १४, भैरहवा र विराटनगरको समान १२ डिग्री सेल्सियस रहेको छ।रासस 

प्रकाशित: १२ माघ २०७५ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App